कोरोना भाइरसबारे ख्रीष्टियान दृष्टिकोण

विश्वलाई त्रसित बनाइरहेको भाइरसको नाउँ हो, कोरोना भाइरस (कोभिड-१९) । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो भाइरस गत साल अर्थात् २०१९ मा मात्र पत्ता लगाइएको थियो र त्योभन्दा अगि मान्छेमा देखा परेको थिएन ।[i] छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी सहर वुहानबाट गत डिसेम्बरबाट सुरु भएको यो भाइरस जताततै फैलिन थालेपछि ११ मार्चमा डब्लुएचओले यसलाई “महामारी” भनी घोषणा गरेको थियो ।[ii] १५० ओटाभन्दा बढी मुलुकमा फैलिसकेको यो महामारीले यो लेख तयार पार्दासम्म ८,९९७ जनाको ज्यान लिइसकेको छ र २,२१,३१२ जना सङ्क्रमित छन् भने ८५,७८५ जना निको पनि भइसकेका छन् ।[iii] यो भाइरसका कारण हालसम्म बढी मृत्यु हुने ५ ओटा शीर्ष देशमा क्रमश: चीन (३,२४५ जना), इटाली (२,९७८), इरान (१,१३५), स्पेन (६३८) र फ्रान्स (२६४) रहेका छन् ।[iv]

यस्तो विपत्तिको घडीमा धेरैको मनमा उदय हुने प्रश्न हो, “किन यस्तो हुन्छ ?” आफन्त गुमाएका आस्तिकहरू प्रश्न गर्छन्, “हे प्रभु, तपाईं कहाँ हुनुहुन्थ्यो ?” परमेश्वर दयालु हुनुहुन्छ भने उहाँले यस्तो दुःख कष्टलाई किन अनुमति दिनुहुन्छ ? परमेश्वर शक्तिशाली हुनुहुन्छ भने उहाँले यस्तो विपत्तिलाई किन रोक्नुहुन्न ? प्रश्नहरूको सूची लामै बन्छ ।

कोरोना भाइरस दुष्ट्याइँ अर्थात् खराबीको एउटा स्वरूप हो । दुष्ट्याइँको आफ्नै अस्तित्व हुँदैन । यो पहिले नै अस्तित्वमा रहेको वस्तुको विकृति हो । दुष्ट्याइँ भनेको जे कुरो असल छ त्यसको अनुपस्थिति हो तर यो कुनै भ्रम भने होइन । ख्रीष्टियान ईश्वरशास्त्री नर्मन गेइस्लरका अनुसार “दुष्ट्याइँ पाखुरामा लागेको चोट वा वस्त्रमा किराले बनाएको प्वालजस्तै हो । यो अरूको कारणले गर्दा मात्र अस्तित्वमा छ, आफै अस्तित्वमा छैन ।”[v]

बाइबल धर्मशास्त्रअनुसार मुल सृष्टि “सार्‍है राम्रो थियो” (उत्पत्ति १:३१) । त्यहाँ कुनै पाप थिएन, न त कोरोना भाइरस । तर आज हामीले यी सबै दुष्ट्याइँको सामना गरिरहनुपरेको छ । प्रथम दम्पतीले परमेश्वरले दिनुभएको स्वतन्त्र इच्छालाई उहाँको आज्ञा उल्लङ्घनको लागि प्रयोग गरेकाले मानव–जाति दुष्ट्याइँ विद्यमान संसारमा बस्नुपरको हो ।

दुष्ट्याइँलाई दुई भागमा वर्गाीकरण गर्न सकिन्छः नैतिक दुष्ट्याइँ र प्राकृतिक दुष्ट्याइँ । युद्ध, अपराध, दासत्व, क्रुरता आदिजस्ता दुष्ट्याइँहरू पहिलो वर्गमा पर्छन् भने भूकम्प, बाढी, पैरो, सुनामी, कोरोना भाइरस आदिजस्ता दुष्ट्याइँहरू दोस्रो वर्गमा । आज हामीले यी दुवै किसिमका दुष्ट्याइँ झेलिरहेका छौँ ।

परमेश्वरले दुष्ट्याइँको सम्भाव्यतालाई सृजनुभयो । मानव–जातिले त्यस सम्भावनालाई वास्तविक बनाइदिए । परमेश्वर दुष्ट्याइँको स्रोत हुनुहुन्न, हाम्रो स्वतन्त्रतामा यसको सम्भाव्यता अन्तर्निहित थियो । दुःखकष्ट दुष्ट्याइँलाई पराजित गर्ने परमेश्वरको तरिका हुन सक्छ भन्ने वचनले चाहिँ हामीलाई सान्त्वना दिन्छ । हामीले भोगेका दुःख कष्टको पछाडि कारण छ । हाम्रो मार्गमा आइपरेका दर्दनाक परिस्थितिहरूलाई हामीले बुझ्न नसके तापनि तिनको अनुमतिको लागि परमेश्वरसित पक्कै पनि कारण छ ।

हामी पापले प्रवेश पाएको पतित संसारमा बाँचिरहेका छौँ भन्ने कुरो भुल्नुहुँदैन । तर ख्रीष्टको दोस्रो आगमनसँगै दुष्ट्याइँको निराकरण हुने छ भनी बाइबलले प्रतिज्ञा गरेको छ । जसरी पाप प्रवेशअगिको अदनको बगैँचा नैतिक र प्राकृतिक दुष्ट्याइँरहितको थियो, त्यसै गरी नयाँ स्वर्ग र नयाँ पृथ्वी दृष्ट्याइँरहितको हुने छ । अन्ततः न्यायले विजय हासिल गर्ने छ । परमेश्वर पूर्णतः असल हुनुभएकोले एक दिन उहाँले दुष्ट्याइँलाई पराजित गर्नुहुने छ । उहाँ सर्वशक्तिमान् हुनुभएकोले उहाँले एक दिन दुष्ट्याइँलाई पराजित गर्न सक्नुहुन्छ ।

रक्षाशास्त्रीसाथै लेखक डन स्टोरी भन्छन्, “आज मानिसहरू परमेश्वरको विरुद्धमा बागी बन्दै छन् । हामी उहाँलाई सराप्छौँ; उहाँको उपेक्षा गर्छौं; हाम्रो आज्ञा उल्लङ्घनलाई प्रदर्शन गर्छौं । घमन्ड, लालच र स्वार्थबाट प्रेरित भई मानिसहरू एकले अर्काको विनाश गर्छन् र परमेश्वरको पृथ्वीलाई जानाजानी दुरुपयोग गर्छन् र दुषित् पार्छन् । … परमेश्वरले आफ्नो धैर्य नगुमाई हामी सबैलाई नष्ट पार्नुभएको छैन जुन उदेकको कुरो हो । दुष्ट्याइँलाई अनुमति दिनुभएको लागि परमेश्वरलाई निन्दा गर्नुको साटो हामीले पाउनुपर्ने दण्डलाई उहाँले रोक्नुभएको लागि हामी उहाँप्रति धन्यवादी हुनुपर्छ ।”[vi] हामीले पनि पावलले जस्तै भन्ने सके कति गर्वको कुरो हुन्थ्यो, “म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन्” (रोमी ८:१८) ।

 

सन्दर्भ स्रोतहरू:

[i] https://www.who.int/health-topics/coronavirus accessed on 19 March 2020

[ii] https://en.wikipedia.org/wiki/2019%E2%80%9320_coronavirus_pandemic accessed on 19 March 2020

[iii] https://www.worldometers.info/coronavirus/#countries accessed on 19 March 2020

[iv] Ibid.

[v] Norman L. Geisler, Baker Encyclopedia of Christian Apologetics (Grand Rapids: Baker, 1999), 220.

[vi] Dan Story, Defending Your Faith, p. 176

Facebook Comments

Powered by Youth Circle