दार्शनिक इम्मानुएल कान्टको साँझमा हिँड्ने आदत थियो । त्यसरी हिँड्दा तिनी मनन गर्थे र विचार गर्थे । एक पटक तिनी कुनै एउटा बगैँचामा बसिरहेका थिए । तिनी एकै ठाउँमा धेरै घण्टासम्म बसिरहेका देखेर एक जना प्रहरीलाई शङ्का लाग्यो । ती प्रहरी तिनीकहाँ आएर तिनलाई प्रश्न गरे, “तपाईं के गर्दै हुनुहुन्छ ?” दार्शनिकको जवाफ थियो, “म सोच्दै छु ।” प्रहरीले पुन: सोधे, “तपाईं को हुनुहुन्छ ?” कान्टले जवाफ दिए, “‘म को हुँ’ भन्ने विषय नै समस्या हो जसको बारेमा म सोचिरहेको छु ।”
यी तिनै दार्शनिक कान्ट थिए जसले जीवनलाई चारवटा आधारभूत प्रश्नमा छोट्टयाउन सकिन्छ भनी व्यक्त गरेका थिए: म के जान्न सक्छु ? मैले के जान्नैपर्छ ? मैले के आशा गर्न सक्छु ? मानिस के हो अर्थात् म को हुँ ?
बाइबलअनुसार मानिस परमेश्वरको स्वरूपमा सृजित सर्वश्रेष्ठ प्राणी हो, “यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो” (उत्पत्ति १:२७) ।
ख्रिस्टाब्द १७२४ मा जन्मेका कान्ट जर्मनीका दार्शनिक थिए जसलाई आधुनिक दर्शनशास्त्रको मुख्य व्यक्तित्वको रूपमा आदर गरिन्छ । पराभौतिक शास्त्र, ज्ञानशास्त्र, नीतिशास्त्र, राजनीति शास्त्रजस्ता क्षेत्रहरूमा तिनका विचारहरूले आज पनि व्यापक प्रभाव पारिरहेका छन् । १७८१ मा प्रकाशित क्रिटिक अफ पियोर रिजन नामक आफ्नो एउटा मुख्य पुस्तकमा तिनले तर्क र मानवीय अनुभवबिचको सम्बन्धलाई व्याख्या गर्ने कोसिस गरेका छन् । तिनले नीतिशास्त्र, धर्म, कानुन, सौन्दर्य, खगोल विज्ञान र इतिहासजस्ता क्षेत्रहरूमा आफ्ना महत्त्वपूर्ण कृतिहरू प्रकाशित गरे । तिनका महत्त्वपूर्ण कृतिहरूमा युनिभर्सल न्याचुरल हिस्ट्री (१७५५) र क्रिटिक अफ प्राक्टिकल रिजन (१७८८) जस्ता पुस्तकहरू पर्छन् ।
७९ वर्षको दीर्घायुमा १८०४ मा यस धरतीबाट बिदा भएका कान्टलाई परम्परागत ख्रीष्टियान विश्वासको पक्ष पोषकको रूपमा विचार गर्ने विश्लेषकहरू पनि छन् । वास्तवमा कान्टको सफलता एउटा ईश्वरशास्त्रीको सफलता थियो । परमेश्वर र मत्युपछिको जीवन अस्तित्वमा हुनैपर्छ भन्ने नैतिकताको अस्तित्वबारे भएको तिनको धारणा एउटा तर्कसङ्गत प्रस्तुति हो । तिनले धर्मका रीतिसाथै अन्धविश्वासमाथि आक्रमण गरे तापनि तिनी ख्रिस्टियमतको पक्षमा थिए ।