नासाका अन्तरिक्ष यात्री मिचेलले पूरै बाइबलको वचनलाई चन्द्रमामा पुर्‍याए

५ फेब्रुअरी १९७१ मा बाइबलले एउटा गजबको इतिहास रच्‍यो । उक्त दिन पूरै बाइबलले चन्द्रमाको धरातलमा पाइला टेकेको थियो । अगिल्ला अन्तरिक्ष उडानहरूमा पनि बाइबलका वचनहरूलाई अन्तरिक्षमा लगिएको भए तापनि उक्त दिने भने बाइबलको सम्पूर्ण वचनलाई चन्द्रमामा पुर्‍याइएको थियो । नासाका अन्तरिक्ष यात्री  इजर मिचेलले अपोल्लो १४ नामक मिसनमार्फत उक्त बाइबललाई चन्द्रमामा पुर्‍याएका थिए । अन्तरिक्ष यात्रीका व्यक्तिगत सामग्रीहरू गरुङ्गो नहोस् भन्ने हेतुले मिचेलले आफूसित लगेका बाइबल कागजद्वारा निर्मित बाइबल नभएर माइक्रोफिल्म प्रविधिको प्रयोग गरी तयार पारिएको बाइबल थियो । यो केवल ४ सेन्टिमिटर वर्गाकार टुक्रा थियो जसमा किङ्ग जेम्स बाइबलका १,२४५ पृष्ठसाथै ७,७३,७४६ ओटा शब्द समावेश थिए ।

३,८४,००० किलोमिटरको यात्रा गरी उक्त बाइबललाई पृथ्वीको धरातलदेखि चन्द्रमाको धरातलमा पुर्‍याइएको थियो । उक्त साल यति लामो यात्रा गरी बाइबलले अर्को इतिहास रचेको थियो । बाइबलको वचनलाई सारा संसारमा पुर्‍याउनको लागि इतिहासभरि विविध प्रविधिसाथै विधिहरूको प्रयोग गरिए तापनि यो तरिका भने अद्वितीय थियो किनकि त्यस दिन पूरै बाइबल पृथ्वीको धरातल पार गरी चन्द्रमामा पुगेको थियो ।

अपोल्लो प्रेयर लिगले बाइबललाई चन्द्रमामा पुर्‍याउने लक्ष्य लिएको थियो । १९६८ मा स्थापित यो संस्था नासाभित्र काम गर्ने केही पास्टरहरूले स्थापना गरेका थिए । तिनीहरूले अन्तरिक्ष यात्रीहरूको सुरक्षासाथै रकेट बनाउने नासामा कामदारहरूका लागि प्रार्थना गर्थे । यही मिसनमार्फत मिचेलले बाइबललाई चन्द्रमामा पुर्‍याएका थिए ।

१९३० मा अमेरिकामा जन्मेका मिचेल नासाका अन्तरिक्ष यात्री, वायुयान चालकसाथै इन्जिनिएर थिए । अपोल्लो १४ मिसनमार्फत चन्द्रमामा ९ घण्टा बिताएका तिनी चन्द्रमाको धरातलमा पाइला टेक्ने छैटौँ व्यक्ति बने । १३ वर्षकै उमेरमा उड्न सिकेका मिचेलले चारवटा विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरे । ८५ वर्षको उमेरमा २०१६ मा मिचेलको देहावसान भएको थियो । अखबारहरूले तिनको मृत्युको व्यापक रूपमा चर्चा गरेका थिए । नासाका प्रशासक चार्ल्स बोल्डेनले यसो भने, “पूरै नासा परिवारको तर्फबाट नासाका अन्तरिक्ष यात्री इजर मिचेलका परिवार र मित्रहरूप्रति म समवेदना व्यक्त गर्न चाहन्छु ।”

Facebook Comments

Powered by Youth Circle