ख्रिस्टाब्द १८५९ मा व्यापारको सिलसिलामा नेपोलिएन तृतियलाई भेट्न जाँदा एकीकरणको निम्ति गरिएको इटालीको युद्धलाई हेन्री डुनान्टले आफ्नै आँखाले देखे । युद्धको केही हप्तापश्चात् युद्धक्षेत्र नजिकै मण्डलीहरूमा राखिएका घाइतेहरूको उपचारमा तिनी अथक रूपमा खटिए । तिनले भनेका छन्, “मेरो हातलाई चुम्बन गर्न इच्छा गर्ने ती घाइतेहरूका आँखालाई म कहिल्यै भुल्ने छैनँ ।” घाइतेहरूका निम्ति न्यूनतम तयारी मात्र गरिएको भए कैयौँ घाइतेका ज्यान जोगिन्थे भन्ने तिनलाई लाग्यो । तिनले आफ्ना अनुभवहरूलाई समेटी मेमोरी अफ सल्फेरिनो नामक पुस्तक लेखे । फलत: ख्रिस्टाब्द १८६४ मा तिनीसहित अन्य चार सहकर्मी र सोर्ह राष्ट्रका चौबिस जना प्रतिनिधि मिलेर अन्तर्राष्ट्रिय रेड क्रसको स्थापना गरे । रेड क्रसको स्थापना गर्न डुनान्टको पुस्तकले प्रेरणा दिएको थियो ।
डुनान्ट काम गर्ने मानिस थिए । सल्फेरिनोमा आफ्नै आँखाले घाइतेहरूलाई देखेपछि तिनको मन थामेन । तिनले तुरुन्तै स्थानीयहरूलाई जम्मा गरी घाइतेहरूलाई विभिन्न घरहरूसाथै मण्डलीहरूमा राखेर हेरचाह गरेका थिए । तिनले यसो नगरेका भए अझै धेरै मानिस मर्ने थिए ।
१८२८ मा स्विजरल्यान्डमा जन्मेका डुनान्ट रेड क्रसका संस्थापकसाथै नोबेल शान्ति पुरस्कारका पहिलो प्रापक हुन् । तिनको जन्मदिनको अवसर पारेर विश्वभरि अन्तर्राष्ट्रिय रेड क्रस दिवस मनाइन्छ । तिनी व्यापारीसाथै सामाजिक अभियन्ता पनि थिए ।
डुनान्टको ख्रीष्टियान विश्वासले तिनलाई यस्तो संस्थाको स्थापना गर्न अभिप्रेरित गरेको थियो जसले मृत्युको मुखमा पुगेकाहरूलाई फर्काएर ल्याउन मदत गर्छ । रेड क्रसले लाखौँ मानिसको ज्यान जोगाएको छ जुन संस्थालाई ख्रीष्टका अनुयायीले स्थापना गरेका थिए ।
डुनान्ट भक्त ख्रीष्टियान परिवारमा जन्मेका थिए र समाजमा तिनको परिवारको उल्लेखनीय प्रभाव परेको थियो । तिनको परिवारले सामाजिक कामलाई जोड दिन्थ्यो । तिनका पिता सामाजिक कार्यकर्ता थिए जसले अनाथहरूसाथै सुध्रने प्रतिज्ञा गरेर कैद सजायभन्दा अगाडि नै रिहाइ भएका बन्दीहरूको हेरचाह गर्थे । डुनान्टकी आमाले चाहिँ बिरामी र गरिबहरूको हेरचाह गर्थिन् ।
१९१० मा ८२ वर्षको दीर्घायुमा डुनान्टको मृत्यु हुँदा तिनले मृत्युशैय्यामा भनेका थिए, “पहिलो शताब्दीमा जस्तै म ख्रीष्टको एक चेला हुँ र त्योभन्दा बढी केही होइन ।”