बाइबलीय विवरणको थप पुष्टि गर्ने २,८०० वर्ष पुरानो शिलालेख फेला पर्‍यो

२ राजा ३:४ मा लेखिएको छ, “मोआबका राजा मेशाले भेडाहरू पाल्थे, अनि तिनले इस्राएलका राजालाई एक लाख भेडाका पाठाहरू र एक लाख भेडाहरूको ऊन दिनुपर्थ्यो ।”

मेशा मृत सागरको पूर्वमा पर्ने सानो राज्य मोआबका शासक थिए जसले नवौँ शताब्दी ख्रिस्टपूर्वको मध्यतिर शासन गरेका थिए । तिनी यहूदाका राजा यहोशापात (८७०–८४८ ख्रिस्टपूर्व) र इस्राएलका राजा योराम (८५२–८४१ ख्रिस्टपूर्व) का समकालिक थिए । २ राजा ३:४ यी राजाको बारेमा बताउने बाइबलको एउटै मात्र पद हो । तर उन्नाइसौँ शताब्दीको उत्तरार्द्धमा फेला पारिएको शिलालेखले तिनको बारेमा भएको हाम्रो ज्ञानको सिमालाई बढाएको छ ।

ख्रिस्टाब्द १८६८ को अगस्ट महिनामा बाइबलमा उल्लिखित प्राचीन सहर दीबोन (गन्ती ३२:३) मा फेला पारिएको यस शिलालेखलाई मेशा शिलालेख वा मोआबी पत्थर नाउँ दिइएको छ । यो ठाउँ हाल मध्यपूर्वी मुलुक जोर्डनमा पर्छ । मिसनरी एफ. ए. क्लिनद्वारा फेला पारिएको यस ऐतिहासिक पत्थरलाई हाल फ्रान्सको पेरिसस्थित लुभ्रे सङ्ग्रहालयमा राखिएको छ । यस पत्थरको लमाइ ३ फिट ९ इन्च, चौडाइ २ फिट ४ इन्च र मोटाइ १ फिट २ इन्च रहेको छ । जोर्डनमा फेला पारिएको यो सबैभन्दा लामो ऐतिहासिक शिलालेख हो ।

मोआबका राजा मेशाद्वारा नवौँ शताब्दीको मध्यतिर रचना गरिएको यस शिलालेखले इस्राएलका राजाहरूको क्षेत्रमाथि तिनले प्राप्त गरेका विजयलाई अभिलेख गर्छ ।

बाइबलको ऐतिहासिकतासित यस महत्त्वपूर्ण खोजको के सम्बन्ध रहेको छ ? यो सबैभन्दा विस्तृत शिलालेख हो जसले इस्राएलको राज्य (ओम्रीको घराना) को उल्लेख गर्छ । इस्राएलका परमेश्वर “यहोवे” को उल्लेख गर्ने बाइबलबाहिरको यो नै पहिलो सुनिश्चित खोज हो । यस पत्थरमा “दाऊदको घराना” (अर्थात् यहूदाका राज्य) को पनि उल्लेख गरिएको छ । यसका अतिरिक्त, मेशा शिलालेखले हामीलाई नवौँ शताब्दी ख्रिस्टपूर्वको राजनीतिकसाथै सैनिक परिस्थितिबारे जानकारी दिन्छ (२ राजा १–३ अध्यायहरू); वरिपरिका भौगोलिक नाउँहरू (मोआब, इस्राएल, दीबोन, अर्नोन, अरोएर) को उल्लेख गर्छ र बाइबल धर्मशास्त्रमा उल्लिखित व्यक्तिवाचक नाउँहरू (यहोवे, मेशा, ओम्री, ओम्रीका छोरा [आहाब], दाऊद) लाई पनि प्रस्तुत गर्दछ ।

Facebook Comments

Powered by Youth Circle