संसारकै सर्वाधिक ठुलो पुस्तकालयमा बाइबल अत्यधिक सुन्दर छ

ख्रिस्टाब्द १७५१ मा जन्मेका जेम्स म्याडिसन अमेरिकाका चौथा राष्ट्रपति बने र तिनले १८०९-१८१७ सम्म शासन गरे । अमेरिकाको राजधानी वासिङ्गटन डी. सी. मा अवस्थित लाइब्रेरी अफ कङ्ग्रेस नामक पुस्तकालयको सृजना गर्ने अवधारणाको श्रेय यिनै जेम्सलाई जान्छ जसले पहिलो पटक १७८३ मा यस्तो किसिमको पुस्तकालयको सृजना गर्ने प्रस्ताव राखेका थिए । १८०० मा स्थापित यो लाइब्रेरी एउटा रिसर्च पुस्तकालय हो । संसारकै सर्वाधिक ठुलो यस पुस्तकालयमा झन्डै चार करोड पुस्तकसाथै अन्य मुद्रित सामग्रीहरू छन् । यस पुस्तकालयमा जम्माजम्मी १६ करोडभन्दा बेसी वस्तु रहेका छन् ।

तर त्यहाँ भएका पुस्तकहरूमध्ये सबैभन्दा सुन्दर पुस्तक १६ औँ शताब्दीमा एक जना सन्यासीले प्रतिलिपि गरेका बाइबल हो । अमेरिका वा युरोपमा भएको सबैभन्दा उत्तम किताब छाप्ने मेसिनले पनि यसको अतुलनीय सिद्धतालाई जित्न सक्दैन । १,००० पृष्ठको यस बाइबललाई जर्मन भाषामा कालो मसीले लेखिएको छ । हरेक अक्षर सिद्ध छ, कतै पनि धब्बा वा केरमेट छैन । प्रत्येक पृष्ठमा दुईवटा स्तम्भ छन् । यति होसियार र सतर्कतासाथ ती अक्षर र हरफहरू बिचको खाली ठाउँको रचना गरिएका छन्, कि ठुलो पार्ने उपकरणले हेर्दा पनि सानोभन्दा सानो अनियमिततालाई पनि पत्ता लगाउन सकिँदैन । प्रत्येक अध्यायको सुरुआतमा पहिलो अक्षर निकै ठुलो छ, अर्थात् दुईदेखि तीन इन्चसम्म लामो । यसलाई रातो र कालो मसीले चम्किलो पारेको छ । त्यसपछि त्यस अध्यायमा वर्णित कुनै सन्त वा घटनालाई उक्त अक्षरभित्रका खाली ठाउँहरूमा चित्रमा उतारिएको छ ।

किँवदन्तीअनुसार घोर अपराध गर्ने एक जना जवान मानिस सन्यासी बने अनि तिनले धर्मशास्त्रको प्रतिलिपि गर्ने निधो गरे ताकि ईश्वरीय आज्ञाहरूका प्रत्येक अक्षरहरूलाई तिनले जान्न सकुन् । कैयौँ वर्षसम्म यस गहन अनुशासनभित्र तिनले आफैलाई होमे अनि हरेक अक्षरलाई प्रेम र आदरसहित लेखे । जब तिनले आखिरी अक्षरलाई लेखी सिद्ध्याए (जति बेलासम्म तिनी वृद्ध भइसकेका थिए) तब त्यस पृष्ठलाई चुम्बन गरी तिनले आफ्नो काम फत्ते गरे ।

Facebook Comments

Powered by Youth Circle