“आमेन” बारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. नेपाली शब्द “आमेन” हिब्रू भाषाको लिप्यन्तरण हो र यसको अर्थ हुन्छ, “यस्तै होस् ।” आमेन सहमतिको घोषणा हो । यसलाई ग्रिक, ल्याटिन, अङ्ग्रेजीसाथै अन्य मनग्गे भाषाहरूमा लिप्यन्तरण गरिएको छ, अनुवाद होइन । भन्नुको मतलब यही हो कि ती भाषाहरूमा पनि आमेन नै भनिन्छ ।

२. आमेन एउटा विश्वव्यापी शब्द हो । यसलाई सारा संसारभरि सबैभन्दा व्यापक रूपमा परिचित शब्द मानिएको छ । ख्रीष्टियान शिक्षा फैलिएको जुनसुकै देश वा संस्कृतिमा यो शब्द पाइन्छ । तपाईंले आमेन भन्नुहुँदा हजारौँ संस्कृतिसाथै भाषा बोल्ने मानिसहरूको शब्द उच्चारण गरिरहनुभएको हुन्छ ।

३. संसारका प्रायः सबै ठाउँमा प्रार्थनाको अन्त्यमा आमेन भनिन्छ । हामीले यसरी प्रार्थनालाई टुङ्ग्याउँदा परमेश्वरले हाम्रा प्रार्थना वास्तवमै सुन्नुहुन्छ र उहाँले आफ्नो समयमा त्यसको जवाफ दिनुहुन्छ भनी हामीले मानिलिएका हुन्छौँ । प्रार्थनाको अन्त्यमा मात्र नभई कुनै धर्मशास्त्रीय सत्यता व्यक्त हुँदा पनि यसको प्रयोग गरिन्छ ।

४. आमेन शब्द पहिलो पटक गन्ती ५:२२ मा देखा परेको छ, “… तब त्‍यस स्‍त्रीले ‘आमेन, यस्‍तै होस्‌,’ भनोस्‌ ।” यो शब्दले झन्डै ३,५०० वर्ष लामो इतिहास बोकेको छ । पूरै बाइबलमा यसलाई ७० पटकभन्दा बेसी प्रयोग गरिएको छ ।

५. येशूले आमेन शब्दलाई पृथक् किसिमले प्रयोग गर्नुभयो । आमेन वाक्यको अन्त्यमा आउने शब्द भए तापनि उहाँले यसलाई वाक्यको सुरुमा प्रयोग गर्नुभयो । किन ? किनकि व्यक्त गर्न खोजिएको कुरो साँचो मात्र थिएन तर उहाँ आफै नै त्यस सत्यताको स्रोत हुनुहुन्थ्यो । यस धरतीमा बाँच्ने सबै मानिसभन्दा उहाँ फरक हुनुभएकोले पनि उहाँले यस शब्दलाई फरक किसिमले प्रयोग गर्नुभयो ।

६. येशूका मनग्गे नाउँहरूमध्ये एउटा हो— आमेन । “अनि लाउडिकियाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा आमेन, विश्‍वासयोग्‍य र साँचो साक्षी र परमेश्‍वरका सृष्‍टिको शासकले भन्‍दछ” (प्रकाश ३:१४) । यहाँ येशूले आफैलाई “आमेन” भन्नुभएको छ ।

७. बाइबलको अन्तिम शब्द पनि आमेन नै हो, “यी कुराको गवाही दिनेले भन्‍नुहुन्‍छ, ‘निश्‍चय, म चाँडै आउँदैछु ।’ आमेन, आउनुहोस्‌, हे प्रभु येशू । प्रभु येशूको अनुग्रह सबै सन्‍तहरूसँग रहोस्‌ । आमेन” (प्रकाश २२:२०-२१) ।

Facebook Comments

Powered by Youth Circle