विश्व प्रसिद्ध वैज्ञानिक स्टिफेन हकिङ्ग कहाँ चुके ?

ख्रिस्टाब्द १९४२ मा इङ्गल्यान्डमा जन्मेका स्टिफेन हकिङ्ग भौतिकशास्त्रीसाथै लेखक थिए[i] । आइन्स्टाइनपछि महान्‌तम वैज्ञानिक मानिएका हकिङ्ग त्यही कुर्सीमा बसेका थिए जुन कुर्सीमा ३०० वर्षअगि अर्का विख्यात वैज्ञानिक सर आइज्याक न्युटन बसेका थिए । न्युटनले दृढतापूर्वक परमेश्वरको अस्तित्वमाथि विश्वास गर्थे र तिनले आफ्नो ख्रीष्टियान विश्वास र विज्ञानको बिचमा कुनै द्वन्द्व देखेनन् । तर हकिङ्गले आफू नास्तिक भएका घोषणा गरे र भने कि हामीले विज्ञान र परमेश्वरमध्ये एकलाई छान्नुपर्छ ।[ii]

हकिङ्ग र लिओनार्द म्लोदिनोद्वारा लिखित द ग्र्यान्ड डिजाइन नामक पुस्तकले विश्व (अर्थात् युनिभर्स) को विषयमा भएको वैज्ञानिक ज्ञानको इतिहासलाई जाँच्ने काम गर्छ ।[iii] २०१० मा छापिएको यो पुस्तकले प्रकाशित भएको केही दिनभित्रमा निकै प्रसिद्धि कमाएको थियो । हकिङ्गले आफ्नो कृतिमा लेखेका छन्, “गुरुत्वाकर्षणजस्तो नियम अस्तित्वमा भएकोले विश्व आफै शून्यताबाट सृजित हुन सक्छ र हुने छ ।”[iv]

यो विख्यात वैज्ञानिकको अभिव्यक्ति हो र यो भनाइ वैज्ञानिकजस्तो सुनिन्छ । तथापि तपाईंले ध्यानपूर्वक पढ्नुभयो भने पत्ता लगाउनुहुने छ कि यो भनाइ अवैज्ञानिक मात्रै छैन, तर तर्कहीन पनि छ ।

ख्रिस्टाब्द १९४३ मा आएरल्यान्डमा जन्मेका जोन सी. लेनोक्स गणितज्ञ, विज्ञानका दार्शनिकसाथै ख्रीष्टियान रक्षाशास्त्री हुन् ।[v] आफ्नो कृति क्यान साइन्स याक्स्प्लेन एभ्रिथिङ्गमा तिनले माथि उल्लिखित हकिङ्गको भनाइमा ३ ओटा त्रुटि देखेका छन् ।[vi]

(१) पहिलो त्रुटि— तिनको भनाइ अन्तर्विरोधी छ ।

हकिङ्गको भनाइ अन्तर्विरोधी छ । “गुरुत्वाकर्षणजस्तो नियम अस्तित्वमा भएकोले …।” यो भनाइबाट हामी बुझ्छौँ कि केही कुरो पहिले नै अस्तित्वमा छ । त्यसपछि हकिङ्गले जारी राखेका छन्, “विश्व आफै शून्यताबाट सृजित हुन सक्छ र हुने छ ।” गुरुत्वाकर्षणको नियम अस्तित्वमा छ भनी तिनले मानिलिएका छन् । यो नियम हो, शून्यता होइन । तिनको भनाइ आफैमा जुधेकोले यो भनाइमा भुल छ ।

(२) दोस्रो त्रुटि नियमले सृजना गर्ने काम गर्दैन ।

भौतिक नियमहरूले विश्व अर्थात् युनिभर्सलाई अस्तित्वमा ल्याउन सक्छन् भन्ने अवधारणा निकै आकर्षक सुनिए तापनि यो साँचो हुन सक्दैन भनी तपाईंले सजिलैसित बुझ्न सक्नुहुने छ । पहिलो कुरो, भौतिकशास्त्रका नियमहरूमा कुनै पनि कुरोलाई सृजना गर्ने क्षमता छैन । तिनीहरूले कुनै पनि कुरोलाई अस्तित्वमा ल्याउन सक्दैनन् । न्युटनको गतिसम्बन्धी नियमहरूले क्रिकेटको बललाई माथि हावामा पुर्‍याएका छैनन् । त्यसको लागि कारक अर्थात् मानिसको खाँचो पर्छ । दोस्रो कुरो, विश्वको आरम्भअगि कुनै भौतिक नियम नै थिएन, केवल शून्यता थियो ।

(३) तेस्रो त्रुटि आत्म-सृजना तर्कहीन छ ।

हकिङ्गले भनेका छन्, “विश्व आफै शून्यताबाट सृजित हुन सक्छ र हुने छ ।” तपाईंले दर्शनशास्त्रसम्बन्धी चस्मा लगाएर हेर्नुभयो भने यो वाक्यलाई अर्थहीन पाउनुहुने छ । मैले ‘क’ ले ‘ख’ को रचना गर्छ भनी व्यक्त गरेँ भने यो भनाइ अर्थयुक्त हुन्छ, तर मैले ‘क’ ले ‘क’ को रचना गर्छ भनी बताएँ भने यो अर्थहीन हुन्छ किनकि ‘क’ को रचनाको लागि मैले पहिले नै ‘क’ को अस्तित्वलाई मानिलिएको छ । विश्वको अस्तित्वको लागि विश्व नै जिम्मेवार छ भन्नु तर्कहीन हुन्छ ।

वैज्ञानिकहरूद्वारा व्यक्त भनाइ सधैँ विज्ञानको बारेमा हुँदैन । वाहियात भनाइ वाहियात नै हुन्छ भलै त्यो विश्व प्रसिद्ध वैज्ञानिकद्वारा लेखिएको किन नहोस् । हकिङ्ग प्रतिभाशाली वैज्ञानिक भए तापनि विश्वको उत्पत्तिबारे आफ्नो भनाइमा तिनी चुकेकै हुन् ।[vii]

 

सन्दर्भ स्रोतहरूः

[i] https://en.wikipedia.org/wiki/Stephen_Hawking Accessed on March 1, 2020

[ii] John C. Lennox, Can Science Explain Everything? [Kindle Version]

[iii] https://en.wikipedia.org/wiki/The_Grand_Design_(book) Accessed on March 1, 2020

[iv] Stephen Hawking and Leonard Mlodinow, The Grand Design (Bantam Press, 2010), p.180.

[v] https://en.wikipedia.org/wiki/John_Lennox Accessed on March 1, 2020

[vi] John C. Lennox, Can Science Explain Everything? [Kindle Version]

[vii] Ibid.

Facebook Comments

Powered by Youth Circle