यही फेब्रुअरी १३-१४ मा धादिङको सल्यान्टारमा दुई दिने अपोलोजेटिक युवा सेमिनारमा सहजकर्ताको भूमिमा निर्वाह गरी शनिबार सेवामा आत्मिक मन्न खुवाउनको लागि म आरूघाट झरेको थिएँ । आरूघाट मेरो गृहनगर हो । त्यहाँस्थित मण्डलीमा म आत्मिक रूपमा जन्मेको थिएँ । बातचितको क्रममा एक जना भाइले प्रश्न गरे, “येशूले किन अञ्जीरको रुखलाई सराप दिनुभयो ?”
येशूले फलरहित अञ्जीरको रुखलाई सराप दिनुभएको घटना मत्ती र मर्कूसका विवरणहरूमा पाइन्छ— मत्ती २१:१८-२२; मर्कूस ११:१२-१४, २०-२५ । मर्कूसले लेखेका छन्:
“भोलिपल्ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो । अनि टाढ़ामा पातले भरिएको एउटा अञ्जीरको रूख देखेर कतै त्यसमा केही फल पाउँछु कि भनेर उहाँ जानुभयो, तर त्यहाँ पुग्नुभएपछि उहाँले रूखमा पातबाहेक केही पाउनुभएन, किनकि त्यस बेला अञ्जीरको फल फल्ने समय भएको थिएन । तब उहाँले त्यस रूखलाई भन्नुभयो, “अब उसो कसैले पनि तँबाट फल नखाओस् ।” अनि यो भनेको उहाँका चेलाहरूले सुने । … बिहान त्यहाँबाट पहिलेकै बाटो जानुहुँदा उहाँहरूले त्यस अञ्जीरको रूखलाई जरैबाट सुकेको देख्नुभयो । अनि पत्रुसलाई यो सम्झना भयो, र तिनले उहाँलाई भने, “रब्बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्जीरको रूख त सुकेछ” (मर्कूस ११:१२-२१) ।
साधारणतया अञ्जीरको रुखमा पात पलाउनुभन्दा पहिले फल लाग्थ्यो । यसको फल पनि हरियो हुने भएकोले यो पातसँगै मिसिन्थ्यो । पात पलाएको अञ्जीरको रुखमा फलको अपेक्षा गर्नु स्वाभाविक नै थियो । येशू र उहाँका चेलाहरूले टाढैबाट रुखमा पात पलाएको देख्दा यसमा फल लागेको थियो भनी आशा गरे यद्यपि यो फल लाग्ने समयभन्दा अलि अगाडि नै थियो । जुन महिनामा फल पाक्थ्यो भने भने मार्च वा अप्रिलतिर कोपिला पलाउँथ्यो जुन स्थानीय कृषकहरूका सामान्य खाना थियो ।
यही रुखलाई येशूले आफ्ना चेलाहरूलाई एउटा महत्त्वपूर्ण सत्यता सिकाउने अवसरको रूपमा लिनुभयो । रुखले फल नफलाएकोले उहाँले यसलाई सराप दिनुभएको थिएन, तर चेलाहरूलाई महत्त्वपूर्ण पाठ सिकाउनको लागि सराप दिनुभएको थियो । यो फलरहित अञ्जीरको रुखले इस्राएल जातिको आत्मिक बाँझोपनको अङ्कित गर्दै थियो । रुखमा भएका पातहरूजस्तै इस्राएलको बाहिरी धार्मिक गतिविधि निकै आकर्षक थियो तर यसले धार्मिकताको कुनै आत्मिक फल फलाएको थिएन ।