७ रुपियाँबाट खरबपति बनेका वानामेकरले आफ्नो सफलताको श्रेय परमेश्वरलाई दिए

आफ्ना पिताको इँटा भट्टीमा काम गरेर जोन वानामेकरले ७ रुपियाँ हात पारे । पिताको मृत्युपश्चात् तिनले पुस्तक पसलमा काम गरे जहाँ तिनले हप्तामा १२५ रुपियाँ तनाखा बुझ्थे । काम गर्नको लागि तिनी हप्तामा दुई पटक चार माइलको यात्रा गर्थे । स्याउ र रोटी तिनको खाना थियो । थप २५ रुपियाँ आम्दानीको लागि तिनले कपडा बेच्ने पसलमा काम गर्थे । त्यहीँ नै तिनले एउटा अठोट गरे, महान् व्यापारी बन्ने ।

तिनले ख्रीष्टियान क्रियाकलापमा भाग लिए र जवान ख्रीष्टियानहरूका निम्ति खोलिएको YMCA ख्रीष्टियान संस्थामा तिनी सचिवमा नियुक्त गरिए र त्यसको निम्ति तिनलाई तलब दिइन्थ्यो । सात वर्षको सेवापश्चात् तिनी पुनः व्यापारमा हाम्फाले ।

आफ्नो एक जना नातेदारसँगै मिलेर तिनले एउटा गोदाम भाडामा लिए अनि सामानहरू ठेलागाडामा राखेर बेच्न थाले । तिनले हरेक दिनको मुनाफा अर्को दिनमा प्रकाशित हुने इन्क्वाइरर नामक पत्रिकामा विज्ञापनको लागि लगानी गर्थे । पछि तिनले डिपार्टमेन्ट स्टोर खोले । यो सामानका किसिम-किसिम छुट्ट्याएर अलग-अलग खण्डमा बिक्रीका लागि मिलाएर राखिने ठुलो पसल थियो ।

ख्रिस्टाब्द १८३८ मा अमेरिकाको फिलाडेल्फियाको दुर्गम क्षेत्रमा जन्मेका वानामेकर दस वर्षमा फिलाडेल्फियाकै मुख्य व्यापारीमा गनिए । तिनले आफ्ना उत्कृष्‍ट कर्मचारीहरूलाई उच्च तनाखा दिन्थे । तिनको स्टोरमा काम गर्ने दर्जनौँ कर्मचारीका तलब अमेरिकी संसदका सचिवहरूकाभन्दा बेसी थियो । हातमा कौडी लिएर हिँडेका मान्छे मुख्य व्यापारी बने ।

वानामेकर फिलाडेल्फियामा भएका गरिबहरूका निम्ति तिनले प्रदर्शन गरेका मानव-प्रेमको लागि परिचित थिए । ख्रिस्टाब्द १८७८ मा सहसंस्थापकको रूपमा तिनीद्वारा स्थापित मिसन फिलाडेल्फियामा भएका घरवारविहीन मानिसहरूका लागि आजको दिनसम्म पनि सक्रिय छ ।

वानामेकरको मृत्यु हुँदा तिनीसित हालको मूल्याङ्कनअनुसार करिब १४ खरब रुपियाँ बराबरको पुँजी थियो । तिनको व्यापारको सफलताको कारण ख्रीष्टियान विश्‍वासमा तिनले पाएको तालिम र ख्रिस्टियमतको वास्तविक अभ्यासको कारणले भएको थियो भनी तिनी आफैले गवाही दिएका छन् । तिनले आफ्नो सफलताको श्रेय परमेश्वरमाथिको भरोसालाई दिएका छन् ।

यसरी आफ्नो मेहनत, कुशलता, ख्रीष्टियान अभ्यास र परमेश्वरमाथिको भरोसाको परिणामस्वरूप ७ रुपियाँबाट कमाइ थालेका वानामेकर खरबपति बनेका थिए ।

Facebook Comments

Powered by Youth Circle