बाटो, सत्‍य र जीवन म नै हुँ— येशू ख्रीष्ट

ख्रिस्टाब्द १९५० को दसकमा प्रकाशित पाश्चात्य जगत्‌का महान् पुस्तकहरूमा ‘परमेश्वर’ को विषयमा लेख्न सबैभन्दा धेरै ठाउँ दिइएको छ । पाश्चात्य जगत्‌का उल्लेखनीय विचारकहरूले यो विषयलाई सम्बोधन गरेका छन् । अन्य उल्लेखनीय विषयवस्तुहरूको तुलनामा परमेश्वरको बारेमा लेख्न किन यति धेरै ठाउँ दिइयो भनी सम्पादक मोर्टिमर एडलरलाई सोधिँदा तिनले नअनकनाई जवाफ दिए, “अन्य कुनै पनि आधारभूत प्रश्नभन्दा पनि परमेश्वरमाथिको विश्वास वा इन्कारबाट जीवन र गतिविधिका बेसी नतिजाहरू देखा पर्छन् ।”

माथिको अंश प्रतिभाशाली रक्षाशास्त्रीसाथै वक्ता रबी जकरिया र भिन्स भिटेलद्वारा लिखित जिजस एमङ्ग सेकुलर गड्सः द काउन्टरकल्चरल क्लेम्स अफ क्राइस्ट नामक पुस्तकबाट साभार गरिएको हो । सम्पादकले सटिक जवाफ दिए किनकि परमेश्वरको अस्तित्वको प्रश्न यति महत्त्वपूर्ण छ कि उहाँप्रतिको हाम्रो दृष्टिकोणले हाम्रा गतिविधिसाथै सोचविचारलाई मात्र नभई गन्तव्यलाई पनि प्रभावित तुल्याउँछ ।

मैले १४ दिन (जनवरी १८-३१) लगाएर यो किताबलाई पढेर सिद्ध्याएँ । ख्रिस्टाब्द २०२० मा मैले पढ्ने पुस्तकहरूको सूचीमा यो दोस्रो स्थानमा छ । २३५ पृष्ठको यो किताब ३ वर्षअगि मात्र २०१७ मा छापिएको थियो । ८ ओटा अध्यायमा विभाजित यो पुस्तकका चारवटा अध्याय रबीले लेखेका हुन् भने बाँकी चारवटा भिन्सले ।

पुस्तकको नामैबाट बुझ्न सकिन्छ कि लेखकद्वले विभिन्न ‘वाद’ हरूका बिचमा येशूको स्थानलाई तुलना गरेका छन् । पुस्तकमा लेखकद्वले परमेश्वरसित जोडिएका विविध दृष्टिकोणहरूको चिरफार गरेका छन् ।

  • नास्तिकवादः परमेश्वर अस्तित्वमा हुनुहुन्न ।
  • विज्ञानवादः विज्ञानले परमेश्वरको अस्तित्वलाई अप्रमाणित गरेको छ ।
  • बहुलवादः सबै मार्गले उही गन्तव्यमा पुर्‍याउँछन् ।
  • मानववादः हामीलाई परमेश्वरको खाँचो छैन ।
  • सापेक्षवादः तपाईंको लागि साँचो होला, तर मेरो लागि होइन ।
  • सुखवादः जेले तपाईंलाई खुसी तुल्याउँछ, त्यही गर्नुहोस् ।

माथि उल्लिखित यी सबै ‘वाद’ का आआफ्नै कमी कमजोरीहरू छन् । हामीले परमेश्वरको अस्तित्वलाई इन्कार गर्‍यौँ भने निम्न लिखित कुराहरूलाई स्वीकार गर्नुपर्ने हुन्छः

  • हरेक कुरो शून्यताबाट आयो ।
  • व्यवस्थापन अव्यवस्थापनबाट आयो ।
  • निर्जीव वस्तुबाट सजीव वस्तुको उदय भयो ।
  • बौद्धिकता अबौद्धिकताबाट आयो ।
  • नैतिकता अनैतिकताबाट आयो ।

तर न वैज्ञानिक दृष्टिकोणबाट न त दार्शनिक दृष्टिकोणबाट यी कुराहरू सम्भव छन् ।

हरेक व्यक्तिको जीवनमा चारवटा महत्त्वपूर्न प्रश्न छन्:

  • म कहाँबाट आएँ ? (उत्पत्ति)
  • म किन यहाँ छु ? (अर्थ)
  • म कसरी जिउनुपर्छ ? (नैतिकता)
  • म कहाँ जाँदै छु ? (गन्तव्य)

केवल ख्रिस्टियमतले यी चारैवटा प्रश्नको सटिक ढङ्गमा जवाफ दिन्छ । म कहाँबाट आएँ ? म परमेश्वरको स्वरूपमा सृजित अनमोल प्राणी हुँ । म किन यहाँ छु ? उहाँको महिमा गर्नु नै मेरो जीवनको लक्ष्य हो । म कसरी जिउनुपर्छ ? के गर्नुहुन्छ र के गर्नुहुन्न भनी बाइबल धर्मशास्त्रमा प्रस्ट रूपमा बताइएको छ । म कहाँ जाँदै छु ? उहाँले मेरो निम्ति अनन्त वासस्थान तयार पार्नुभएको छ ।

निष्कर्षमा विविध वादमा मानिसहरूले आआफ्नै ‘ईश्वर’ को रचना गरेका छन् । तर येशू अद्वितीय हुनुहुन्छ । “बाटो, सत्‍य र जीवन म नै हुँ । मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन” (यूहन्ना १४:६) भनी उहाँले आफ्नो ईश्वरत्वको दाबी मात्र गर्नुभएन तर उहाँको जीवनमा पूरा भएका ३०० ओटाभन्दा बेसी भविष्यवाणी, निष्पाप जीवन, आश्चर्यकर्महरूको प्रदर्शनीसाथै मरेकाहरूबाटको पुनरुत्थानद्वारा आफ्नो दाबीलाई पुष्टि पनि गरिदिनुभयो ।

Facebook Comments

Powered by Youth Circle