परमेश्वरले कुनै मानिसको परीक्षा लिनुहुन्न भने किन अब्राहामको परीक्षा लिनुभयो ?

परमेश्वरले कुनै मानिसको परीक्षा लिनुहुन्न भनी याकूबले व्यक्त गरेका छन्, “परीक्षा हुँदा कसैले पनि यसो नभनोस्‌, ‘परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो ।’ किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न” (याकूब १:१३) । तर पुरानो करारमा परमेश्वरले अब्राहामको परीक्षा लिनुभयो, “केही समयपछि परमेश्‍वरले अब्राहामको ठूलो जाँच गर्नुभयो, र तिनलाई भन्‍नुभयो, ‘हे अब्राहाम ।’ तिनले भने, ‘म यहीँ छु'” (उत्पत्ति २२:१) । परमेश्वरले कुनै मानिसको परीक्षा लिनुहुन्न भने किन अब्राहामको परीक्षा लिनुभयो ?

परमेश्वरले अब्राहामलाई पापमा फसाउने गरी परीक्षा लिनुभएन, न त उहाँले कसैलाई त्यसो गर्नुहुन्छ । तिनले पाप गर्नेथिए कि तिनी उहाँप्रति विश्वासयोग्य हुनेथिए भनी हेर्न उहाँले तिनको जाँच गर्नुभयो । तिनले पाप गरुन् भन्ने परमेश्वरको इच्छा थिएन । आफ्ना एक मात्र पुत्र परमेश्वरको निम्ति अर्पण गर्न तयार भएपछि उहाँले हस्तक्षेप गरी भन्नुभयो, “तेरो हात त्‍यस केटामाथि नउठा, र त्‍यसलाई केही नगर्‌ । अब मैले थाहा पाएँ तँ परमेश्‍वरसँग डराउँदोरहेछस्‌, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌” (उत्पत्ति २२:१२) ।

यो कुरो साँचो हो कि हाम्रो परीक्षा गर्न परमेश्वरले शैतानलाई अनुमति दिनुहुन्छ (मत्ती ४:१-१०; १ पत्रुस ५:८-९), तर उहाँ आफैले भने कसैको परीक्षा गर्नुहुन्न । हामी पापिष्ठ मानव-जाति परीक्षामा पर्दा “आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा” परेका हुन्छौँ (याकूब १:१४) । परमेश्वर परीक्षाको स्रोत हुनुहुन्न । आफ्ना पापको खातिर केही मानिसले परमेश्वरलाई दोश्याउने गरे तापनि उहाँले कसैलाई पनि पापमा पार्नुहुन्न ।

Facebook Comments

Powered by Youth Circle