अमेरिका पत्ता लगाउने कोलम्बसलाई बाइबलले नै सामुद्रिक यात्रा गर्ने प्रेरणा दिएको थियो

क्रिस्टोफर कोलम्बस इटालीका सामुद्रिक अन्वेषक थिए । १४९२-१५०३ को बिचमा कोलम्बसले स्पेनदेखि अमेरिकासम्म चारवटा आतेजाते सामुद्रिक यात्रा सम्पन्न गरे । १४९२ मा तिनले पहिलो सामुद्रिक यात्रा थाल्दा जापान पुग्ने तिनको अपेक्षाको विपरीत तिनी नयाँ संसार पुगेका थिए । नयाँ संसार भन्नाले पश्चिमी गोलार्द्धलाई बुझ्नुपर्छ जहाँ उत्तर र दक्षिण अमेरिकाको दुवै भुगोल पर्दछन् । तसर्थ अमेरिकाको दुवै महादेश पत्ता लगाउने श्रेय कोलम्बसलाई नै जान्छ ।

इतिहासमा परमेश्वरले गर्नुभएका अद्भूत हस्तक्षेपहरूमध्ये कोलम्बसको सामुद्रिक यात्रा एक हो । अन्यजातिहरू परमेश्वरमा आउनेथिए भन्ने यशैयाका भविष्यवाणीहरू (जस्तै: ६०:३) बारे तिनी सचेत थिए । तिनले आफ्ना यात्राहरूलाई यी भविष्यवाणीहरूको समाप्तिको रूपमा हेरेका थिए । आफ्नो जीवनकालभरि कोलम्बसले बाइबल र बाइबलीय भविष्यवाणीहरूमा औधी रुचि देखाए । तिनले आफ्ना पत्रहरूसाथै अभिलेखहरूमा बाइबलका पाठ्यांशहरूलाई बारम्बार उद्धृत गरेका छन् । जीवनको अन्त्यतिर तिनले भविष्यवाणीहरूको पुस्तक नामक कृतिको रचना गरे जसमा तिनले अन्वेषकको रूपमा आफ्नो जीवनवृत्तिलाई ख्रीष्टियान अन्तशास्त्र र भविष्योद्‌घोषीवादको प्रकाशमा अर्थ खोलेका छन् ।

सामुद्रिक यात्रा गर्ने क्रममा १४९२ को अक्टोबर महिनामा जमिन देखा परेपछि त्यसलाई कोलम्बसले ईश्वरीय सहायताको रूपमा हेरेका थिए । त्यसैले आफूले देखेको भूमिलाई तिनले सान साल्भाडोर नाउँ दिए जसको अर्थ हुन्छ, “पवित्र मुक्तिदाता ।” त्यसपछि तिनले प्रार्थना गरे, “हे परमप्रभु, सर्वशक्तिमान् र अनन्त परमेश्वर, तपाईंले आफ्नो पवित्र वचनद्वारा स्वर्ग, पृथ्वी र समुद्र सृष्टि गर्नुभयो । तपाईंको नाउँ धन्यको होस् र महिमित होस् र तपाईंको वैभवको स्तुति होस् जसले पृथ्वीको यस दोस्रो भागमा तपाईंको पवित्र नाउँको घोषणा हुन सकोस् भनी हामीजस्ता तुच्छ सेवकहरूलाई प्रयोग गर्न रचना गरेको छ ।”

आफूले यात्रा सकेका एक दसकपछि तिनले लेखे, “इन्डिजमा सामुद्रिक यात्रा गर्ने विचार परमप्रभुले नै मेरो मनमा हालिदिनुभयो । मेरो परियोजनाको बारेमा सुन्ने सबैले नै मेरो उपहास गर्दै यसलाई हाँसोमा उडाइदिए । प्रेरणा पवित्र आत्माबाट नै आएको थियो भन्ने कुरोमा कुनै प्रश्न थिएन किनकि पवित्र धर्मशास्त्रका अद्भूत ज्योतिका किरणसहित उहाँले मलाई सान्त्वना दिनुभएको थियो । … इन्डिजमा यात्रा गर्दा हाम्रा प्रभु येशू ख्रीष्टले प्रस्ट आश्चर्यकर्म गर्न चाहनुभएको थियो ।”

Facebook Comments

Powered by Youth Circle