कन्स्टेन्टाइन महान् रोमी साम्राज्यका सन्ताउन्नौँ सम्राट् थिए जसले ख्रिस्टाब्द ३०६-३३७ सम्म शासन गरे । मण्डली र साम्राज्य दुवैको इतिहासमा तिनको शासन परिवर्तनको निर्णायक बिन्दु साबित हुन पुग्यो । इतिहासकारहरू तिनलाई प्रथम ख्रीष्टियान सम्राट्को रूपमा हेर्छन् ।
पिता फ्लाभिअसले छोरो कन्स्टेन्टाइनलाई पश्चिमी रोमको सम्राट् बनाए । तर गृहयुद्ध चर्किएपछि धेरै शक्तिशाली मानिसहरूले रोमी साम्राज्यलाई आफ्नो कब्जामा पार्न चाहे जसमध्ये एक थिए, म्याक्सिन्टस । तिनले आफैलाई सम्राट् घोषणा गरे । रोममा बस्ने यी स्व-घोषित शासकले रोम र इटालीमाथि कब्जा जमाए ।
कन्स्टेन्टाइन र तिनको सेना म्याक्सिन्टसको विरुद्धमा युद्ध गर्न अगाडि बढे । म्याक्सिन्टसको सेनाको आकारको तुलनामा कन्स्टेन्टाइनको सेनाको आकार झन्डै आधा भए तापनि कन्स्टेन्टाइनले सपनामा ख्रीष्टको दर्शन देखेका थिए जसमा तिनले ख्रीष्टको नाउँमा युद्ध गरे जित हासिल गर्नेथिए भनी तिनलाई बताइएको थियो । नभन्दै, ख्रिस्टाब्द ३१२ मा तिनले युद्ध जिते र तिनी पश्चिमी रोमको एक मात्र सम्राट् बने भने लिसिनस पूर्वका सम्राट् बने ।
मण्डली इतिहासमा ३१३ लाई एउटा महत्त्वपूर्ण साल मानिन्छ । यही सालमा पूर्व र पश्चिमका दुवै सम्राट्ले हस्ताक्षर गरेका मिलानको घोषणा जारी गरियो । अब ख्रीष्टियान धर्मले वैधानिकता पायो । रोमी साम्राज्यमा ख्रीष्टियानहरूलाई सताउन नपाउने भयो यद्यपि यसभन्दा अगि मनग्गे ख्रीष्टियानहरू ख्रीष्टमाथिको विश्वासकै कारणले सहिद बन्नुपरेका थिए । अब सम्राट् कन्स्टेन्टाइन आफै नै ख्रीष्टियान बने ।
अनुगामी वर्षहरूमा थप कानुनहरू ल्याइए जुन ख्रीष्टियान मूल्य मान्यताहरूमा आधारित थिए । सबै मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएको छ भन्ने बुझाइको कारणले दास र अपराधीहरूलाई निधारमा छाप लगाउने कार्यलाई निषेध गरियो; दासलाई क्रुसमा झुन्ड्याउने चलनको निर्मूलन गरियो; मान्छेले मान्छेको विरुद्धमा लडेर रगत बगाई मनोरञ्जन लिने खेललाई मनाही गरियो; अनपेक्षित शिशुहरूलाई मार्ने अभ्यासमा रोक लगाइयो ।
सम्राट्को संरक्षणबाट मण्डलीले आर्थिक र भौतिक लाभ प्राप्त गर्यो; बाइबल धर्मशास्त्रका नयाँ प्रतिहरू प्रकाशन गरिए; मण्डलीका अगुवाहरूलाई राज्यका महत्त्वपूर्ण स्थानहरू प्रदान गरिए ।
तर पूर्वका सम्राट् लिसिअसलाई राज्यका केही गतिविधिहरू मन परिरहेको थिएन । त्यसैले तिनले ख्रीष्टियानहरूलाई पुन: सताउन थाले । तर पश्चिमका सम्राट् कन्स्टेन्टाइन त्यसको विपक्षमा उत्रिए । कैयौँ युद्धहरूपश्चात् कन्स्टेन्टाइनले लिसिअसलाई पराजित गरे र ३२४ मा कन्स्टेन्टाइन एकीकृत रोमको शासक बने ।
३३७ मा कन्स्टेन्टाइन प्रभुमा सुते र तिनको शवलाई नयाँ राजधानीमा गाडियो । तिनको मृत्युमा सारा संसारले शोक मनाएको थियो ।