३५६ ख्रिस्टपूर्वमा जन्मेका अलेक्जेन्डर महान् विश्व विजेता थिए । बिस वर्षकै उमेरमा सिंहासनमा बसेका तिनले आफ्नो अधिकांश शासनकाल युद्धमा बिताए । एसियादेखि उत्तर-पूर्वी अफ्रिकासम्म युद्ध लड्दै आएका तिनले ३२ वर्ष नपुग्दै प्राचीन संसारको एउटा विशालतम साम्राज्य खडा गरे । तिनी युद्धमा पराजित हुँदैनथ्ये र तिनलाई संसारकै एक सर्वाधिक महान् सैनिक कमान्डरको रूपमा हेरिन्छ । १३ वर्षको छोटो अवधिमा तिनले प्राचीन संसारका अधिकांश ज्ञात भूमिहरूमाथि विजय हासिल गरेका थिए ।
विश्वको इतिहासमा अलेक्जेन्डर महान् यति महत्त्वपूर्ण पात्र थिए कि दानिएल २, ७, ८ र ११ अध्यायहरूमा तिनी र तिनको राज्यको विषयमा भविष्यवाणी गरिएको थियो । परमेश्वरको प्रेरणा पाएर दानिएलले चारवटा विश्व साम्राज्यको अनुक्रमणबारे भविष्यवाणी गर्नुका अतिरिक्त तिनका भविष्यवाणीहरूमा अन्य विविध कुराहरूमा पनि समेटिएका छन् जसमध्ये एउटा घतलाग्दो भविष्यवाणी होः ग्रिक साम्राज्य चार भागमा विभाजित हुनेथियो । दानिएल ११:३-४ मा अलेक्जेन्डर महान्को बारेमा यसरी भविष्यवाणी गरियो, “त्यसपछि एक जना शक्तिशाली राजा खडा हुनेछन्, जसले आफ्नो ठूलो शक्तिसाथ शासन गर्नेछन् र जे मन लाग्यो त्यही गर्नेछन् । उनी खडा भएपछि, उनको साम्राज्य टुक्रिनेछ र स्वर्गका चार बतासतिर बाँडिनेछ, न त उनले चलाएको अधिकार त्यसको हुनेछ, किनभने उनको साम्राज्य जरैसमेत उखेलिनेछ र अरूलाई दिइनेछ ।”
अलेक्जेन्डर महान्को मृत्यु यति अकस्मात् भएको थियो कि ग्रिसमा तिनको मृत्युको खबर आउँदा त्यसलाई तत्काल विश्वास गरिएको थिएन । केवल ३२ वर्षको उमेरमा ३२३ मा बेबिलोनस्थित नबुकदनेसर द्वितीयको दरबारमा अलेक्जेन्डर महान्को निधन हुँदा तिनको कुनै प्रस्ट उत्तराधिकारी नभएकोले तिनको शक्तिशाली साम्राज्य बाइबलले भविष्यवाणी गरेझैँ चार भागमा बाँडिएको थियोः एन्टिपाटेर र पछि कैसन्डरको अधीनमा माकेडोनिया र ग्रिस; लुसिमाखसको अधीनमा थ्रेस र एसिया माइनर; सिलुकसको अधीनमा सिरिया अनि टोलेमीको अधीनमा मिश्र र प्यालेसटाइन ।
बाइबलका भविष्यवाणीहरू कति साँचा छन् भन्ने यो एउटा ज्वलन्त उदाहरण हो । “किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्” (२ पत्रुस १:२१) ।