५०० वर्ष पुरानो “प्रार्थना गरिरहेका हातहरू” नामक चित्र पछाडिको रहस्य

तिनको नाउँ हो, अल्ब्रेज डुरर । तिनका एक जना मित्र थिए । दुवै जनामा चित्रकलाको निम्ति तीव्र इच्छा थियो । तर ती दुवै जना ज्यादै गरिब थिए । त्यसैले खर्च घटाउने उद्देश्यले ती दुवै सँगै बस्थे । खर्चको अभावको कारणले गर्दा तिनीहरूले एउटा सहमति गरे जसमा एउटाले काम गर्ने र अर्कोले अध्ययन गर्नुकासाथै चित्र कोर्ने अनि केही वर्ष बितेपछि आआफ्नो भूमिका परिवर्तन गर्ने ।

डुररले पहिले काम गर्ने इच्छा व्यक्त गरे । तर तिनका मित्रले डुररमा बेसी क्षमता देखी तिनलाई पहिले अध्ययन र चित्रकलामा लाग्न जोड गरे ।

वर्षौं बितेपछि जब भूमिका परिवर्तन गर्नुपर्ने बेला आयो, डुररका मित्र चित्र कोर्न नसक्ने भए । किनकि तिनका हातहरू कामको कारणले गर्दा अति नै कडा भइसकेका थिए । तर तिनी प्रार्थना गर्ने मानिस भएकाले तिनले वैमनस्य पैदा गरेनन् । एक दिनको कुरो हो डुररले आफ्ना मित्रलाई प्रार्थना गरिरहेका भेट्टाए । तिनको प्रार्थनाले डुररलाई प्रार्थना गरिरहेका हातहरूको चित्र बनाउने प्रेरणा मिल्यो ।

परिणामस्वरूप करिब ख्रिस्टाब्द १५०८ मा डुररले एउटा चित्र कोरे जसलाई संसारले “प्रार्थना गरिरहेका हातहरू” भनेर चिन्छ । जर्मनीका ख्रीष्टियान चित्रकार डुररद्वारा निर्मित ५०० वर्ष पुरानो यस चित्रलाई हाल अस्ट्रियाको अल्बर्टिना सङ्ग्रहालयमा राखिएको छ ।

डुररको जन्म १४७१ मा पवित्र रोमी साम्राज्यको जर्मनीमा भएको थियो । परिवारमा जन्मेका कम्तीमा पनि चौध सन्तानमध्ये तिनी साहिँला थिए । तिनका पिता एक सफल सुनार थिए । स्कुलमा केही समय बिताएपछि तिनले आफ्ना पिताबाट सुनको काम गर्न सिकेका थिए ।

आफूमा भएको चित्रकलाको क्षमताद्वारा बिसको दसकमा नै डुररले युरोपमा आफ्नो प्रसिद्धी स्थापित गरिसकेका थिए । राफेल, गिओभानी, लिओनार्दो दा भिन्सीजस्ता आफ्ना समयका परिचित चित्रकारहरूसित तिनको सम्पर्क हुने गर्थ्यो । अनुगामी पुस्ताका कलाकारहरूमा डुररले औधी प्रभाव पारे । लुथरवादी मण्डलीले तिनलाई एक महान् ख्रीष्टियानको रूपमा आदर गर्छ । नाइट, डेथ एन्ड द डेभिल (१५१३), सेन्ट जेरोम इन हिज स्टडी (१५१४) र मेलेङ्कोलिया प्रथम (१५१४) तिनका परिचित कलाहरूमा पर्छन् ।

Facebook Comments

Powered by Youth Circle