क्रूसमा टाँगिएको दोष-पत्रको लेखोट चारवटा सुसमाचारमा किन फरक-फरक छ ?

येशूलाई टाँगिएको क्रूसमाथि लिखित सङ्क्षिप्त शब्द INRI लाई तपाईंले पक्कै पनि देख्नुभएको होला । यो एउटा ल्याटिन शब्द हो जसको पूर्ण रूप हुन्छ— एइसुस, नाजरेनस रेक्स युदाएरोम ((Iesus Nazarenus, Rex Iudaeorum) । यसलाई नेपालीमा यसरी अनुवाद गर्न सकिन्छ— नासरतका येशू, यहूदीहरूका राजा ।

हाम्रा प्रभु येशूलाई टाँगिएको क्रूसको दोष-पत्रमा वास्तवमा के लेखिएको थियो भन्ने सम्बन्धमा बाइबल आलोचकहरूले धेरै पहिलेदेखि नै प्रश्न गर्दै आएका छन् । त्यहाँ एउटै कुरो लेखिएको हुनुपर्ने हो । तर चारवटा सुसमाचारलाई पढ्दा हामी बेग्लाबेग्लै शब्दहरू लेखिएको पाउँछौँ ।

  • मत्ती— “येशू, यहूदीहरूको राजा” (२७:३७) ।
  • मर्कूस— “यहूदीहरूका राजा” (१५:२६) ।
  • लूका— “यो यहूदीहरूको राजा हो” (२३:३८) ।
  • यूहन्ना— “नासरतको येशू, यहूदीहरूको राजा” (१९:१९) ।

“यहूदीहरूको राजा” भन्ने वाक्यांश चारवटै सुसमाचारमा पाइन्छ । (मर्कूसको सूसमाचारमा “यहूदीहरूका राजा” भनेर लेखिएको छ जसले अर्थमा कुनै भिन्नता ल्याउँदैन) । किन चार ओटा सुसमाचारमा फरक-फरक शब्दहरू लेखिए त भन्ने प्रश्नको उत्तर यूहन्नाको सुसमाचारमा उपलब्ध कथनमा पाइन्छ, “अब धेरै यहूदीहरूले यो दोष-पत्र पढे, किनभने येशू क्रूसमा टाँगिनुभएको ठाउँ शहरको नजीकै थियो । यो हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो” (१९:२०) ।

क्रूसमा कम्तीमा पनि तीनवटा बेग्ला-बेग्लै भाषामा लेखिएको दोष-पत्र टाँगिएको थियो । यसबाट हामी प्रस्ट हुन सक्छौँ कि प्रत्येक सुसमाचारीय लेखकले पूर्णताको केही अंशलाई मात्र उल्लेख गरेका छन् । दोष-पत्रको पूर्ण कथन यस्तो भएको हुन सक्छ, “यो नासरतको येशू, यहूदीहरूका राजा हो ।” यस अर्थमा प्रत्येक सुसमाचारले अत्यावश्यक भाग (यहूदीहरूका राजा) लाई उल्लेख गरेका छन् । तर कुनै पनि सुसमाचारले पूर्ण भागलाई अभिलिखित गरेको छैन । यो त्रुटि होइन, न त अन्तर्विरोध नै । बरु चारवटै भागलाई जोडेर हेर्दा थप जानकारीचाहिँ मिल्छ ।

Facebook Comments

Powered by Youth Circle