ख्रीष्‍टियान विश्‍वासलाई अनुसन्धान गरेपछि नास्तिक पत्रकारले घुँडा टेके

तिनी नास्तिक थिए । तिनको बुझाइमा प्रेमिलो र सर्वशक्तिमान् सृष्‍टिकर्ताको अवधारणा वाहियातसिवाय केही थिएन । पत्रकार र कानुनका विद्यार्थी तिनी अमेरिकाको सिकाको ट्रिब्युन नामक दैनिक अखबारका कानुनी सम्पादक थिए । एक दिन तिनकी अज्ञेयवादी पत्‍नी लेज्लीले आएर यसो भनिन्, “केही समयको खोजपछि मैले येशूको अनुयायी हुने निर्णय गरेकी छु ।” तर पतिका लागि त्यो सबैभन्दा दु:खको खबर बन्यो । यस खबरले विवाहको अन्त्य गराउनेभयो भनी तिनले ठाने । तर अनुगामी महिनाहरूमा तिनकी पत्‍नीको जीवनमा केही सकारात्मक कुराहरू देखिए । उनको चरित्रमा परिवर्तन आएको देखियो । पति र छोराछोरीहरूसित गर्ने व्यवहारमा बद्लाउ देखियो । आफ्नी पत्‍नीको जीवनमा आएको सकारात्मक परिवर्तनको कारणले गर्दा त्यस विषयमा स्ट्रोबेललाई जाँच गर्न मन लाग्यो । एक दिन तिनी मण्डलीमा गए, खास गरी पत्‍नीलाई त्यस दलदलबाट छुटाउनको लागि ।

तर तिनले येशूको बारेमा यस्तो सन्देश सुने जुन सन्देशलाई तिनले पहिलो पटक बुझ्न सके । क्षमा सित्तैँको उपहार थियो; येशू ख्रीष्‍ट हाम्रो पापको लागि मर्नुभयो र हामी उहाँसँगै अनन्त बिताउने छौँ भन्ने सन्देश सुने तिनले । त्यस सन्देशले तिनको मनमा भुईँचालो ल्याइदिएको थियो । तिनले सोचे, “यदि यो साँचो हो भने यसले मेरो जीवनमा बृहत् प्रभाव पार्दछ ।” त्यसपछि कानुन र पत्रकारितामा भएको आफ्नो खुबीलाई प्रयोग गरेर ख्रिस्टिमतमा कुनै विश्‍वसनीयता छ कि छैन भनी तिनले जाँच गर्न थाले ।

१ वर्ष ९ महिना लगाएर तिनले ख्रीष्‍टियान विश्‍वासको अनुसन्धान गरे । ८ नोभेम्बर १९९१ को दिन तिनले महसुस गरे कि ख्रिस्टियमतको पक्षमा साक्षी यति प्रबल थियो कि तिनको लागि ख्रीष्‍टियान हुनुभन्दा नास्तिक हुनको लागि बेसी विश्‍वास चाहिनेभयो । साक्षीले तिनलाई ख्रीष्‍टियान विश्‍वासको सत्यतातिर डोर्‍याएकोले त्यही दिन तिनले येशूलाई आफ्ना प्रभु र मुक्तिदाता भनी स्वीकार गरे । त्यसपछि तिनकी पत्‍नीको जस्तै तिनको जीवनमा पनि परिवर्तन देखा पर्‍यो । तिनका मूल्य-मान्यताहरू, चरित्र र तिनको जीवनको उद्देश्यमा रूपान्तरण आउन थाल्यो । आफ्नो अनुसन्धानद्वारा उपलब्ध स्रोतहरूबाट तिनले येशूको जीवनीबारे एउटा पुस्तक लेखे— द केस फर क्राइस्ट । यो कृतिले स्वर्ण पदक जित्यो ।

पछि तिनी विश्‍व चर्चित पास्टर बने । सीएनएन, फक्स न्युजजस्ता परिचित टेलिभिजन च्यानलहरूमा देखा परिसकेका तिनी ख्रिस्टाब्द १९५२ मा अमेरिकामा जन्मेका थिए । तिनी लेखक, पत्रकार र रक्षाशास्‍त्री (अपोलोजिस्ट) हुन् । तिनको नाउँ हो— लि स्ट्रोबेल ।

Facebook Comments

Powered by Youth Circle