अरुण ग्रह पत्ता लगाउने वैज्ञानिक विलियम परिचित ख्रीष्‍टियान थिए

आफ्ना पिता र दाजुभाइहरूले जस्तै विलियम हर्स्चेलले सङ्गीतकारको रूपमा आफ्नो जीवनको थालनी गरे । सात वर्षे युद्धमा होमिनु नपरोस् भन्ने हेतुले १५ वर्षको हुँदा तिनी जर्मनीस्थित आफ्नो घरबाट इङ्गल्यान्ड भागे । सङ्गीतको गुरु बनी तिनले आफ्नो जीवनयापन गर्नुका अतिरिक्त सङ्गीतमा गणितको महत्त्वलाई अध्ययन गर्न थाले । गणितबाट तिनको उत्सुकता खगोल विज्ञानतर्फ सर्‍यो जसले तिनको जीवनलाई यसरी रूपान्तरित गरिदियो कि तिनी आफ्नो समयकै एक सर्वाधिक खगोलविद् बन्न पुगे । ख्रिस्टाब्द १७३८ मा विलियमको जन्म जर्मनीमा भएको थियो । तिनी खगोलविद्‌ थिए । यी तिनै वैज्ञानिक हुन् जसले सूर्यदेखि टाढा रहेको सातौँ ग्रह अरुण पत्ता लगाएका थिए ।

१७७४ मा आफ्नो पहिलो ठुलो दुरदर्शक यन्त्र खडा गरी विलियमले युगल ताराहरूको अनुसन्धान गर्दै नौ वर्ष बिताए । युगल ताराहरूको खोजीको बेलामा एउटा आकाशीय पिण्डले विलियमको ध्यान खिँच्यो । सुरुमा तिनले यसलाई कुनै पुछ्रेतारा वा अन्य कुनै पिण्ड ठानेका थिए । तर पछिल्ला थप अनुसन्धानहरूबाट यो अर्कै ग्रह भएको पुष्‍टि  भयो जसलाई पछि अरुण ग्रह नाउँ दिइयो । १७८१ मा यो ग्रह पत्ता लगाइएको थियो । प्राचीन समयपछि पत्ता लागेको यो नै पहिलो ग्रह थियो । यस ग्रहको आविष्कारसँगै विलियम रातारात प्रसिद्ध भए र ग्रेट ब्रिटेनका राजा जर्ज तृतीयले तिनलाई राजदरबारको खगोलविद्को रूपमा नियुक्त गरे ।

खगोल विज्ञानको क्षेत्रमा विलियमले कैयौँ खोज पत्ता लगाए जसमध्ये अरुण ग्रह र युगल ताराहरूको आविष्कार उल्लेखनीय छन् । तिनले आफ्नो समयको परावर्तन गर्ने विशालतम दुरदर्शक यन्त्रको निर्माण गरी पहिलेभन्दा गहन तरिकाले नीहारिका र तारापुञ्जहरूको अध्ययन गरे । आफ्नो जीवनको पछिल्लो घडीमा तिनले ४ ओटा उपग्रह पनि पत्ता लगाएका थिए ।

विलियम परिचित खगोलविद् मात्र नभएर परिचित ख्रीष्‍टियान पनि थिए । तिनका जीवनकारले व्यक्‍त गरेका छन्, कि तिनी “महान्, साधारण र असल वृद्ध” ख्रीष्‍टियान थिए । यो सम्पूर्ण विश्व परमेश्वरको हातका कामको लागि अद्‍भुत साक्षी हो भनी तिनले बताएका छन् ।

Facebook Comments

Powered by Youth Circle