राजा हिजकियाको २,७०० वर्ष पुरानो छाप फेला पारियो  

ख्रिस्टाब्द २००९ मा यरूशलेममा माटोबाट बनेको एउटा छाप पत्ता लगाइयो जसमा बाइबलीय राजा हिजकियाको नाउँ उल्लेख गरिएको छ । उक्त छापमा प्राचीन हिब्रू भाषामा लेखिएको छ, “यहूदाका राजा आहाज [का छोरा] हिजकियाको” । डा. एलियाट मजरको नेतृत्वमा गएको पुरातत्त्वविद्हरूको टोलीले उक्त छाप फेला पारेको हो । पुरातत्त्वविद्हरूले पत्ता लगाएका इस्राएल वा यहूदाको राजाको नाउँ अभिलिखित यो नै पहिलो छाप हो । प्राचीन संसारमा माटोलाई छापको रूपमा प्रयोग गरिन्थ्यो । राजदरबारका दस्तावेजहरूलाई प्रमाणित गर्नका लागि राजा हिजकियाले यस छापको प्रयोग गर्थे । आठौँ शताब्दी ख्रिस्टपूर्वको मिति दिइएको यो लगभग २,७०० वर्ष पुरानो छाप हो ।

को थिए हिजकिया ? हिजकिया यहूदाका तेर्‍हौँ राजा थिए जसले करिब ७२८-६९९ ख्रिस्टपूर्वसम्म २९ वर्ष राज्य गरे । दाऊद र सोलोमनपछि तिनी एक महत्त्वपूर्ण राजा थिए । आहाजका छोरा हिजकिया धनी, साहसिला र प्रभावशाली राजा थिए जो अश्शूरीहरूको विरुद्धमा खडा भए । हिजकियाको शासनकालका मुख्य विवरणहरू यी खण्डहरूमा पढ्न पाइन्छन्ः २ राजा १८-२०; यशैया ३६-३९; २ इतिहास २९-३२ । “इस्राएलका राजा एलाहका छोरा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले राज्य गर्न लागे । जब तिनी राजा भए तब तिनी पच्चीस वर्षका थिए, र तिनले यरूशलेममा उनन्तीस वर्ष राज्य गरे । तिनकी आमाको नाम जकरियाकी छोरी अबिया थियो । आफ्ना पुर्खा दाऊदले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे” (२ राजा १८:१-३) ।

यो छाप बाइबलीय विवरणलाई स्थापित गर्ने बाहिरी साक्षी हो । हिजकिया यहूदाका राजा थिए र तिनी आहाजका छोरा थिए भनी यस छापले स्पष्ट पारेको छ । यस महत्त्वपूर्ण खोजले फेरि एक पटक बाइबलीय विवरणको पुष्टि गरेको छ ।

Facebook Comments

Powered by Youth Circle