नोबेल पुरस्कार जित्नेहरूमा ६५% ख्रीष्टियान

तिनी जीवितै थिए, तर अखबारमा आफू मरेका सूचना पढ्दा तिनी छक्क परे । त्यति बेला तिनी ५५ वर्ष पुगेका थिए । वास्तवमा मर्ने व्यक्तिचाहिँ तिनका दाजु थिए । त्यस जानकारीले तिनलाई बेचैन तुल्यायो र मानिसहरूले तिनलाई भविष्यमा कसरी सम्झन्थे भन्नेबारे सचेत तुल्यायो । यस खबरले तिनको इच्छालाई बद्लन प्रेरित गर्‍यो र तिनले आफ्नो अथाह सम्पत्ति मानव-जातिको महान्‌तम लाभको निम्ति प्रयोग गर्ने निधो गरे । ती व्यक्ति अरू कोही नभएर अल्फ्रेड नोबेल थिए जो ख्रिस्टाब्द १८३३ मा उत्तरी युरोपेली मुलुक स्विडेनमा जन्मेका थिए ।

नोबेल रसायनशास्त्री, इन्जिनिएर, अन्वेषक, व्यापारी र मानवप्रेमी थिए । तिनी चर्च अफ स्विडेन एब्रोड नामक मण्डलीमा नियमित उपस्थित हुन्थे । तिनले नै नोबेल पुरस्कारको स्थापना गरेका थिए जसको लागि तिनी औधी परिचित छन् ।

ख्रिस्टाब्द २००० मा नोबेल पुरस्कारको इतिहासले शताब्दी चुमेको थियो । पहिलो पटक यो पुरस्कार १९०१ मा ५ ओटा विद्यामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रदान गरिएको थियो: भौतिक शास्त्र, रसायन शास्त्र, चिकित्सा शास्त्र, साहित्य र शान्ति । १९६९ बाट अर्को विद्या (अर्थशास्त्र) थपेसँगै हाल ६ ओटा क्षेत्रमा यो पुरस्कार वितरण गरिन्छ । ८५० भन्दा बढी व्यक्तिले यस पुरस्कारलाई आफ्नो पोल्टामा पारिसकेका छन् ।

सय वर्षको इतिहास (१९०१-२०००) मा नोबेल पुरस्कार जित्नेहरूमा ६५.४% ख्रीष्टियान रहेका छन् । ख्रीष्टियानहरूले शान्तिमा ७८.३%, रसायन शास्त्रमा ७२.५%, भौतिक शास्त्रमा ६५.३%, चिकित्सामा ६२%, अर्थशास्त्रमा ५४% र साहित्यमा ४९.५% नोबेल पुरस्कार हात पारेका छन् ।

संसारको जम्मा जनसङ्ख्यामध्ये ३३.२% ख्रीष्टियान छन् र यो पुरस्कार जित्नेहरूमा ६५.४% ख्रीष्टियान छन् ।

नोबेल पुरस्कार वार्षिक रूपमा प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार हो । यो सर्वाधिक ठुलो धनराशी भएको पुरस्कार हो । ख्रिस्टाब्द २०१२ सम्ममा प्रत्येक पुरस्कार लगभग १२ करोड नेपाली रुपियाँ बराबर थियो । साहित्य, चिकित्सा, भौतिक शास्त्र, रसायन शास्त्र, शान्ति र अर्थशास्त्रमा उपलब्ध पुरस्कारहरूमध्ये यसलाई सबैभन्दा प्रतिष्ठित पुरस्कारको रूपमा हेरिन्छ ।

ख्रिस्टाब्द २००० सम्ममा नोबेल पुरस्कार विजेताहरूमध्ये १० जना गैरख्रीष्टियानहरूले ख्रीष्टियान आस्थालाई अङ्गालेका छन्: ५ जना यहूदी धर्मबाट, ३ जना नास्तिकबाट, १ जना अज्ञेयवादबाट र अर्को १ जना अनिश्चित छ ।

इतिहासलाई केलाउँदा हामी देख्छौँ कि नोबेल पुरस्कार प्रापकहरूका खोजसाथै अनुसन्धानले संसारलाई अझै उत्तम बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका छन् र यसमा ख्रीष्टियानहरू अग्रस्थानमा छन् ।

Facebook Comments

Powered by Youth Circle