झ्यालखानामा नै बाइबल पढेर ख्रीष्टियान भए नास्तिक सैनिक अधिकृत

दोस्रो विश्वयुद्ध जारी थियो । १८ अप्रिल १९४२ को दिन डुलिटिल रेड नाउँ दिइएको हवाइ आक्रमणमा अमेरिकाले जापानको राजधानी टोकियोलगायत अन्य सहरहरूमाथि आक्रमण गर्‍यो । आक्रमणकारीहरूको समूहमा जेकब डे साजर नाउँका एक जना सैनिक अधिकृत पनि थिए जो नास्तिक थिए । तिनको टिमले जापानको नागोया सहरमाथि आक्रमण गरेपछि विमानलाई चीनमा सुरक्षित अवतरण गराउन खोज्दा तिनी र बाँकी सहकर्मीहरू प्यारासुटबाट चीनको निङ्गपोमा हामफाल्न बाध्य भए जुन शत्रुहरूको इलाका थियो । तिनलाई पक्रेर जापानीहरूले झ्यालखानामा हाले । लाग्थ्यो, तिनको जीवनको अन्त्य नजिकिँदै थियो । तिनका दुई सहयात्रीलाई गोली हानेर हत्या गरिएको र एक जना भोकले मरेको तिनले आफ्नै आँखाले देखे ।

बन्दी बनी जापानी भूमिमा दिनहरू बिताइरहँदा जेकब एउटा प्रश्नमाथि घोत्लिन थाले— किन मैले जापानीहरूलाई यति धेरै घृणा गरेको र जापानीहरूले मलाई किन घृणाको दृष्टिकोणबाट हेरेका होलान् ? ख्रीष्टियान विश्वासबारे आफूले सुनेका केही कुराहरूलाई याद गर्न थाले तिनले । साहसपूर्वक जेकबले झ्यालखानाका हाकिमहरूलाई अनुरोध गरे, “मलाई एउटा बाइबल ल्याइदिनुहुन्छ कि ?” तिनको अनुरोधलाई तिनीहरूले खिल्लीमा उडाइदिए । तिनीहरूलाई लाग्यो कि यो कुनै ठट्टा थियो । त्यस्तो वाहियात माग नगर्न तिनीहरूले तिनलाई चेताउनी दिए । तर तिनले बाइबलको माग गरिरहे । डेढ वर्षपश्चात् अर्थात् मे १९४४ मा एक जना पहरेदारले बाइबल ल्याइदियो र तिनको सामु फ्याँकेर भन्यो, “तिमीसँग जम्मा तीन हप्ता मात्र बाँकी छ । त्यसपछि त म यो बाइबल लिएर जान्छु ।” नभन्दै, तीन हप्ता बितेपछि पहरेदारले जेकबको हातबाट बाइबल लिएर गयो ।

तथापि तीन हप्ताको छोटो अवधिमा जेकबले बाइबलाई जुन रफ्तारले पढेका थिए; त्यसमाथि मनन गरेका थिए र जीवनको अर्थसाथै मानव-जातिको आखिरी गन्तव्यको विषयमा बाइबलका वचनहरूमा डुबेका थिए त्यसले तिनको जीवनमा नाटकीय परिवर्तन ल्याइदिसकेको थियो । पछि तिनी जापानी निर्वासनबाट जेलमुक्त भए । १९४८ मा आफ्नी पत्नी र भर्खरैको छोरो लिएर तिनी फेरि जापानमा नै गए— तर यस पटक बन्दी बनेर नभएर मिसनरी बनेर । ख्रिस्टाब्द १९१२ मा जन्मेका जेकबले मिसनरी भएर जापानमा ३० वर्ष बिताए ।

Facebook Comments

Powered by Youth Circle