हामीले येशूको देह खानुपर्छ र रगत पिउनुपर्छ भन्नुको मतलब के हो (यूहन्ना ६:५३-५४) ?

येशूले भिडलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ” (यूहन्ना ६:५३-५४) । के अनन्त जीवनको लागि हामीले येशूको देह खानुपर्छ र रगत पिउनुपर्छ ? येशूको भनाइको अर्थ के हो ?

सर्वप्रथम हामीले बुझेका हुनुपर्छ कि यहाँ येशू आलङ्कारिक भाषामा बोल्दै हुनुहुन्छ जसमा शब्दलाई हुबहु अर्थात् जस्ताको तस्तै बुझ्नुहुँदैन । यो साहित्यको एउटा शैली हो । यस्तो शैलीमा अर्थ अर्कै हुन्छ । येशूले यहाँ मात्र होइन अन्य ठाउँहरूमा पनि यस्तो शैलीलाई प्रयोग गर्नुभएको छ । उदाहरणको लागि, येशूले भन्नुभयो, “साँचो दाखको बोट म हुँ” (यूहन्ना १५:१) । यसको अर्थ येशूका पाखुरा र तिघ्राबाट हाँगासाथै पात पलाएको थियो भन्ने हुँदैन । उहाँको भनाइको अर्थ यही हो कि उहाँ हाम्रो आत्मिक जीवनको वास्तविक स्रोत हुनुहुन्छ । बाइबलले येशूलाई मण्डलीको कुने-ढुङ्गेको रूपमा चित्रण गर्छ (एफिसी २:२०) । यसको अर्थ उहाँ वास्तवमै भौतिक पत्थर हुनुहुन्छ भन्ने होइन । यसको अर्थ हुन्छ कि उहाँ मण्डलीको मुख्य जग हुनुहुन्छ ।

हामीले यो पनि बुझेका हुनुपर्छ कि येशूले यहाँ (यूहन्ना ६:५३-५४) प्रभु–भोजको उल्लेख गरिरहनुभएको छैन । यसको लागि विभिन्न कारणहरू पेस गर्न सकिन्छन्:  (१) यूहन्ना ६ अध्यायमा प्रभु–भोजको स्थापना भइसकेको छैन । उहाँलाई धोका दिइएको रातमा येशूले यसको स्थापना गर्नुभयो (२) येशूका स्रोताहरू अविश्वासीहरू छन्, विश्वासीहरू होइनन् । (३) यहाँ देह खाने र रगत पिउने कुरो अनन्त जीवनको लागि हो जब कि प्रभु-भोज अनन्त जीवन पाएकाहरूले खान्छन् ।

येशूले आलङ्कारिक भाषामा बोल्दै हुनुहुन्छ र यहाँ उहाँले प्रभु-भोजको विषयमा बताइरहनुभएको छैन भने येशूको भनाइको अर्थ के हो त ? अनन्त जीवनको लागि हामीले येशूको देह खानुपर्छ र उहाँको रगत पिउनुपर्छ भन्ने येशूको भनाइको अर्थ हामीले उहाँमाथि विश्वास गर्नुपर्छ भन्ने हो । उहाँको प्रायश्चित्तमा मात्र अनन्त जीवन सम्भव छ । अनन्त जीवनको लागि उहाँमाथि विश्वास गरिएको हुनुपर्छ ।

Facebook Comments

Powered by Youth Circle