ख्रिस्टाब्द १९०३ मा इङ्गल्यान्डमा जन्मेका माल्कोम मुगरिज पत्रकार, लेखक, सञ्चारकर्मीसाथै व्यङ्ग्यकार थिए । जवान छँदा सामाजिक समानताको पक्षमा लेख्ने गरे तापनि पछि तिनी साम्यवाद विरोधी बने । दोस्रो विश्वयुद्धमा तिनले ब्रिटिस सरकारको लागि सेना र जासुसीको रूपमा कामसमेत गरे । पाँच जना सन्तानमध्ये साहिँलो छोरोको रूपमा जन्मेका माल्कोम साम्यवादी शिक्षाबाट आकर्षित थिए ।
आफ्नो पेसा नै पत्रकारिता भएकाले माल्कोम अक्सर एउटा ठाउँदेखि अर्को ठाउँमा चाहार्ने गर्थे । तिनी क्याम्ब्रिजदेखि काइरो, मस्को, भारत, अफ्रिका, इटाली र फ्रान्स पुग्ने गर्थे । तर जीवनको यात्रामा उकाली-ओराली गर्ने क्रममा तिनको भेट मदर टेरेसासित हुन पुग्यो जसको जीवनले तिनको दृष्टिकोण मात्र परिवर्तन गरिदिएन, तर तिनले नयाँ आस्थालाई नै अङ्गाल्न पुगे ।
माल्कोमले पहिलो पटक १९६७ मा मदर टेरेसालाई भेटेका थिए, बीबीसीको लागि मदरको अन्तर्वार्ता लिने क्रममा । परोपकारको क्षेत्रमा नाउँ कमाएकी मदरले १९७९ मा नोबेल शान्ति पुरस्कार जितेकी थिइन् । माल्कोमद्वारा उनीसित लिइएको अन्तर्वार्ता यति लोकप्रिय हुन पुग्यो कि त्यसको एक वर्षपश्चात् माल्कोमको फिल्मी टोली भारतको कलकत्ता आएपुग्यो, एउटा डकुमेन्ट्री फिल्म बनाउन । त्यहीँ नै मदर टेरेसाले मिसनरीको रूपमा काम गरिरहेकी थिइन् । समथिङ्ग ब्युटिफुल फर गड नामक उक्त फिल्म कलकत्ताका गरिबहरूको बिचमा भएको मदरको कामको बारेमा थियो । मदरसित बिताएका ती क्षणहरू सन्देहवादी माल्कोमको जीवनमा यति प्रभावशाली भए कि मदरको प्रभावमा परेर तिनले ख्रीष्टियान विश्वासलाई अङ्गाले ।
आफ्नो जीवनको अधिकांश समय अज्ञेयवादी रहेका माल्कोमले १९६९ मा जिसस रिडिसकभर्ड नामक पुस्तकको प्रकाशन गरी आफू ख्रीष्टियान भएका घोषणा गरे । यो एउटा उत्कृष्ट पुस्तक साबित भयो । यो विश्वासबारे लेखिएका निबन्धहरू, लेखहरू र प्रवचनहरूको सङ्कलन हो । तिनले येशूको बारेमा थप दुईवटा पुस्तक पनि प्रकाशित गरेका छन् । देशमा नैतिकतालाई पुनर्स्थापित गर्नको लागि ख्रीष्टको शिक्षा नै साँचो हो भनी तिनले वकालत गरेका छन् । ८८ वर्षको दीर्घायुमा १९९० मा माल्कोम आफ्नो स्थायी घरमा प्रवेश गरेका थिए ।