क्रिकेटको दुनियाँमा पृथक् पहिचान बनाउन सफल व्यक्ति हुन्, बिनोद कम्ब्ली । केवल १४ इनिङ्ग्समा १,००० रन बनाउन सफल तिनी बायाँ-हाते ब्याट्सम्यान हुन् । सबैभन्दा थोरै इनिङ्ग्समा यति धेरै रन बनाउने भारतीय क्रिकेटर बनी तिनले इतिहास रचेका छन् । गरिब परिवारमा जन्मेका भारतका साबिक क्रिकेटर बिनोदले भारतको लागि मात्र नभएर दक्षिण अफ्रिकाको लागि पनि खेलेका छन् । वान डे इन्टरनेसनल क्रिकेटमा आफ्नो जन्मदिनमा नै सेन्चुरी हान्ने प्रथम व्यक्ति बनी तिनले अर्को इतिहास पनि रचे । क्रिकेटका विशेषज्ञ र टिप्पणीकारणको रूपमा विभिन्न टेलिभिजन च्यानलहरूमा देखा परिसकेका बिनोद तीनवटा बलिउड फिल्ममा नायकको भूमिकामा पनि देखा परिसकेका छन् । तिनले २०११ मा क्रिकेट जगत्बाट सन्यास लिए ।
जिम्बाब्बे र भारतबिच खेलिएको वान डे इन्टरनेसनल (ओडीआई) क्रिकेटमा बिनोद म्यान अफ द म्याच घोषित भएका थिए । आफ्नो ओडीआई क्रिकेट जीवनमा तिनले जम्माजम्मी पाँच पटक यो इनाम हात पारेका छन् । २००९ मा बिनोदले खेल भर्ती स्पोर्टस एकाडेमीको थालनी गरे जसमा तिनले कोचको भूमिका निर्वाह गर्ने इच्छा व्यक्त गरे ।
ख्रिस्टाब्द १९७२ मा भारतमा जन्मेका बिनोद क्रिकेटका अनुरागी थिए । बिनोद विख्यात ब्याट्सम्यान सचिन तेन्डुलकरका बाल्यावस्थाका मित्र हुन् । सेन्ट जेभियर्स स्कुलको विरुद्धमा स्कुलको क्रिकेट म्याच खेल्दा तिनले सचिनसँग मिलेर ६६४ रनको साझेदारी गरेका थिए जसमा तिनले ३४९ रनको योगदान दिए ।
हिन्दु धर्ममा जन्मेका बिनोद ३९ वर्षको उमेरमा २०१० मा ख्रीष्टियान बनेका हुन् । आफ्नो पुरानो धर्मलाई त्यागेर ख्रीष्टियान विश्वासलाई अङ्गाल्ने भारतका परिचित व्यक्तिहरूमध्ये तिनी पछिल्ला सेलिब्रेटी हुन् । पिता बनेपछि बिनोदले टिप्पणी गरेका थिए, “यो मेरो जीवनको सर्वोत्तम पक्ष हो । मेरो छोरोले मेरो जीवनमा खुसीको वर्षा ल्याएको छ । मलाई हाम्रो घरमा प्रभु येशू ख्रीष्ट नै आउनुभएको जस्तो लागेको छ । त्यसैले मैले यिनको नाउँ जिजस क्रिस्टियानो राखेको हुँ ।” बिनोदको भनाइअनुसार तिनको जीवनका चारवटा खम्बा यस प्रकार छन्: प्रभु येशू, तिनकी पत्नी अन्द्रिया, छोरो जिजस क्रिस्टियानो र क्रिकेट ।