नासाका वैज्ञानिकहरूले अन्तरिक्षमा बाइबलको वचन पाठ गरे

२४ डिसेम्बर १९६८ मा एउटा गजबको इतिहास रचिएको थियो । त्यस दिन चन्द्रमालाई फन्को मार्ने क्रममा नासाका तीन जना अन्तरिक्ष यात्रीले अन्तरिक्षमा नै पालैपालो बाइबलको वचन (उत्पत्ति १:१-१०) पढेका थिए । तिनीहरू अप्पोल्लो ८ नाम दिइएको अन्तरिक्ष यात्रामा थिए । ६ दिन ३ घण्टा ४२ मिनेट अन्तरिक्षमा बिताई अन्तरिक्ष यात्रीत्रय बिल एन्डर्स, जिम लोभेल र फ्र्याङ्क बोरम्यान सकुशल पृथ्वीमा फर्के । पृथ्वीको कक्षलाई छाड्ने, पृथ्वीको एक मात्र उपग्रह चन्द्रमामा पुग्‍ने अनि यसलाई फन्को मारी सकुशल पृथ्वीको धरातलमा फर्कनमा तिनीहरूले इतिहास रचेका थिए ।

त्यो दिन ख्रिस्टमस सन्ध्या थियो । तीन जना सदस्यले चन्द्रमालाई फन्को मार्दै थिए । प्रत्यक्ष प्रसारण गरिएको त्यस दृश्यले संसारको ध्यान खिँचेको थियो । त्यस बेला यो टेलिभिजनमार्फत सबैभन्दा बेसी दर्शकद्वारा प्रत्यक्ष हेरिएको दृश्य थियो । अन्तरिक्ष यात्रीहरूले आआफ्नो परिचय दिएपछि एक जनाले भने, “अब हामी चन्द्रोदयतर्फ नजिकिँदै छौँ र पृथ्वीमा भएका सबै मानिसका लागि अपोल्लो ८ का सदस्यहरूसित तपार्इंहरूलाई पठाउने एउटा सन्देश छ ।”

त्यसपछि तीन जना अन्तरिक्ष यात्रीले उत्पत्ति १ अध्यायका अगिल्ला १० ओटा पदलाई पालैपालो पढे । सुरुमा बिल एन्डर्सले पदहरू १-४ सम्मका वचनहरू पढे, “आदिमा परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो । पृथ्‍वी आकारविनाको र शून्‍य थियो । अथाह समुद्रमाथि अन्‍धकार थियो, र परमेश्‍वरका आत्‍मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्‍थ्‍यो । अनि परमेश्‍वरले भन्‍नुभयो, ‘उज्‍यालो होस्‌ ।’ तब उज्‍यालो भयो । अनि परमेश्‍वरले उज्‍यालोलाई हेर्नुभयो, त्‍यो असल थियो । उहाँले उज्‍यालो र अँध्‍यारोलाई अलग-अलग गर्नुभयो ।”

तिनलाई पछ्याउँदै जिम लोभेलले ५-८ सम्मका वचनहरू पढे, “परमेश्‍वरले उज्‍यालोलाई ‘दिन’ र अँध्‍यारोलाई ‘रात’ भन्‍नुभयो । साँझ पर्‍यो र बिहान भयो— पहिलो दिन । अनि परमेश्‍वरले भन्‍नुभयो, ‘पानीका बीचमा एक क्षेत्र होस्‌, र त्‍यसले पानीलाई दुई भाग गरोस्‌ ।’ परमेश्‍वरले सो बनाएर क्षेत्रमुनिको र माथिको पानीलाई अलग-अलग गर्नुभयो । तब त्‍यस्‍तै भइहाल्‍यो । परमेश्‍वरले यस अन्‍तरिक्षलाई आकाश भन्‍नुभयो । साँझ पर्‍यो र बिहान भयो— दोस्रो दिन ।” अन्त्यमा फ्र्याङ्क बोरम्यानले ९ र १० का वचनहरू पढी यसो भनेर टुङ्ग्याए, “अपोल्लो ८ का सदस्यहरूबाट हामी शुभरात्री, सौभाग्य, मेरी ख्रिस्टमस अनि सुन्दर पृथ्वीमा हुनुभएका तपाईंहरू सबैलाई परमेश्‍वरले आशिष् दिनुभएको होस् भनी टुङ्ग्याउँछौँ ।”

(नोटः यो आलेख कमल अधिकारीद्वारा लिखित इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह नामक पुस्तकबाट साभार गरिएको हो ।)
Facebook Comments

Powered by Youth Circle