उत्तर अफ्रिकामा विश्वासीहरूमाथि उग्र सतावट आउँदा फ्रेडरिक नोलान नाउँ गरेका विश्वासी आफ्ना शत्रुहरूबाट भाग्दै थिए । बेँसीहरूमा भागे तापनि शत्रुहरू तिनको पिछा गर्दै थिए । वैरीहरूले तिनलाई पहाडहरूमा पनि एकलै छाडेनन् । भाग्दा-भाग्दा थकाइले तिनी लखतरान भइसकेका थिए । अब भाग्नको लागि कुनै ठाउँ बाँकी रहेको थिएन । शत्रुहरूले फेला पारेर आफूलाई मारे पनि मारोस् भन्ने विचार राखेर तिनी नजिकैको एउटा गुफाभित्र प्रवेश गरे । मृत्युको प्रतीक्षा गर्दै तिनी भित्र बसिरहँदा गुफाको मुखमा एउटा माकुरो देखा पर्यो र त्यसले त्यहाँ जालो बुन्न सुरु गर्यो । केही मिनेटभित्रमा नै माकुरोले गुफाको मुखलाई जालोले ढाकिदियो ।
फ्रेडरिकलाई पछ्याउनेहरू तिनको खोजी गर्दै त्यही गुफाको मुखनेर आइपुगे । तिनले शत्रुहरूको कुराकानीलाई सुने । तर प्रवेशद्वारमा नै जालो देखेकाले गुफाभित्र कुनै मानिस हुन नसक्ने निष्कर्ष निकाले शत्रुहरूले । तिनीहरू अगाडि बढे र खोजीलाई जारी राखे । अवश्यम्भावी मृत्युबाट बाँचेपछि फ्रेडरिकले भने, “जहाँ परमेश्वर हुनुहुन्छ त्यहाँ माकुराको जालो पर्खालजस्तै हुन्छ । जहाँ परमेश्वर हुनुहुन्न त्यहाँ पर्खाल माकुराको जालोजस्तै हुन्छ ।”
परमेश्वरले आफ्ना जनलाई छुटकारा दिन माकुरोलाई पठाउनुभयो । बाइबलले भन्छ, “त्यसले मलाई प्रेम गरेको हुनाले, म त्यसलाई छुटाउनेछु । त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु । त्यसले मेरो पुकार गर्नेछ, र म त्यसलाई उत्तर दिनेछु । त्यसका दुःखको घडीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु, र आदर गर्नेछ” (भजनसंग्रह ९१:१४–१५) ।
Reasons to Believe KamalAdhikari.com.np 


