ख्रिस्टाब्द १८२६ मा इङ्गल्यान्डमा जन्मेका हेन्री मुरहाउस बिशपसाथै लेखक थिए । तिनी आफ्नो समयका परिचित वक्ता थिए । उन्नाइसौँ शताब्दीको आरम्भमा तिनी प्रचारको लागि अमेरिका जाने गर्थे ।
एक पटक मुरहाउस अस्तव्यस्त सहरबाट पैदल हिँड्दै थिए । एक जना ठिटोले पसलबाट माटोको सानो भाँडोमा दूध बोकेर ल्याइरहेको प्रचारकले देखे । त्यो ठिटो चिप्लियो; उसले हातमा समातेर ल्याइरहेको माटोको भाँडो फुट्यो; दूध छताछुल्ल भएर जमिनमा पोखियो । वक्ता दौडेर ठिटोकहाँ पुगे । ठिटोलाई चोट त लागेको थिएन, तर ऊ बेसरी डराएको देखिन्थ्यो । “अब आमाले मलाई कोर्रा लगाउनुहुन्छ” भन्दै ठिटो रुन थाल्यो । ऊ केहीबेर रोइरह्यो ।
ठिटोको अवस्था देखेर मुरहाउसको हृदयमा दया पलायो । त्यसैले तिनले ठिटोलाई उठाएर नजिकैको पसलमा लगे । तिनले ठिटोको लागि दूधसहितको नयाँ भाँडो किनिदिए । ठिटोलाई आफ्नो सामु उभ्याउँदै त्यो भावडो तिनको हातमा दिएर वक्ताले सोधे, “के अब पनि तिम्री आमाले तिमीलाई कोर्रा लगाउनुहुन्छ ?”
आँसुले लतपतिएको ठिटोको अनुहारमा मुस्कुराहट छाएको थियो । उसले जवाफ दियो, “लगाउनुहुन्न सर । किनकि हामीसित पहिलेको भन्दा झनै राम्रो भाँडो छ ।”
परमेश्वरले हामीलाई त्यसरी नै बचाउनुहुन्छ । शैतान र पापले लाखौँ टुक्रा पारिएको हाम्रो पुरानो जीवनमा परमेश्वरले टालटुल पार्ने काम मात्र गर्नुहुन्न । उहाँले हामीलाई नयाँ बनाउनुहुन्छ । हामी परमेश्वरका हातले बनाइएका शिल्प हौँ । “यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ” (२ कोरिन्थी ५:१७) ।