येशू अपोलोजिस्ट हुनुहुन्थ्यो

“येशू अपोलोजिस्ट हुनुहुन्थ्यो । आलोचनाको जवाफ दिन उहाँले तार्किक कारणको प्रयोग गर्नुभयो (उदाहरणको लागि, मत्ती २२:२३-३२) र उहाँ मसीह हुनुहुन्थ्यो भनी देखाउन उहाँले विविध साक्षीहरू पेस गर्नुभयो (यूहन्ना ५-८) । येशूले मानिसहरूलाई प्रेम गर्नुभयो; चङ्गाइ गर्नुभयो अनि परमेश्वरको राज्यको घोषणा गर्नुभयो । यसका अतिरिक्त, धर्मशास्त्रको सत्यताको रक्षा गर्नु र आफ्नो विश्वदृष्टिको समर्थनमा सकारात्मक साक्षी उपलब्ध गराउनु महत्त्वपूर्ण थियो भनी येशूले सोच्नुभयो ।” यो अ न्यु काइन्ड अफ अपोलोजिस्ट (नयाँ किसिमको रक्षाशास्त्री) नामक पुस्तकबाट साभार गरिएको अंश हो ।

१७ दिन (जनवरी १-१७) लगाएर मैले यो पुस्तक पढेर सकेँ । ख्रिस्टाब्द २०२० मा मैले पढ्ने पुस्तकहरूको सूचीमा यो पहिलो स्थानमा थियो । गत सालझैँ यो साल पनि २४ ओटा पुस्तक पढेर सिद्ध्याने मेरो लक्ष्य रहेको छ ।

ख्रीष्टियान विश्वासको बौद्धिक प्रस्तुतीकरणलाई अपोलोजेटिक्स (रक्षाशास्त्र) भनिन्छ र प्रस्तुत गर्ने व्यक्तिलाई अपोलोजिस्ट (नेपालीमा रक्षाशास्त्री) भनिन्छ । अ न्यु काइन्ड अफ अपोलोजिस्टअनुसार येशू पनि रक्षाशास्त्री हुनुहुन्थ्यो अर्थात् उहाँले तर्कसहित आफ्ना विचारहरू पेस गर्नुभयो । निस्सन्देह, येशू रक्षाशास्त्रीभन्दा बेसी हुनुहुन्थ्यो, तर उहाँ पक्कै त्योभन्दा कमचाहिँ हुनुहुन्थेन । पत्रुस, पावल र बाँकी प्रेरितहरूले पनि तिनीहरूको सेवाकार्यमा रक्षाशास्त्रको प्रयोग गरे (प्रेरित २:१४-४१) । मनग्गे मण्डली पिताहरू पनि यसमा आभुषित थिए । मण्डलीको उदयदेखि नै रक्षाशास्त्र मण्डलीको एउटा महत्त्वपूर्ण विषय बन्दै आएको छ । हाम्रो युगमा मात्र नभएर हाम्रो समाजमा पनि यसको टड्कारो खाँचो देखिन्छ ।

रक्षाशास्त्र केही विश्वासीलाई मात्र दिइने आत्मिक वरदान होइन, तर यो त त्यस्तो कुरो हो जसमा भाग लिन सबै विश्वासीलाई आज्ञा गरिएको छ (१ पत्रुस ३:१५) । विख्यात रक्षाशास्त्री सी. एस. लेविसले भनेझैँ प्रश्न हामी रक्षाशास्त्री हौँ कि होइनौँ भन्ने होइन, तर हामी कस्ता किसिमका रक्षाशास्त्री हुने छौँ भन्ने हो ।

सिन म्याकडोलद्वारा सम्पादित अ न्यु काइन्ड अफ अपोलोजिस्ट सङ्कलित कृति यो । ३ ओटा भागमा विभाजित यस कृतिमा २७ ओटा अध्याय छन् जसलाई विविध क्षेत्रका २७ जना लेखकले लेखेका छन् । भाग १ मा रक्षाशास्त्रको नयाँ पद्धतिको चर्चा गरिएको छ; भाग २ मा रक्षाशास्त्रका नयाँ विधिहरू उल्लेख गरिएका छन् भने भाग ३ मा रक्षाशास्त्रका नयाँ सवालहरूबारे सम्बोधन गरिएको छ । ३०४ पृष्ठ सङ्ख्याको यो पुस्तक २०१६ मा प्रकाशित भएको थियो ।

हामीले के भन्छौँ भन्ने कुरो मात्र महत्त्वपूर्ण नभएर कसरी भन्छौँ भन्ने कुरो पनि उत्तिकै महत्त्वपूर्ण छ । सत्यता अनुग्रहसँगसँगै जानुपर्छ । नयाँ किसिमको रक्षाशास्त्रीमा सत्यता र प्रेम दुवै हुनुपर्छ । हामीलाई ख्रीष्टियान सत्यताको घोषणा गर्ने मात्र नभएर त्यसैअनुसार जिउने ख्रीष्टियानहरूको खाँचो छ । सुसमाचारीय सन्देशको विषयवस्तु कहिल्यै परिवर्तन हुँदैन (गलती १:६-९), तर त्यसलाई प्रस्तुत गर्ने शैलीहरू भने परिवर्तन हुँदै जान्छन् र समयको मागअनुसार हामीले विधिहरू अवलम्बन गर्दै जानुपर्छ ।

पुस्तकअनुसार नयाँ किसिमको रक्षाशास्त्रीमा निम्न लिखित गुणहरू हुनुपर्छः

  • विनम्र

येशू परमेश्वरका पुत्र हुनुभए तापनि अरूहरूका खातिर उहाँले आफैलाई होच्च्याउनुभयो (फिलिप्पी २:५-७) । त्यो हाम्रा लागि एउटा उत्कृष्ट नमुना हो ।

  • सम्बन्धात्मक

विविध विश्वास भएका मानिसहरूसित सम्बन्ध निर्माण गर्नु अति आवश्यक छ । हामी जुनसुकै तहको भए तापनि हरेक व्यक्ति परमेश्वरको स्वरूपमा सृजित अनमोल प्राणी हो भनी भुल्नुहुँदैन ।

  • अध्ययनशील

अहिलेको पुस्ता अन्त्यहीन जानकारीलाई आफ्नो हातमा लिएर बाँचेको हुन्छ । तिनीहरूले सुनेका कुराहरू साँचा छन् कि छैनन् भनेर तिनीहरूले सजिलैसित जाँच गर्न सक्छन् । तपाईंद्वारा व्यक्त कुनै कुरो साँचो ठहरिएन भने तपाईंको विश्वसनीयता गुम्छ । तसर्थ कडा मेहनत गर्नुहोस् ।

  • अभ्यास गर्ने

यो पुस्ताले हाम्रो तर्क मात्र जाँच्दैन, तर हाम्रो जीवन पनि । हामीले घोषणा गर्ने सत्यतालाई हाम्रो जीवनयापनले प्रतिबिम्बित गर्नुपर्छ ।

मानवीय इतिहासमा बाइबल सबैभन्दा प्रभावशाली पुस्तक हो । यसले संस्कृति, साम्राज्य, राजनीति, कानुन, शिक्षा, स्वास्थ्य, साहित्य, मानवअधिकारजस्ता कुराहरूलाई आकार दिएको छ । अन्य कुनै पनि पुस्तकलाई भन्दा बाइबललाई सबैभन्दा धेरै भाषामा अनुवाद गरिएको छ र सारा इतिहासमा यो सबैभन्दा बढी बिक्री हुने पुस्तक हो । के संसारमा अत्यधिक रूपान्तरण ल्याउने विचारको प्रचार-प्रसारसाथै रक्षाको लागि तपाईं र म लागिरहनुपर्दैन र ?

Facebook Comments

Powered by Youth Circle