सबै पापी छन् भने अय्यूब कसरी निर्दोष भएका हुन सक्छन् (अय्यूब १:१) ?

अय्यूब निर्दोष थिए भनी प्रस्ट रूपमा लेखिएको छ, “ऊज देशमा अय्‍यूब नाउँ भएका एक जना मानिस बस्‍दथे । तिनी निर्दोष र सोझो जीवन बिताउँथे । तिनी परमेश्‍वरसँग डराउँथे र दुष्‍टताबाट अलग बस्‍थे” (अय्यूब १:१) । तर बाइबलले बताउँछ कि “धर्मी कोही छैन, एक जना पनि छैन” (रोमी ३:१०) र सबैले पाप गरेका छन्, ” किनकि सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमासम्‍म पुग्‍नबाट चुकेका छन्‌” (रोमी ३:२३) । सबै पापी छन् भने अय्यूब कसरी निर्दोष भएका हुन सक्छन् ?

अय्यूब अय्यूबको पुस्तकका मुख्य पात्र हुन् । तिनी सामान्य मानिस थिएनन् । तिनको चरित्र र आचरणको कारण तिनी अति नै प्रशंसनीय मानिस थिए । तिनी औधी धनी मात्र थिएनन् तर असल पनि थिए । तिनी ऊज भन्ने देशमा बस्थे ।

अय्यूब निर्दोष थिए तर पापरहित थिएनन् । यहाँ ‘निर्दोष’ (हिब्रूमा ताम) को अर्थ हुन्छ— पूर्ण । यसले साधारणतया सत्यनिष्ठा र आत्मिक परिपक्वताको बयान गर्छ । अय्यूबले पाप गर्दा तिनले आफ्नो पापलाई उचित किसिमले सम्बोधन गर्थे । यो नै तिनको निर्दोषताको साक्षी थियो । तर तिनी पापरहित थिएनन् । अय्यूबले भने, “मेरो निम्‍ति तपाईंले दण्‍ड तोकिदिनुभयो, मेरो युवावस्‍थाका दोष भोग्‍न लाउनुभयो” (अय्यूब १३:२६) । अर्को ठाउँमा पनि अय्यूबले आफ्ना पाप र अधर्मको उल्लेख गरेका छन् (अय्यूब १४:१६-१७) । तिनले पश्चात्ताप पनि गर्थे, “यसैकारण म आफूलाई तुच्‍छ ठान्‍छु, अनि धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्दछु” (अय्यूब ४२:६) ।

अय्यूब निर्दोष थिए तर पापरहित थिएनन् किनकि सबैले पाप गरेका छन् ।

Facebook Comments

Powered by Youth Circle