वृद्धको तर्कबाट प्रभावित भई दार्शनिक जस्टिनले येशूलाई अङ्गाले

एक दिन प्लेटोवादबाट प्रभावित जस्टिन नाउँका एक जना दार्शनिक एफिसस नजिकैको स्थानमा हिँड्दै थिए । एक जना वृद्ध मान्छे तिनको पछि आइरहेको देखे तिनले । तिनी एक्कासि पछाडि फर्केर ती अपरिचित पाको मान्छेलाई हेर्न थाले ।

“तपाईं मलाई किन एकटक लगाएर हेर्नुहुन्छ ?”, ती पाको मान्छेले सोधे ।

जस्टिनले जवाफ दिए, “यस्तो एकान्त स्थानमा तपाईंलाई देख्दा म छक्क परेको छु ।”

“म यहाँ मेरो एक जना नातेदारलाई खोज्न आएको हुँ । तर तपाईंचाहिँ किन आउनुभयो नि ?” वृद्धले जवाफ फर्काउँदै प्रतिप्रश्न गरे ।

“मेरो तर्कको अभ्यास गर्न” भन्ने जस्टिनको जवाफ सुनेपछि ती पाको मान्छेले पुनः प्रश्न गरे, “के दर्शनशास्त्रले कसैलाई खुसी दिन्छ र ?”

जस्टिनले “दिन्छ” भन्ने उत्तर दिए तापनि तिनको भावनमा निश्चयता झल्कँदैनथ्यो ।

“दर्शनशास्त्र र खुसी भनेको के हो ? मलाई बताउनुस् त”, ती वृद्धले जान्न चाहे ।

ती जवान दार्शनिकले परम्परागत जवाफ दिए, “दर्शनशास्त्र भनेको वास्तविकताको पूर्ण ज्ञान र सत्यताको प्रस्ट बोध हो । खुसी यस्तो ज्ञान र बुद्धिको इनाम हो ।”

“तपाईं परमेश्वरलाई कसरी परिभाषित गर्नुहुन्छ ?” ती बुढो मान्छेले सोधे ।

जस्टिनले जे सिकेका थिए त्यही उत्तर दिए, “सबै थोकको अपरिवर्तनशील कारण ।”

त्यसपछि वृद्धले प्रश्नहरू तेर्साए, “त्यसो भए जसले उहाँलाई देखेको छ उसबाट नसुनिकन के कसैले परमेश्वरलाई जान्न सक्छ त ? परमेश्वरलाई कहिल्यै नदेखेका दार्शनिकहरूले कसरी सही तवरले न्याय गर्न सक्छन् त ?”

प्लेटेको भनाइलाई उद्धृत गर्दै ती जवान मानिसले जवाफ दिए, “परमेश्वरलाई समझद्वारा मात्र जान्न सकिन्छ र समझ शुद्ध र राम्ररी तयार हुँदा मात्रै ।”

जस्टिनको जवाफबाट कत्ति पनि नआत्तिई ती वृद्ध मानिसले भने, “प्राचीन शिक्षकहरू छन् जसले ईश्वरीय प्रेरणा पाएर बोले र तिनीहरूले भविष्यको बारेमा बताए । तिनीहरूका भविष्यवाणी र आश्चर्यकर्महरूद्वारा तिनीहरूले आफैलाई प्रमाणित गरे ।”

त्यसपछि जस्टिनले उपहासपूर्ण ढङ्गमा एकटकले हेरे । तर तिनले कुनै जवाफ दिन भने सकेनन् ।

ती वृद्धले जारी राखे, “तपाईंका निम्ति ज्योतिका द्वारहरू खोल्न सकुन् भनी प्रार्थना गर्नुहोस् । परमेश्वर र उहाँका ख्रीष्टले बुद्धि दिनुभएका मानिसद्वारा मात्रै यी कुराहरू बुझ्न सकिन्छन् ।”

ती वृद्धको तर्कबाट प्रभावित भई जस्टिनले आफ्नो पुरानो धर्मलाई त्यागी आफ्नो जीवन येशू ख्रीष्टमा सुम्पे । अन्ततः ती जवान मानिस दोस्रो शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण रक्षाशास्त्रीको रूपमा खडा भए । ख्रीष्टियान विश्वासको पक्षमा लेखेका तिनका तीनवटा कैति अझै पनि सुरक्षित छन् । आफ्नो विश्वासको निम्ति सहिद बनेका सन्त जस्टिनलाई जस्टिन मार्टर भनेर चिनिन्छ ।

Facebook Comments

Powered by Youth Circle