अपोल्लो १५ एउटा मिसनको नाउँ हो जसअन्तर्गत अमेरिकाले मानवनिर्मित यानमार्फत चन्द्रमामा मानिसहरू उतारेको थियो । यो मिसन २६ जुलाई १९७१ सालमा सुरु भई उही सालको अगस्त ७ सम्म लम्बिएको थियो । मानिसहरूलाई चन्द्रमामा उतार्ने यो चौथो प्रयास थियो । नासाले यसलाई सर्वाधिक सफल मानवीय उडानको रूपमा लिएको थियो । ती दिनमा लाखौँ अमेरिकीका आँखा यही मिसनमा केन्द्रित थिए । कमान्डर डेभिड आर. स्कट र कप्तान जेम्स बी. इर्विनले चन्द्रमाको धरातलमा तीन दिन बिताएका थिए भने अर्का कप्तान अल्फ्रेड वुर्डेनले चन्द्रमाको कक्षमा चक्कर लगाएका थिए । १२ दिन ७ घण्टाको मिसन पूरा गरी तिनीहरू पृथ्वीमा अवतरण गरे ।
ती यात्रीहरूमध्ये जेम्स इर्विनले आफ्नो अनुभवलाई यसरी व्यक्त गरेका थिए, “मैले परमेश्वरको यस्तो शक्तिको अनुभूति गरेँ जुन मैले पहिले कहिल्यै गरेको थिइनँ ।” ख्रिस्टाब्द १९३० मा अमेरिकामा जन्मेका जेम्स अन्तरिक्षयात्री, इन्जिनियरसाथै कप्तान थिए । तिनी चन्द्रमाको धरातलमा पाइला टेक्ने आठौँ व्यक्ति बने । करिब १२ वर्षकै कलिलो उमेरमा तिनले आफ्नी आमालाई आफू चन्द्रमामा जाने इच्छा व्यक्त गरेका थिए । ६१ वर्षकै उमेरमा निधन भएका जेम्स यस धरतीबाट बिदा हुने अन्तरिक्षयात्रीहरूको सूचीमा सबैभन्दा कान्छा र प्रथम बने ।
पृथ्वीमा फर्किसकेपछि जेम्सले यस्तो प्रतिक्रिया दिए, “म फर्कंदै गर्दा मैले महसुस गरेँ कि म एक सेलिब्रेटी होइनँ, तर दास हुँ । अरूहरूले पनि परमेश्वरको महिमालाई जान्न सकुन् भन्ने उद्देश्यले मैले जे अनुभव गरेँ त्यो बाँड्न म यस पृथ्वीरुपि ग्रहमा परमेश्वरको दासको रूपमा खडा छु ।” पछि जेम्स “शान्तिका राजकुमारका लागि गुडविल राजदूत” बने । तिनको भनाइ थियो, “येशू पृथ्वीमा हिँड्नु मानिस चन्द्रमामा हिँड्नुभन्दा बढी महत्त्वपूर्ण छ ।” अन्तरिक्षमा तिनले बटुलेका अनुभवहरूले तिनको लागि परमेश्वर अझै वास्तविक बनेको थियो भनी तिनले व्यक्त गरे ।
दाऊदले तीन सहस्राब्दी अगि लेखेका थिए, “आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ । र तारा-मण्डलले उहाँका हातको सीपको घोषणा गर्छ” (भजनसंग्रह १९:१) । आकाशमा छरपस्ट परमेश्वरको महिमालाई हामी पढेर जान्दछौँ भने जेम्स इर्विनजस्ता अन्तरिक्ष यात्रीले देखेर जाने ।
(नोटः यो लेख कमल अधिकारीद्वारा लिखित इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह नामक पुस्तकबाट साभार गरिएको हो ।)