जुड विलहिट— ड्रग्सको दलदलबाट मण्डलीको पास्टरमा रूपान्तरण

भनिन्छ, ड्रग्सको लतमा फसेकाहरू सजिलैसित त्यस पासोबाट उम्कन सक्दैनन् । त्यस्तै भयो जुड विलहिटको जीवनमा ।

१२ वर्षको कलिलै उमेरमा जुड ड्रग्सको सम्पर्कमा आए जुन बेला तिनी स्कुलका विद्यार्थी थिए । त्यसको स्वादले तिनलाई त्यतै हराउन मन लाग्यो । दुर्व्यसनमा फसेकाहरूको गन्तव्य कि झ्यालखाना हुन्छ, कि मृत्यु कि त विक्षिप्तता । जुडकाअनुसार त्यसबाट मुक्ति पाइएन भने यी तीनमध्ये एउटा खाडलमा अवश्य पुग्नुपर्छ । लाग्थ्यो, तिनी मृत्युको खाडलतर्फ लम्कँदै थिए ।

त्यस दिन जुडले अधिक मात्रामा ड्रग्स सेवन गरे । तिनको होस जाने र आउने भएको थियो । तिनले बेला बेलामा बान्ता गरे । थकाइले लखतरान महसुस गरेका जुड आफ्नो अँध्यारो कोठाको भुइँमा लम्पसार परेका थिए । जीवनमा पहिलो पटक तिनी ड्रग्सको लतबाट मुक्त हुन चाहन्थे ।

सुध्रने हरेक मौका मिलेको थियो जुडलाई । तिनले यस्तो परिवार पाएका थिए जसले तिनलाई माया गर्थ्यो । तर पापले तिनलाई ठगिसकेको थियो । अब कुनै उपाय नलागेपछि तिनले परमेश्वरलाई पुकारे । आफ्नो शयनकक्षमा घुँडा टेकी तिनले भने, “हे परमेश्वर, मलाई मदत गर्नुहोस् । म पत्यानै नसक्ने गरी हराएको छ । मलाई तपाईंको खाँचो छ ।” प्रार्थना गर्दा तिनले कुनै आवाज सुनेनन् न त तिनले कुनै स्वर्गदूतलाई देखे । तर एउटा कुरो भने पक्का थियो— तिनले तिमीलाई घरमा स्वागत् छ भन्ने अनुभूति गरेका थिए ।

परमेश्वरको अनुग्रहको महसुस गरेपछि जुडले ड्रग्सको दलदलबाट पार पाउन खोजे । तिनले केही जवान मानिसहरूलाई भेटे जो हरेक हप्ता बाइबल अध्ययनको लागि जम्मा हुन्थे । ख्रीष्टियानहरूको यही सानो झुन्डमार्फत तिनले येशूलाई पाए ।

यस्तो कुनै ठाउँ छैन जहाँ परमेश्वरको अनुग्रह पुग्न सक्दैन भन्ने बाइबलको यथार्थता जुडको जीवनमा चरितार्थ हुन पुग्यो । परमेश्वरले तिनलाई आफ्नो सन्तान बनाउनुभयो । जुड र तिनकी पत्नी लोरीलाई परमेश्वरले दुई सन्तान दिनुभएको छ । आज जुडले पास्टरसाथै लेखकको रूपमा प्रभुको सेवा गरिरहेका छन् । तिनी अमेरिकाको नेभाडा नामक राज्यमा अवस्थित सेन्ट्रल क्रिस्चियन चर्चका वरिष्ठ पास्टर हुन् । तिनको सेवाद्वारा हजारौँ मानिसले प्रभु येशूलाई चिन्ने मौका पाएका छन् ।

यसरी, ड्रग्सको सागरबाट उत्रेका जुड आज अमेरिकाको प्रतिष्ठित मण्डलीको पास्टर भएका छन् ।

Facebook Comments

Powered by Youth Circle