येशूको पछि म हिँड्न लागेँ
दुनियाँलाई त्यागी क्रूस नै बोकी ।
येशूको पछि म हिँड्न लागेँ
(फर्कंदिनँ, फर्कंदिनँ ।) २
ख्रीष्टीय भजनको ३७६ नम्बरको पहिलो श्लोक हो यो । यो हाम्रो छिमेकी मुलुक भारतबाट व्युत्पन्न भएको ख्रीष्टियान भजन हो । भारतको उत्तर-पूर्वमा पर्ने आसाम नामक राज्यमा बस्ने एउटा मानिसको मुखबाट निस्केका आखिरी शब्दहरूमा आधारित रहेर यस भजनको रचना गरिएको हो ।
हिन्दु धर्मको बाक्लो उपस्थिति रहेको भारतको उत्तर-पूर्वी राज्यहरूमा उन्नाइसौँ शताब्दीको मध्यतिर सुसमाचार सुनाउन सजिलो थिएन । एकातिर हिन्दुहरूले जात प्रथालाई मान्थे भने अर्कोतिर त्यहाँका आदिवासीहरूले मान्छेका टाउका गेड्थे । ती भूमिहरूमा सुसमाचारको खातिर दर्जनौँ मिसनरी सहिद भएका छन् ।
एक जना युरोपेली मिसनरीको प्रयासद्वारा बल्लबल्ल आसामको अत्यन्तै क्रुर गाउँको एउटा परिवारले येशूमाथि विश्वास गर्यो । पति, पत्नी र दुई छोराले येशूलाई अङ्गालेपछि बप्तिस्मा लिए । तर गाउँले प्रमुखले तिनीहरूलाई आआफ्नो विश्वास त्याग गर्न जबरजस्ती गरे । पति आफ्नो नयाँ विश्वासमा दृढ रहे र तिनले जवाफ दिए, “मैले येशूलाई पछ्याउने निर्णय लिएको छु ।” त्यसपछि तुरुन्तै तिनका दुई छोराको हत्या गरियो । तिनलाई विश्वास त्याग गर्ने अर्को मौका दिइयो, तर तिनले मानेनन् । भनिन्छ, तिनले यस्तो प्रतिक्रिया दिएका थिए, “संसार मेरो पछि हुन सक्छ तर क्रूस अझै मेरो अगि छ ।” त्यसपछि तिनकी पत्नीलाई पनि मारियो । “यहाँ मसँगै जाने कोही नभए तापनि म अझै येशूलाई पछ्याउने छु” भनेर गाइरहँदा तिनलाई मृत्युदण्ड दिइएको थियो ।
मिसनरीको भनाइअनुसार तिनी पछि त्यस गाउँमा जाँदा त्यहाँ जागृति आएको थियो । उक्त परिवारलाई मार्ने गाउँले प्रमुखसहित अन्यहरूले येशूमाथि विश्वास गरेका थिए । मिसनरीले भारतका परिचित सुसमाचार प्रचारक साधु सुन्दर सिंहलाई यो खबर बताए । सिंहले ती सहिदको मुखबाट निस्केका आखिरी वचनहरूलाई थपघट गरी भजनमा ढाले । यस भजनले भारतीय भूमिमा तुरुन्तै लोकप्रियता कमायो । विश्वविख्यात प्रचारक बिल्ली ग्राहमका सुसमाचारीय सभाहरूमा यस भजनले नियमित ठाउँ पाएपछि यसको लोकप्रियता ह्वात्तै बढेको थियो ।
सत्रौँ शताब्दीमा पहिलो पटक ख्रीष्टियान मिसनरीहरूले पाइला टेकेका आसाममा आज ख्रिस्टियमत तेस्रो ठुलो धर्म भएको छ । ख्रिस्टाब्द २०११ को तथ्याङ्कअनुसार यस राज्यमा ३.७४% अर्थात् ११ लाखभन्दा बेसी ख्रीष्टियान छन् । “सहिदहरूको रगत मण्डलीको बिउ हो ।” दोस्रो-तेस्रो शताब्दीका प्रभावशाली लेखक तर्तुलियनद्वारा व्यक्त यो भनाइ आसामको भूमिमा कति साँचो साबित भयो!