१. अबको ३ दिनपछि हामी नयाँ वर्ष २०२१ मा प्रवेश गर्ने छौँ । हामी नयाँ वर्षमा प्रवेश गरिरहँदा यो पात्रोबारे जानकारी लिनु मुनासिब नै हुन्छ । संसारमा प्रयोगमा आएका विभिन्न थरीका पात्रोहरूमध्ये सबैभन्दा व्यापक रूपमा प्रयोग गरिएको पात्रोको नाउँ हो– ग्रेगोरी पात्रो । यो पात्रोअनुसार अहिले हामी २०२० मा छौँ भने अबको केही दिनमा २०२१ मा प्रवेश गर्ने छौँ ।
२. पोप ग्रेगोरी तेर्हौँ (ख्रिस्टाब्द १५०२-१५८५) को नाउँमा राखिएको यस पात्रोलाई औपचारिक रूपमा २४ फेब्रुअरी १५८२ मा परिचित गराइएको थियो । तर औपचारिक परिवर्तन भने त्यही सालको अक्टोबर महिनामा भएको थियो जसमा ४ अक्टोबर (बिहिबार) पछि १५ अक्टोबर (शुक्रबार) आएको थियो । यो पात्रोको परिचयकर्ताको रूपमा ग्रेगोरी दुनियाँमा प्रसिद्ध छन् । यो पात्रोका प्रथम प्रस्तावकचाहिँ अलोसिस लिलिअस थिए जो सोर्हौँ शताब्दीका खगोलविद्साथै दार्शनिक थिए ।
३. हरेक मुलुकले तुरुन्तै यस नयाँ पात्रोलाई प्रयोग गर्न थालेन । स्पेन, पोर्चुगलसाथै इटालीजस्ता मुलुकहरूले यसलाई तत्काल अवलम्बन गरे । ब्रिटिस साम्राज्यले १७५२ मा आएर यसको प्रयोग गर्न थालेको थियो भने जापानले १८७३ मा । केही पूर्वीय अर्थोडक्स मण्डलीहरूले १९२३ मा यसलाई स्वीकार गरे । यसरी सुरु-सुरुमा कतिपय मुलुकहरूले यो नयाँ पात्रोलाई स्वीकार गर्न आनाकानी गरे तापनि यो अहिले विश्वव्यापी पात्रो बनेको छ । संसारको प्रायः भूभागमा प्रयोग गरिने यो पात्रो विशुद्ध सौर्य पात्रो हो ।
४. ग्रेगोरी पात्रोले जुलिएन पात्रोलाई विस्थापित गरिदियो किनकि जुलिएन पात्रोमा भुल थियो । जुलिएन पात्रोलाई राजनीतिज्ञ जुलिएस कैसरले ४६ ख्रिस्टपूर्वमा प्रस्ताव गरेका थिए । त्यसको एक वर्षपछि अर्थात् ४५ ख्रिस्टपूर्वमा चलनमा आएको यो पात्रोलाई रोमी साम्राज्यसाथै युरोपका अधिकांश भूभागमा प्रयोग गरिन्थ्यो । जुलिएन पात्रोमा एक वर्षको अवधि ठिक ३६५ दिन ६ घण्टा हुन्थ्यो जब कि पृथ्वीले सूर्यलाई एक फन्को मार्न ठ्याक्कै ३६५ दिन ५ घण्टा ४९ मिनेट लगाउँछ । हरेक वर्ष करिब ११ मिनेटको भिन्नता देखा पर्यो । वर्षैपिच्छे ११ मिनेटको भिन्नताले अन्ततः कामकाजमा ठुलै प्रभाव पारेको देखियो । त्यसैले नयाँ पात्रोको आवश्यकता परेको थियो । फलस्वरूप ग्रेगोरी पात्रोको उदय भयो ।
५. ग्रेगोरी पात्रोअनुसार एक वर्षको वास्तविक अवधि ३६५.२४२२ दिन अर्थात् ३६५ दिन ५ घण्टा ४९ मिनेटको हुन्छ । यस पात्रोमा एक वर्षलाई १२ महिनामा विभाजन गरिएको छ । फेब्रुअरी महिना २८ दिनको हुन्छ, तर अधिक वर्षमा भने २९ दिनको हुन्छ । अप्रिल, जुन, सेप्टेम्बर र नोभेम्बरमा ३०/३० दिन हुन्छ । बाँकी सातवटा महिना अर्थात् जनवरी, मार्च, मे, जुलाई, अगस्त, अक्टोबर र डिसेम्बरमा चाहिँ ३१/३१ दिन हुन्छ । यसरी यो पात्रोका महिनाहरू २८-३१ दिनका हुन्छन् । यस पात्रोमा १ जनवरीमा नयाँ वर्षको सुरु हुन्छ ।
६. नेपालको औपचारिक पात्रोचाहिँ विक्रम संवत् हो । यो पात्रोअनुसार अहिले हामी २०७७ सालमा छौँ । यो पात्रो ग्रेगोरी पात्रोभन्दा करिब ५६ वर्ष ८ महिना अगाडि छ । नेपाली पात्रो पनि भनेर चिनिने यो पात्रो चन्द्र पात्रो हो । यसमा १२ महिना हुन्छ र नयाँ वर्ष वैशाख १ (अप्रिलको बिचतिर) बाट सुरु हुन्छ । ग्रेगोरी पात्रोमा जस्तै कुन-कुन महिनामा कति-कति दिन हुन्छ भनेर यसमा पहिले नै भन्न सकिँदैन । महिनाहरूको अवधि वर्षैपिच्छे फरक हुन्छ । यो पात्रोका महिनाहरू २९-३२ दिनका हुन्छन् । यसलाई मूलतः नेपाल र भारतमा प्रयोग गरिन्छ ।
७. ग्रेगोरी पात्रोले वर्षको गणनाको लागि जुन पद्धतिलाई अपनाउँछ, त्योचाहिँ ख्रिस्टियमतका संस्थापक येशूसित जोडिएको छ । उहाँको जन्मभन्दा अगिको समयलाई ख्रिस्टपूर्व भनिन्छ भने उहाँको आगमनपछिको समयलाई ख्रिस्टाब्द भनिन्छ । ख्रिस्टपूर्व अङ्ग्रेजी Before Christ को अनुवाद हो जसलाई छोटकरीमा B. C. भनिन्छ । उहाँको जन्मपछिको समयलाई उल्लेख गर्न ल्याटिन पदावली Anno Domini (छोटकरीमा A. D.) को प्रयोग गरिन्छ जसलाई प्रायश: “हाम्रा प्रभुको वर्षमा” भनेर अनुवाद गरिन्छ । उहाँको आगमानपछिको समयलाई उल्लेख गर्न नेपालीमा प्रयोग गरिने एउटा शब्द हो, ख्रिस्टाब्द । उहाँको जन्म अर्थात् देहधारणले समयलाई रूपान्तरण गरिदियो । मितिको गणनाको लागि सारा संसारले यही पद्धतिलाई पछ्याइरहेको छ । यो अहिले अन्तर्राष्ट्रिय मानक बनेको छ । हाम्रो देश नेपालमा पनि यस पात्रोको प्रयोग गर्ने मानिसहरूको सङ्ख्या उल्लेखनीय छ । येशू ख्रीष्ट यति प्रभावशाली हुनुहुन्छ कि उहाँको आगमनले पात्रोलाई दुई भागमा विभाजन गरिदियो ।