आफैलाई घृणा गर्ने शत्रुलाई मृत्युदण्ड हुनबाट जोगाए पास्टर पिटरले

अमेरिकी क्रान्ति (ख्रिस्टाब्द १७७५-१७८३) को समयमा पेन्सलभेनियामा पिटर मिलर नाउँ गरेका पास्टर बस्थे । तिनको समुदायमा हरेक व्यक्तिले तिनको आदर गर्थ्यो र तिनलाई माया गर्थ्यो तर तिनको मण्डली नजिकै एक जना मान्छे बस्थ्यो जसले तिनलाई घृणा गर्थ्यो । परमेश्वरका सेवकलाई गर्ने दुर्व्यवहारको कारण उसले कुख्याती कमाएको थियो । उसले मण्डलीलाई मात्र घृणा गर्दैनथ्यो तर पछि थाहा हुन आयो कि त्यो त राष्ट्रघाती पनि रहेछ । ऊ देशद्रोहमा दोषी ठहरियो अनि उसलाई मृत्युदण्ड तोकियो ।

उसको मुद्दाको बहस फिलाडेल्फियामा भएको थियो । पास्टर मिलरले यस विषयमा सुन्नेबित्तिकै तिनी सेनापति वासिङ्गटनलाई भेट्न पैदलै हिँडेर गए । पास्टरले वासिङ्गटनलाई उक्त मानिसलाई क्षमा दिइओस् भनी बिन्ती गरे । तर वासिङ्गटनले भने, “तपाईंको मित्रको निम्ति तपाईंले गर्नुभएको बिन्तीलाई म स्वीकार गर्न सक्दिनँ । मलाई माफ गर्नुहोस् ।”

“मित्र!” मिलर चिच्च्याए, “त्यो मान्छे त संसारभरिमा नै मेरो सबैभन्दा खराब शत्रु हो ।”

“के भन्नुभएको ?” छक्क पर्दै सेनापतिले भने, “शत्रुको जीवन बचाउनका लागि तपाईं साठी माइल हिँडेर आउनुभएको ? त्यो त निकै अनौठो कुरो हो त । तपाईंको खातिर म उसलाई क्षमा दिने छु ।”

सेनापति वासिङ्गटनले क्षमापत्रमा हस्ताक्षर गरे । त्यही दिन दिउँसो जुन ठाउँमा अभियुक्तलाई आत्महत्या दिइने तालिका मिलाइएको थियो, मिलर पैदलै १५ माइल हिँडेर त्यहाँ पुगे । अपराधीलाई मञ्चमा लगिरहँदा मिलर हस्याङफस्याङ गर्दै आएको देखेर उसले भन्यो, “ती बुढा पिटर मिलर हुन् । आज मलाई झुण्ड्याइएको हेरेर सन्तुष्ट हुन तिनी एफ्रातादेखि हिँडेर आएका छन् ।” तर जब पास्टर मिलरले क्षमापत्र झिकेर उसलाई दियो, ऊ मौन भइरह्यो ।

“आफ्‍ना शत्रुहरूलाई प्रेम गर” (मत्ती ५:४४) भन्ने येशूको शिक्षालाई कैयौँले वास्तवमै आफ्नो जीवनमा उतारेका छन् जसमध्ये एक थिए, पास्टर मिलर ।

Facebook Comments

Powered by Youth Circle