ख्रिस्टमसबारे ७ ओटा सामान्य प्रश्नका सामान्य जवाफहरू

१. ख्रिस्टमस भनेको के हो ?

ख्रिस्टमस जिजस क्राइस्ट अर्थात् येशू ख्रीष्टको जन्मको सम्झनामा मनाइने वार्षिक पर्व हो जुन डिसेम्बर २५ अर्थात् पौष १० गते मनाइन्छ । यो मूलत: ख्रीष्टियानहरूको बडादिन भए तापनि संसारका ख्रीष्टियानसाथै गैरख्रिस्टियान दुवै थरीका अरबौँ मानिस उहाँको जन्मोत्सवमा रमाउँछन् । आज यो संसारकै उत्सव बनेको छ ।

२. येशू ख्रीष्ट को हुनुहुन्छ ?

येशू ख्रीष्ट ख्रिस्टियमतका संस्थापक हुनुहुन्छ । ख्रिस्टियमत हाल संसारको सबैभन्दा ठुलो धर्म (वा मार्ग) हो । एउटा स्रोतअनुसार संसारमा ख्रीष्टियानहरूको जनसङ्ख्या २ अरब २२ करोड (अर्थात् ३२%) रहेको छ । येशू करिब ४ ख्रिस्टपूर्वमा जन्मनुभएको थियो । उहाँ लगभग ३३ वर्ष यस मानवीय चोलामा जिउनुभए तापनि केवल साढे तीन वर्ष सक्रिय रहनुभयो । तथापि यही सङ्क्षिप्त अवधिमा उहाँले जे-जति गर्नुभयो र सिकाउनुभयो त्यसले मानव-जातिको पछिल्लो इतिहासमा विस्मयकारी रूपान्तरण ल्याइदियो ।

३. कहिलेदेखि ख्रिस्टमस मनाउन थालियो ?

२५ डिसेम्बरलाई येशूको जन्मदिनको रूपमा चिनाउने प्रथम व्यक्ति हिप्पोलाइटसजस्तो देखिन्छ । तिनी दोस्रो-तेस्रो शताब्दीका अति नै महत्त्वपूर्ण ईश्वरशास्त्री थिए । ख्रिस्टाब्द २०४ मा लिखित तिनको पुस्तकको एउटा खण्डमा येशूको जन्म २५ डिसेम्बर भएको थियो भनी व्यक्त गरिएको छ । रोममा २५ डिसेम्बर ३३६ मा पहिलो पटक ख्रिस्टमस मनाइएको अभिलेख पाइन्छ । ख्रिस्टाब्द ३५० तिर पोप जुलियस प्रथमले २५ डिसेम्बरमा नै ख्रीष्टको जन्मोत्सव मनाइनुपर्छ भनी घोषणा गरे । यसरी, यी सबै अभिलेखलाई विश्लेषण गर्दा चौथो शताब्दीदेखि ख्रिस्टमस मनाउन थालिएको प्रस्ट छ ।

४. बाइबलले ख्रिस्टमसको बारेमा के बताउँछ ?

येशूका दुई जना प्रारम्भिक जीवनीकारद्वय मत्ती र लूकाले उहाँको जन्मबारे सबिस्तार वर्णनहरू उपलब्ध गराए तापनि ‘ख्रिस्टमस’ को विषयमा भने बाइबल मौन छ । एकातिर ख्रिस्टमस बाइबलीय भन्दा पनि ऐतिहासिक विषय हो भने अर्कोतिर येशूको जन्मचाहिँ बाइबलीय विषय हो । समयको मार्गमा मण्डलीले मनग्गे विषयहरूलाई भित्र्याएको छ जसमध्ये एउटा हो, ख्रिस्टमस । मण्डलीमा ख्रिस्टमसको स्वीकार बाइबलले दिएको स्वतन्त्रताको उपज हो ।

५. के हामीले ख्रिस्टमस मनाउन मिल्छ ?

मिल्छ । बाइबलमा ‘ख्रिस्टमस मनाओ’ भनेर नलेखिएकोले हामीले ख्रिस्टमस मनाउनुहुँदैन भनी तर्क गरिए तापनि यो तर्कमा तौल छैन किनकि बाइबल मौन रहेका अन्य थुप्रै विषयहरूलाई हामी ख्रीष्टियानहरूले अभ्यास गर्दै आएका छौँ । बुधबारको प्रार्थना सङ्गति, मण्डली भवन, ख्रीष्टियान पत्रपत्रिकालाई उदाहरणको रूपमा लिन सकिन्छ । हामी ख्रिस्टमसका सकारात्मक पक्षहरूलाई निर्धक्कसँग परमेश्वरको महिमाको लागि प्रयोग गर्न सक्छौँ । येशू संसारका मुक्तिदाता हुनुहुन्छ भन्ने सत्यताको घोषणा गर्न ख्रिस्टमसको अवसरलाई सदुपयोग किन नगर्ने ? यति भन्दाभन्दै पनि ख्रिस्टमस मनाउने वा नमनाउने भन्ने कुरो व्यक्तिको स्वतन्त्रताको विषय हो भनी हामीले भुल्नुहुँदैन ।

६. ख्रिस्टमस कसरी मनाउने ?

‍इतिहासमा ख्रिस्टमसको आगमनसँगै विविध परम्पराहरू थपिँदै आएका छन् । संसारका विभिन्न भूभागमा विविध तरिकाले ख्रिस्टमस मनाइन्छ । नेपाली ख्रीष्टियानहरूले पनि त्यस्ता परम्पराहरूलाई नक्कल गर्दै आएका छन् । हिजोआज त फेसबुकलगायतका सामाजिक सञ्जालहरूमा ख्रिस्टमस ‘विस’ गरेर ख्रिस्टमस मनाउने चलन पनि बढ्दो छ । उपहार साटासाट गर्ने चलन, ख्रिस्टमस ट्री, ख्रिस्टमस कार्ड, क्यारल, झिलिमिलि पार्ने बत्ती, सान्ता क्लज आदि ख्रिस्टमससित जोडिएका परम्पराहरू हुन् । झिलिमिलि पार्ने बत्तीले ख्रीष्ट संसारको ज्योति हुनुहुन्छ भनी याद दिलाउँछ । ख्रिस्टमस वृक्षको टुप्पोमा तारा राखिन्छ जसले बेथलेहेमको ताराको सम्झना दिलाउँछ । ख्रिस्टमसको अवसरमा उपहारहरू साटासाट गरिन्छन् जसले हामीलाई बुद्धिमान् मानिसहरूद्वारा येशूलाई चढाइएका उपहारहरूको मात्र याद दिलाउँदैन, तर येशू स्वयम् नै परमेश्वरका महान्‌तम उपहार हुनुहुन्छ भनेर पनि स्मरण दिलाउँछ ।

७. ख्रिस्टमसको अवसरमा तपाईं के भन्न चाहनुहुन्छ ?

येशू ख्रीष्ट ख्रिस्टमसको केन्द्रिय पात्र हुनुहुन्छ भनेर हामीले कदापि भुल्नुहुँदैन । उहाँविनाको ख्रिस्टमस अकल्पनीय छ । उहाँलाई केन्द्रमा राखेर हामी पनि गाउँदै, नाच्दै, खाँदै खुसी साँटासाँट गरौँ । यो महोत्सवलाई उहाँको नाउँको घोषणा गर्ने अवसरको रूपमा सदुपयोग गरौँ । उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भनेर चिनाऔँ । जसरी उहाँको शिक्षालाई ग्रहण गर्दा संसारका मनग्गे समाजहरूमा रूपान्तरण आएको छ, त्यसै गरी हामीले पनि उहाँ र उहाँको शिक्षालाई स्वीकार गर्‍यौँ भने हामी नेपालीहरूको समाजमा पनि पक्कै रूपान्तरण आउँछ ।

अन्त्यमा यो ख्रिस्टमसको उपलक्ष्यमा परमेश्वरले तपाईं र तपाईंको परिवारमा सुस्वास्थ्य, समृद्धि, सफलतासाथै खुसी दिनुभएको होस् भन्ने मेरो प्रार्थना छ ।

Facebook Comments

Powered by Youth Circle