आफ्नो ईश्वरत्वको लागि येशूका ७ ओटा दाबी

के येशूले आफूलाई परमेश्वरको रूपमा देख्नुभयो ? उहाँले आफूलाई जस्तो देख्नुभएको थियो हामीले पनि उहाँलाई त्यस्तै देख्नुपर्छ । म सातवटा साक्षी पेस गर्न चाहन्छु जसले उहाँको ईश्वरत्वको दाबीको पुष्टि गर्छन् ।

१. पिता र म एक हौँ (यूहन्ना १०:३०)

यहूदीहरूले येशूलाई प्रश्न गरे, “कहिलेसम्म तपाईं हामीलाई दोधारमा राख्नुहुन्छ ? तपाईं ख्रीष्ट हुनुहुन्छ भने हामीलाई स्पष्ट भनिदिनुहोस्” (यूहन्ना १०:२४) । आफ्नो व्याख्याको अन्त्यमा येशूले जवाफ दिनुभयो, “पिता र म एक हौं” (यूहन्ना १०:३०) ।

जब येशूले “पिता र म एक हौं” भन्नुभयो यहूदीहरू कति धेरै रिसाएका थिए भनी ठिक पछिल्लो पदले अभिलिखित गर्दछ, “यहूदीहरूले उहाँलाई हानौं भनी फेरि ढुङ्गा उठाए” (यूहन्ना १०:३१) । यहूदीहरूको यस्तो प्रतिक्रियाबाट हामी सजिलैसित बुझ्दछौँ कि तिनीहरूको दृष्टिकोणमा येशूले ईश्वर-निन्दा गर्दै हुनुहुन्थ्यो । पुरानो करारको व्यवस्थाअनुसार ईश्वर-निन्दा गर्ने मानिसलाई ढुङ्गाले हानेर मार्ने आदेश दिइएको थियो (लेवी २४:१६) । येशूको उक्त भनाइबाट उहाँले आफैलाई परमेश्वर तुल्याउँदै हुनुहुन्थ्यो भनी यहूदीहरूले प्रस्ट रूपमा बुझे । त्यसकारण, यहाँ उल्लिखित “एक” को अर्थ हुन्छ, “सार” अर्थात् येशू र पिता बराबरीमा हुनुहुन्छ । पितासित भएका सबै गुण येशूसित छन् । येशू मानव चोलामा आउनुभएको परमेश्वर हुनुहुन्थ्यो भनी उहाँले दाबी गर्दै हुनुहुन्थ्यो ।

. उहाँले पापको क्षमा दिनुभयो (र्कूस २:५७)   

येशूले पक्षाघातीलाई भन्नुभयो, “‘ए छोरा, तिम्रा पापहरू क्षमा भए,’ तर त्यहाँ केही शास्त्रीहरू बसिरहेका थिए, र आफ्ना मनमा यसो भनेर विचार गरिरहेका थिए, ‘यस मानिसले किन यसरी बोल्दछ ? यो त ईश्वर-निन्दा हो । केवल एक, अर्थात् परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ ?’” (मर्कूस २:५-७) ।

मान्छेले मान्छेको विरुद्धमा गरेको पाप मान्छेले क्षमा गर्न सक्छ । तर मान्छेले परमेश्वरको विरुद्धमा गरेको पाप मान्छेले क्षमा गर्न सक्दैनथ्यो भनी एउटा यहूदीले राम्ररी बुझेको थियो । क्षमा परमेश्वरको परमाधिकार थियो । परमेश्वरको विरुद्धमा गरेको पाप कसैले क्षमा दिन सक्दैनथ्यो, तर येशूले क्षमा दिनुभयो । शङ्का गर्नेहरूको शङ्कालाई दूर गराउन त्यस पक्षाघातीलाई निको पारी आफूले त्यसको पाप क्षमा गरिदिएको पुष्टि गरिदिनुभयो येशूले । परमेश्वरले मात्र पापको क्षमा दिन सक्नुहुन्छ । येशूले पापको क्षमा दिनुभयो । तसर्थ येशू परमेश्वर हुनुहुन्छ ।

. म छँदैछु (यूहन्ना ८:५८)

येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा अघिबाटै म छँदैछु” (यूहन्ना ८:५८) ।

येशूको भनाइमा भएको महत्त्वपूर्ण कुरो यो हो कि उहाँले परमेश्वरको नाउँलाई आफ्नो लागि प्रयोग गर्नुभयो । नेपाली बाइबलमा यो प्रस्ट नभए तापनि अङ्ग्रेजीमा छर्लङ्ग छ । “म छँदैछु” अङ्ग्रेजी I AM को अनुवाद हो जुन प्रस्थान ३:१४ अनुसार परमेश्वरको एउटा नाउँ हो । येशूको यो दाबी अभूतपूर्व थियो । यस नामले पुरानो करारको यहोवे परमेश्वरको अनन्ततालाई देखाउँछ । यही नाम येशूले आफ्नो लागि लागु गरी आफू अनन्त परमेश्वर हुनुभएको दाबी गर्दै हुनुहुन्थ्यो ।

. येशूले आराधनाको स्वीकार गर्नुभयो (मत्ती ८:२)

आराधना परमेश्वरको लागि मात्र सञ्चित छ भनी बाइबलले सिकाउँछ (मत्ती ४:१०) । अन्य कुनै मान्छेसाथै स्वर्गदूतले पनि अस्वीकार गरेको आराधनालाई येशूले स्वीकार गर्नुभयो । “एक जना कुष्ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँडा” टेक्यो (मत्ती ८:२) । येशूले उसलाई हप्काउनुभएन तर उसको निको हुने इच्छा पुरा गरिदिनुभयो । येशूलाई परमेश्वरको पुत्रको रूपमा स्वीकार गर्दै चेलाहरूले “उहाँलाई दण्डवत् गरे” (मत्ती १४:३३) ।

तब यो प्रस्ट छ कि आराधना (जसलाई नयाँ करारमा पटक-पटक “दण्डवत् गर्नु” भनी उल्लेख गरिएको छ) परमेश्वरको लागि मात्र हो । मानिसले आराधना स्वीकार गर्न सक्दैन । येशूले आराधनाको स्वीकार गर्नुभयो । तसर्थ उहाँले आफू परमेश्वर हुनुभएको दाबी गर्नुभयो ।

. प्रभु/परमप्रभु (मत्ती ७:२१-२२)

यो अङ्ग्रेजी LORD को अनुवाद हो । हिब्रूमा यसलाई जेहोवा भनिन्थ्यो । मूल हिब्रू भाषामा यस नाममा कुनै स्वर वर्ण थिएन, केवल चार ओटा व्यञ्जन वर्ण— YHWH । यहूदीहरूले यस नाम (जेहोवा) लाई यति धेरै आदर गर्थे कि उच्चारण गर्दा गल्ती हुन्छ कि भन्ने डरले यसको सट्टामा परमेश्वरको अर्को नाम (अदोनाई) प्रयोग गर्थे ।

येशूलाई “प्रभु” भन्नेहरू सबैले उहाँलाई परमेश्वरको रूपमा बुझे भन्ने कुरा शङ्कास्पद भए तापनि निम्न लिखित खण्डहरूमा यस नामले उहाँको ईश्वरत्वलाई छर्लङ्ग पार्छ: मत्ती ७:२१, २२; मत्ती २२:४३; लूका १:४३; यूहन्ना २०:२८ आदि । परमेश्वर नभईकन यो नाम उहाँले स्वीकार गर्नु ईश्वर-निन्दा हुन्थ्यो । तसर्थ नयाँ करारका यी खण्डहरूबाट प्रस्ट छ कि यो नाम उहाँको लागि लागु हुँदा परमेश्वरको रूपमा प्रयोग भयो ।

६. म हुँ (मर्कूस १४:६१–६४)

“प्रधान पूजाहारीले उहाँलाई सोधे, ‘के तँ परमधन्यको पुत्र ख्रीष्ट होस् ?’ येशूले भन्नुभयो, ‘म हुँ, अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिन्‌को दाहिने बाहुलीतर्फ बसिरहेको र आकाशका बादलहरूका साथमा आइरहेको देख्नुहुनेछ ।’ तब प्रधान पूजाहारीले आफ्नो वस्त्र च्यातेर भने, ‘हामीलाई अरू साक्षीहरूको के दरकार पर्‍यो र ? तिमीहरूले ईश्वर-निन्दा त सुनिहाल्यौ । तिमीहरूको के विचार छ ?’ अनि तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको योग्य ठहराए” (मर्कूस १४:६१–६४) ।

यहाँ येशूले स्पष्ट रूपमा आफू परमेश्वर हुनुभएको दाबी गर्नुभयो । उहाँलाई दोष लगाउनेहरूले उहाँले के दाबी गर्दै हुनुहुन्थ्यो भनी प्रस्ट रूपमा बुझे । यस्ता दाबीहरूलाई धार्मिक अगुवाहरूले ईश्वर-निन्दाको रूपमा बुझ्थे । हिब्रू व्यवस्था र रीतिअनुसार ईश्वर-निन्दा गर्नेलाई मृत्युदण्ड दिइन्थ्यो । येशूले “आफैलाई परमेश्वरको पुत्र” तुल्याएकोले उहाँलाई क्रुसमा झुण्ड्याइयो (यूहन्ना १९:७) ।

७. मानिसको पुत्र (मत्ती १३:४१)

येशूले आफैलाई बारम्बार “मानिसको पुत्र” को रूपमा उल्लेख गर्नुभयो । चारवटा सुसमाचारमा यो नाम झन्डै ८२ पटक देखा पर्छ । भिडले उहाँका वचनहरू उद्धृत गर्दा (यूहन्ना १२:३४) र स्तिफनस (प्रेरित ७:५६) ले बाहेक नयाँ करारमा अरू कसैको मुखमा यो नाम पाईंदैन । केवल येशूले आफ्नो लागि यो नाम प्रयोग गर्नुभयो ।

दानिएल ७:१३-१४ अनुसार “मानिसको पुत्र” मसीहको एउटा नाम हो जससँग अधिकार, महिमा र सार्वभौमिक शक्ति छ । दानिएलको विवरणअनुसार उहाँलाई नै सबै मानिसले आराधना चढाए र उहाँको प्रभुत्व अनन्त छ । येशूले यस नामद्वारा आफूलाई अनन्त न्यायकर्ताको रूपमा उभ्याउँदै हुनुहुन्थ्यो ।

पूरै बाइबलमा येशूले हुबहु यी शब्दहरू प्रयोग गर्नुभएको तपाईं कहीँ पाउनुहुन्न— “म परमेश्वर हुँ ।” उहाँले आफ्नो मुखबाट यस्तो कथन व्यक्त नगर्नुभए तापनि यसको अर्थ उहाँ परमेश्वर हुनुहुन्न वा उहाँले आफूलाई परमेश्वरको रूपमा देख्नुभएन भन्ने होइन । तपाईंले आजको दिनसम्म “म फेसबुक प्रयोगकर्ता हुँ” भनेर व्यक्त नगर्नुभएको हुन सक्छ । तर त्यसो नभन्दैमा तपाईं फेसबुक प्रयोगकर्ता नहुने होइन । तपाईंले फेसबुकमा एकान्ट खोलेर यसलाई चलाउन थाल्नुभएपछि तपाईं स्वतः यसको प्रयोगकर्ता हुनुभयो । “म ड्राइभर हुँ” भनेर कसैले व्यक्त नगरे तापनि उसले गाडी चलाउँछ भने ऊ ड्राइभर हो । ठिक त्यसै गरी, येशूले कहिल्यै “म परमेश्वर हुँ” भनी दाबी नगर्नुभए तापनि उहाँले परमेश्वरले मात्र गर्ने कामहरू गर्नुभएकोले र उहाँमा परमेश्वरका गुणहरू भएकाले उहाँ परमेश्वर हुनुहुन्छ ।

(थप जानकारीको लागि कमल अधिकारीद्वारा लिखित येशू को हुनुहुन्छ ? नामक पुस्तक हेर्नुहोला ।)
Facebook Comments

Powered by Youth Circle