ख्रिस्टमसको इतिहासबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. नयाँ करारका चारवटा सुसमाचार (मत्ती-यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक विश्वसनीय र प्रारम्भिक जीवनीहरू हुन् । यी चारवटै सुसमाचार येशूको स्वर्गारोहणको केही वर्षभित्रमा नै लेखिए । मत्ती र लूकाका सुसमाचारहरूमा उहाँको जन्मको विवरण दिइएको भए तापनि सुसमाचारीय दस्ताबेजहरूमा येशूको जन्म मिति प्रकट गरिएको छैन । तथापि सालको सम्बन्धमा उहाँ ६-४ ख्रिस्टपूर्वमा जन्मनुभएको थियो भन्ने सामान्य सहमति छ ।

२. बाइबल धर्मशास्त्रसाथै कुनै पनि प्राचीन बाइबलेतर स्रोतमा उहाँको जन्म मिति उल्लेख नभएकोले प्रारम्भिक ख्रीष्टियानहरूका बिचमा कुनै निर्धारित मिति थिएन । उहाँको जन्मदिन निर्धारण गर्नको लागि विभिन्न विधिहरू अप्नाइए । फलतः प्रारम्भिक ख्रीष्टियान मण्डलीहरूमा बेग्लाबेग्लै मितिहरू देखा परे । तर २५ डिसेम्बर नै ख्रिस्टमसको लागि औपचारिक मिति हुन पुग्यो । चौथो शताब्दीको उत्तरार्द्धसम्ममा ख्रिस्टमस भिन्नाभिन्नै स्थानमा भिन्नाभिन्नै मितिमा भए पनि प्रायजसो मण्डलीमा मनाइन थालियो ।

३. कहिलेबाट २५ डिसेम्बरलाई येशूको जन्मदिनको रूपमा चिनाउन थालियो भन्ने कुरो प्रस्ट छैन । यस दिनलाई येशूको जन्मदिनको रूपमा चिनाउने प्रथम व्यक्ति हिप्पोलाइटसजस्तो देखिन्छ । तिनी दोस्रो-तेस्रो शताब्दीका अति नै महत्त्वपूर्ण ईश्वरशास्त्री थिए । भनिन्छ, तिनी ग्रिक बिशप आइरेनियसका चेला थिए । करिब १७० जन्मेका तिनी २३५ मा सहिद बनी यस धरतीबाट बिदा भएका थिए । ख्रिस्टाब्द २०४ मा तिनले कमेन्ट्री अन द प्रोफेट दानिएल नामक कृति लेखे । यो पुस्तकको एउटा खण्डमा येशूको जन्म २५ डिसेम्बर भएको थियो भनी व्यक्त गरिएको छ ।

४. ब्रिटानिका विश्वकोशअनुसार २५ डिसेम्बरलाई येशूको जन्मदिनको रूपमा चिनाउने अर्का व्यक्ति सेक्टस जुलियस अफ्रिकानस (करिब १६०-२४०) थिए जसले ख्रिस्टाब्द २२१ मा यसो गरेका थिए । तिनी ख्रीष्टियान इतिहासकार थिए । मण्डली इतिहासका पिता युसेबियससाथै मण्डली पिताहरूमाथि तिनको प्रभावको कारण अफ्रिकानसलाई महत्त्वपूर्ण पात्र मानिन्छ । पाँच ठेलीमा लिखित तिनको विश्वको इतिहासअनुसार येशू २५ मार्चमा गर्भमा आउनुभएको थियो र यसैको आधारमा २५ डिसेम्बरलाई येशूको जन्मदिनको रूपमा लिइयो । येशू जुन दिन क्रूसमा टाँगिनुभएको थियो, त्यही दिन मरियमको गर्भमा आउनुभएको थियो र उक्त दिन २५ मार्च थियो भनी एउटा प्राचीन पर्चामा अभिलिखित गरिएको छ । यसमा लेखिएको छ, “तर हाम्रा पभु पनि डिसेम्बर महिनामा नै जन्मनुभयो ।” यस पर्चामा लिखित थप जानकारीअनुसार पनि येशू २५ डिसेम्बरमा नै जन्मनुभयो ।

५. रोममा २५ डिसेम्बर ३३६ मा पहिलो पटक ख्रिस्टमस मनाइएको अभिलेख पाइन्छ । त्यस बेला रोमी सम्राट् कन्स्टेन्टाइन महान्‌ले सम्पूर्ण साम्राज्यमाथि शासन गर्दै थिए । तिनी रोमी साम्राज्यका सन्ताउन्नौँ सम्राट् थिए जसले ख्रिस्टाब्द ३०६-३३७ सम्म शासन गरे । मण्डली र साम्राज्य दुवैको इतिहासमा तिनको शासन परिवर्तनको निर्णायक बिन्दु साबित हुन पुग्यो । इतिहासकारहरू तिनलाई प्रथम ख्रीष्टियान सम्राट्को रूपमा हेर्छन् ।

६. ख्रिस्टाब्द ३५० तिर पोप जुलियस प्रथमले २५ डिसेम्बरमा नै ख्रीष्टको जन्मोत्सव मनाइनुपर्छ भनी घोषणा गरे । परम्पराअनुसार येशू २५ डिसेम्बरमा जन्मनुभएको थियो भनी प्राचीन ख्रीष्टियान जगत्‌का प्रभावशाली लेखक अगस्टिन (ख्रिस्टाब्द ३५४–४३०) ले आफ्नो कृतिमा उल्लेख गरेका छन् । १०० ओटाभन्दा बेसी कृति लेखेका अगस्टिन ईश्वरशास्त्री, दार्शनिक, रक्षाशास्त्रीसाथै लेखक थिए । पाश्चात्य ख्रिस्टियमत र पाश्चात्य दर्शनशास्त्रको विकासमा तिनका रचनाहरूले उल्लेखनीय भूमिका निर्वाह गरे ।

७. चौथो शताब्दीमा ख्रिस्टियमत रोमी साम्राज्यको सरकारी धर्म भइसकेको थियो । बार्‍हौँ शताब्दीमा आइपुग्दा ख्रिस्टमस युरोपमा सबैभन्दा महत्त्वपूर्ण धार्मिक पर्व बन्यो । सुधारवादको युगसम्म ख्रिस्टमसको लोकप्रियता ज्यादै बढ्यो । ख्रिस्टमसमा गैरख्रिस्टियानका मनग्गे चलनहरू समावेश भएकाले सुधारवादको समयमा कतिपय ख्रीष्टियानहरूले ख्रिस्टमसलाई गैरख्रिस्टियान पर्वको रूपमा विचार गर्न थाले । कति ठाउँहरूमा यसको असर परेको भए तापनि मानिसहरूले ख्रिस्टमस मनाउन जारी राखे । बिसौँ शताब्दीको मध्यदेखि ख्रिस्टमस झन्डै विश्वव्यापी रूपमा मनाउन थालियो । आज संसारका ख्रीष्टियानसाथै गैरख्रिस्टियान दुवै थरीका अरबौँ मानिस उहाँको जन्मोत्सवमा रमाउँछन् । आज ख्रिस्टमस संसारकै बडादिन भएको छ ।

Facebook Comments

Powered by Youth Circle