येशूले भन्नुभएको थियो, “म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०) । येशूको आगमनको एउटा उद्देश्य थियो— मानव-जातिलाई प्रशस्तताको जीवन दिनु । ती मानिसहरू जसले येशूबाट प्रशस्तताको जीवनको अनुभव गरे, तिनीहरूले संसारका मनग्गे क्षेत्रमा रूपान्तरण ल्याइदिए—नीतिशास्त्र, स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, विज्ञान, कानुन, कला, साहित्य, सङ्गीत, सरकार इत्यादि । यस रचनामा हामी त्यस्ता ७ ओटा क्षेत्रलाई ध्यान दिने छौँ जहाँ येशू र उहाँको शिक्षाले आमुल रूपान्तरण ल्याइदिएका छन् ।
१. येशूको जन्मले पात्रोलाई दुई भागमा विभाजन गर्यो
येशूको आगमनले पात्रोलाई दुई भागमा विभाजन गरिदिएको छ । उहाँको जन्मभन्दा अगिको समयलाई ख्रिस्टपूर्व भनिन्छ भने उहाँको आगमनपछिको समयलाई ख्रिस्टाब्द भनिन्छ । ख्रिस्टपूर्व अङ्ग्रेजी Before Christ को अनुवाद हो जसलाई छोटकरीमा B. C. भनिन्छ । उहाँको जन्मपछिको समयलाई उल्लेख गर्न ल्याटिन पदावली Anno Domini (छोटकरीमा A. D.) को प्रयोग गरिन्छ जसलाई प्रायश: “हाम्रा प्रभुको वर्षमा” भनेर अनुवाद गरिन्छ । मितिको गणनाको लागि सारा संसारले यही पद्धतिलाई पछ्याइरहेको छ ।
२. येशूको शिक्षाको प्रभावमा दास प्रथा उन्मूलन गरियो
दास प्रथा नेपाललगायत विश्वका विभिन्न भूभागमा अभ्यास गरिएको एउटा अमानवीय प्रथा थियो जुन कतिपय ठाउँमा विभिन्न स्वरूपमा अझै पनि कायमै छ । व्यापक रूपमा अभ्यास गरिएको यस कुप्रथालाई हटाउन ख्रीष्ट येशूका अनुयायीहरूको योगदानलाई कदापि भुल्न सकिँदैन । पावलले आफ्नो पत्रमा भनेका छन्, “अब … न कमारा छ न फुक्का, … किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ” (गलाती ३:२८) ।
अमेरिकामा ख्रिस्टाब्द १८६५ मा दासप्रथा उन्मूलन भए तापनि संसारका विभिन्न मुलुकमा बिसौँ शताब्दीसम्म यसको अभ्यास गरिएको थियो । इथियोपियामा १९४२ सम्म, साउदी अरबमा १९६२ सम्म, पेरुमा १९६४ सम्म र भारतमा १९७६ सम्म दासप्रथाले निरन्तरता पाएको थियो । नेपालमा १९२५ मा दासप्रथालाई कानुनबाट निर्मूलन गरिएको थियो ।
दासप्रथाको निर्मूलन र जातिभेदको इन्कार दुवैको जरा आदि ख्रीष्टियान शिक्षामा गडेका छन् । चाहे दासप्रथा विरुद्ध विलियम विल्बरफोर्सको अभियान होस् या रङ्गभेद विरुद्ध मार्टिन लुथर किङ्गको आन्दोलन होस्, यी सबै नै आदि ख्रीष्टियान अभ्यासलाई बिउँताउने प्रयत्न मात्रै थिए ।
३. येशूले दया र परोपकारको क्षेत्रमा परिवर्तन ल्याउनुभयो
येशूको आगमनअगिको संसार दयाविनाको संसार थियो । जाति, धर्म, वर्ग र राष्ट्रियताको भेदभाव नगरी आपत्–विपत्मा परेकाहरूलाई सहायता गर्न आफ्ना अनुयायीहरूलाई प्रेरित गर्ने व्यक्तित्व येशू नै हुनुहुन्थ्यो । सुसमाचारहरू येशूको दयाका उदाहरणहरूले भरिएका छन् । निस्सन्देह, उहाँ दयाको खानी हुनुहुन्थ्यो । मिसनरीहरू संसारको चारैतिर पुग्दा तिनीहरूले अस्पतालहरूको स्थापना गरे; अनाथालयहरू खोले; बचाउ मिसनहरूको थालनी गरे; धर्मशालाहरू निर्माण गरे; परोपकारी संस्थाहरू खोले; मानव-जातिको हितको लागि कानुन परिवर्तन गरे; प्रेमको प्रदर्शनी गरे ।
४. येशूले लैङ्गिक समानताको पक्षमा वकालत गर्नुभयो
येशूको जन्म नारी इतिहासमा एउटा निर्णायक मोड साबित भयो । ग्रिक, रोमी र यहूदी स्त्रीहरूको दुरावस्थालाई येशूको प्रकटीकरणले आमूल परिवर्तन गरिदियो । उहाँका क्रियाकलाप र शिक्षाले स्त्रीहरूलाई नयाँ उचाइ प्रदान गरे । सामाजिक, बौद्धिक र आत्मिक रूपमा स्त्रीहरू पुरुषहरूको तुलनामा कनिष्ठ हुन्छन् भन्ने मान्यतालाई येशूले स्वीकार गर्नुभएन । येशू नारीहरूको एक महान् मित्र हुनुहुन्थ्यो । तत्कालीन समाजको मूल्य-मान्यताको विपरीत नै भए तापनि उहाँले स्त्रीहरूसँग सार्वजनिक रूपमा बातचित गर्नुभयो, तिनीहरूलाई ईश्वरशास्त्रका गहकिला शिक्षाहरू सिकाउनुभयो, तिनीहरूलाई आफ्नो समूहमा हिँड्ने अनुमति दिनुभयो । स्त्रीहरूप्रति हाम्रो धारणाको सम्बन्धमा येशू सर्वोत्तम नमुना मात्र हुनुहुन्न, तर उहाँ सर्वाधिक आधिकारिक पनि हुनुहुन्छ ।
५. येशूको आगमनले शिक्षाको उन्नतिमा उल्लेखनीय प्रभाव पार्यो
येशू संसारले चिनेको महान्तम शिक्षक हुनुहुन्छ भन्ने सत्यतामा थोरैले मात्र वादविवाद गर्लान् । बाइबलले बताउँछ, “तिनीहरू उहाँका शिक्षामा चकित भए । किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन, तर अधिकारसँग सिकाउनुभयो” (मर्कूस १:२२) । येशूले यसरी सिकाउनुभयो कि उहाँलाई पछ्याउनेहरूले अरूलाई सिकाउन सकुन् । सोर्हौँ शताब्दीमा सुधारवादी अभियानले नै विश्वव्यापी शिक्षाको लागि उल्लेखनीय योगदान पुर्याएको थियो । आज स्कुलको अवधारणा निकै सामान्य भइसकेको छ । सरकारी स्कुलको अवधारणालाई पहिलो पटक सुधारवादी मार्टिन लुथरले नै जन्माएका थिए । शिक्षाप्रतिको लगावको कारणले ख्रीष्टियान मठाश्रमहरूको उदय भएका थिए जसबाट विश्वविद्यालयहरू उदय भए भनी उपलब्ध साक्षीहरूले अङ्कित गर्छन् । क्याम्ब्रिज, अक्सफोर्ड, हार्वडजस्ता विश्वका ख्यातिप्राप्त विश्वविद्यालयहरू येशूको शिक्षाका नतिजास्वरूप देखिएका शैक्षिक संस्थाहरू हुन् । प्रत्येक मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएको छ भन्ने सत्यताले विश्वव्यापी शिक्षाको लागि इन्धन भर्ने काम गरेको थियो ।
संसारमा चारैतिर फैलँदै आएको शिक्षाको ज्योति यस भूमिमा पनि आइपुग्यो । ख्रिस्टाब्द १८५३ मा नेपालमा पहिलो औपचारिक स्कुलको थालनी भयो, यद्यपि यो धनी वर्गको लागि मात्र थियो । १९५१ मा प्रजातन्त्रको आगमनसँगै शिक्षाको बिस्तारले तीव्रता पायो । २०१० सम्ममा आइपुग्दा नेपालमा झन्डै ५०,००० स्कुल स्थापित भइसकेका थिए । २०११ को सरकारी तथ्याङ्कअनुसार नेपालमा करिब ६६% जनसङ्ख्या साक्षर छन् । मानिसहरूले येशू ख्रीष्टप्रति जस्तोसुकै दृष्टिकोण राखे तापनि उहाँको हितकर प्रभावको हिस्साको रूपमा उदय भएको शिक्षाको ज्योतिले सारा संसारलाई झिलिमिली पारी नेपालका ६६% भन्दा बढी मानिसलाई उज्यालोमा हिँड्न मदत पुर्याएको छ ।
६. येशूको शिक्षाको प्रभावमा नै अस्पतालहरू निर्माण गरिए
मानव–जातिको आत्मिक अवस्थासित मात्र येशूले सरोकार राख्नुभएन, तर उसको शारीरिक अवस्थासित पनि । येशूले सिकाउनुका अतिरिक्त बिरामीहरूलाई दया पनि देखाउनुहुन्थ्यो । उहाँले धेरै रोगीलाई निको पार्नुभयो, “अनि येशू … मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो” (मत्ती ४:२३) । येशू सर्वाङ्गीण चङ्गाइकर्ता हुनुहुन्थ्यो । ख्रीष्टभन्दा अगिको संसार अस्पतालविनाको संसार थियो जहाँ परोपकारको मूल्य थिएन न त मानवीय जीवनलाई नै आदर गरिन्थ्यो । अस्पताल ख्रिस्टियमतको आविष्कार थियो । त्यसैले क्रूसको चङ्गाइको प्रतीकले अस्पतालको प्रतिनिधित्व गर्छ । How Christianity Changed the World नामक पुस्तकअनुसार कैसरियाका बिशप बासिल महान्द्वारा ख्रिस्टाब्द करिब ३६९ मा कापाडोकियामा निर्मित अस्पताल नै पहिलो अस्पताल हो । नेपालमा भने ख्रिस्टाब्द १८८९ मा बीर शमशेर राणाले बीर अस्पताल स्थापना गरेका थिए जुन नेपालको सबैभन्दा पुरानो अस्पताल हो ।
ख्रीष्टकी भक्त स्त्री फ्लोरेन्स नाइटिङ्गेलजस्ता नारीहरूले नर्सिङ पेसाको स्थापना गरेका थिए । इतिहासको एउटा महान्तम मानवतावादी अभियानको रूपमा चिनिएको अन्तर्राष्ट्रिय रेड क्रस ख्रीष्टियानहरूद्वारा नै स्थापना गरिएका थिए । औषधीको क्षेत्रमा डा. लुई पास्चरजस्ता ख्रीष्टियानहरूले इन्धन भर्ने काम गरेका छन् जसका अवधारणाहरूले चिकित्सा क्षेत्रमा क्रान्ति नै ल्याइदिए । सम्भवत: पास्चरले आफ्ना आविष्कारहरूद्वारा अन्य कुनै एकल व्यक्तिले भन्दा बेसी मानिसको ज्यान जोगाए ।
७. येशूका अनुयायीहरूले आधुनिक विज्ञानको उदय गराए
ख्रिस्टियमतले नै आधुनिक विज्ञानको उदय गराएको थियो । सोर्हौँ शताब्दीमा सुधारवादी अभियानसँगै वैज्ञानिक क्रान्तिको थालनी भएको थियो र वैज्ञानिक आविष्कारको विकासमा बाइबलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । विज्ञानको प्रत्येक मुख्य शाखा बाइबल विश्वास गर्ने ख्रीष्टियानहरूद्वारा नै विकास गरिएका थिए । सारमा बाइबलले नै विज्ञानको सृजना गर्यो । विज्ञानको इतिहासलाई पूर्वाग्रहरहित दृष्टिकोणबाट हेर्ने हो भने छर्लङ्ग हुन्छ कि आधुनिक विज्ञान ख्रिस्टियमतको आविष्कार हो । आज चाहे हामी कारभित्र प्रवेश गरौँ वा शल्यक्रियाको लागि अस्पतालमा जाऔँ, यसको लागि हामी येशूको शिक्षा र उहाँका अनुयायीहरूप्रति ऋणी छौँ ।
यसरी येशूले संसारमा व्यापक प्रभाव पार्नुभएको छ । मानवीय चोलामा येशू आजभन्दा दुई हजार वर्ष अगाडि यस धरतीमा नजन्मनुभएको भए हामी सभ्यताको यस उचाइसम्म आइपुग्दैनथ्यौँ । उहाँको आगमनपश्चात् उहाँले सिकाउनुभएका अनमोल शिक्षाहरूको मदतले अनुगामी पुस्ताहरूले पृथ्वीको धरातलमा कायाफलट ल्याइदिए । विश्वको हरेक कुनामा उहाँको प्रभावको सुगन्धलाई सुँघ्न सकिन्छ । येशूको सन्देशले युरोप, अमेरिका, ब्रिटेन र अङ्ग्रेजी भाषा बोल्ने भूभागहरूलाई मात्र रूपान्तरण गरेको छैन, तर अफ्रिकासाथै एसियामा पनि उहाँको प्रभाव बढ्दो छ । इतिहासकार केनेथ स्कट लाटुरेट भन्छन्, “शताब्दीहरू बित्दै जाँदा साक्षीहरू यति प्रचुर भएका छन् कि इतिहासमा उहाँको प्रभावलाई मानक बनाउने हो भने येशू यस ग्रहमा बाँच्नुहुने सर्वाधिक प्रभावशाली व्यक्तित्व हुनुहुन्छ ।”