ख्रिस्टमस मान्नुपर्ने ७ ओटा कारण

दुनियाँभरका ख्रीष्टियानसाथै गैरख्रिस्टियानहरूले येशूको जन्मको सम्झना गरी ख्रिस्टमस मान्छन् । येशूका अनुयायीहरू मात्र उहाँको जन्मोत्सवमा रमाउँदैनन् तर उहाँलाई नपछ्याउनेहरू यो अवसरमा खुसी हुन्छन् । ख्रीष्टियानहरूले मात्र ख्रिस्टमस मानेको देखिँदैन तर मुसलमान, हिन्दुसाथै अन्य धर्मावलम्बीहरूले पनि ख्रिस्टमसको मौसममा खुसी साटासाट गरेका देखिन्छन् । यसको अर्थ हुन्छ कि ख्रिस्टमस संसारकै पर्व बनेको छ । ख्रिस्टमस मान्नुपर्ने मनग्गे कारणहरूमध्ये यहाँ ७ ओटा उल्लेख गरिएका छन् । हामी किन ख्रिस्टमस मान्छौँ ?

१. किनकि यो बडो आनन्दको सुसमाचार हो

येशू जन्मनुभएको साँझमा एक जना स्वर्गदूत देखा परे जसले गोठालाहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्‍दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्‍ति हुनेछ” (लूका २:१०) । येशूको जन्मको खबरले मानिसको हृदयमा आनन्द मात्र ल्याउँदैन तर ‘बडो आनन्द’ ल्याउँछ र यो बडो आनन्दको सुसमाचार केही मानिसहरूका लागि मात्र नभएर सारा मानव-जातिका लागि हो । आज ख्रिस्टमस विश्वव्यापी पर्व बनेको छ ।

२. किनकि मुक्तिदाता जन्मनुभएको छ

स्वर्गदूतले भने, “आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ” (लूका २:११) । यस पदमा येशूलाई तीनवटा पदवी दिइएका छन्— मुक्तिदाता, ख्रीष्ट र प्रभु । येशू हामीलाई पाप र मृत्युबाट छुटकारा दिनुहुने मुक्तिदाता हुनुहुन्छ (मत्ती १:२१) । उहाँ व्यवस्था र अगमवक्ताहरूलाई पूरा गर्नुहुने मसीह अर्थात् ख्रीष्ट हुनुहुन्छ (मत्ती ५:१७) । उहाँ हाम्रो संसारमा प्रवेश गर्नुहुने प्रभु हुनुहुन्छ । सर्वशक्तिमान् परमेश्वरले मानवीय चोला धारण गर्नुभएको छ ।

३. किनकि हामीले अवर्णनीय उपहार पाएका छौँ

परमेश्वरले मानव-जातिलाई यति अनमोल उपहार दिनुभएको छ जसको बारेमा हामी पूर्ण रूपमा बयानै गर्न सक्दैनौँ । “उहाँको वर्णन गर्न नसक्‍ने वरदानको निम्‍ति परमेश्‍वरलाई धन्‍यवाद होस्‌” (२ कोरिन्थी ९:१५) । “वर्णन गर्न नसक्‍ने वरदान” को हुनुहुन्छ ? येशू ख्रीष्ट । येशू मानव-जातिका निम्ति अवर्णनीय उपहार हुनुहुन्छ । परमेश्वरले हामीलाई किम्मती उपहार दिनुभएकोले हामी पनि एक-अर्कालाई उपहार साटासाट गरी ख्रिस्टमसमा आनन्द मनाउँछौँ ।

४. किनकि येशू संसारको ज्योति हुनुहुन्छ

येशूको जन्मअगि संसार आत्मिक रूपमा अन्धकार थियो । उक्त अन्धकारलाई हटाउन ज्योतिको खाँचो थियो र उहाँ त्यो ज्योति बनेर आउनुभयो । “उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो । त्‍यो ज्‍योति अन्‍धकारमा चम्‍कन्‍छ, र अन्‍धकार त्‍यसमाथि विजयी भएको छैन” (यूहन्ना १:४-५) । येशूको ज्योतिले कुनै एउटा सानो क्षेत्रलाई मात्र झिलिमिलि पार्दैन तर सारा दुनियाँलाई उज्यालो दिन्छ किनकि उहाँ त संसारको ज्योति हुनुहुन्छ जस्तो उहाँ आफैले दाबी गर्नुभयो, “म संसारको ज्‍योति हुँ । मलाई पछ्याउने अन्‍धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्‍यसले जीवनको ज्‍योति पाउनेछ” (यूहन्ना ८:१२) । उहाँ संसारको ज्योति हुनुभएकोले रङ्गीबिरङ्गी ज्योति बाली हामी ख्रिस्टमसको अवसरमा प्रसन्न हुन्छौँ ।

५. किनकि येशूले हामीलाई अनन्त जीवन दिनुभएको छ

“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌” (यूहन्ना ३:१६) । यसलाई बाइबलको सबैभन्दा प्रसिद्ध खण्ड मानिन्छ र व्यापक रूपमा उद्धृत गरिएको छ । यसलाई ‘सङ्क्षिप्त सुसमाचार’ पनि भनिन्छ किनकि यसमा परम्परागत ख्रीष्टियान विश्वासको केन्द्रिय विषयवस्तुको सारांश पाइन्छ । परमेश्वर हामीलाई अनन्त जीवनको उपहार दिनुहुन्छ । उपहार लिनको लागि तपाईंले यसलाई स्वीकार गरी खोल्नुपर्छ ।

६. किनकि येशू महान्‌तम अगुवा हुनुहुन्छ  

पावलले येशूको बारेमा यसरी वर्णन गरेका छन्, “परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन । तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो ।  स्‍वरूपमा मानिसजस्‍तै भएर आफैलाई होच्‍याउनुभयो, र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो” (फिलिप्पी २:६-८) । येशू यसरी होचिनुभयो कि त्यसको फलस्वरूप अहिले उहाँ संसारकै महान्‌तम अगुवा हुनुभएको छ । मानव-जातिको उत्पत्तिदेखि हालसम्म बाँचेका सबै मानिसभन्दा उहाँ महान्‌तम हुनुहुन्छ । येशूको विषयमा कुनै पनि व्यक्तिले व्यक्तिगत रूपमा जे जस्तो सोच राखे तापनि एक्काइसौँ शताब्दीसम्म उहाँ मानव इतिहासको प्रभावशाली व्यक्तित्व बन्नुभएको छ ।

७. किनकि येशूले संसारमा रूपान्तरण ल्याउनुभएको छ

येशूको देहधारणका विविध उद्देश्यहरूमध्ये एउटा थियो— मानव-जातिलाई प्रशस्तताको जीवन दिनु । उहाँले भन्नुभयो, “म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०) । मानव-जातिको प्रायः हरेक पाटोमा येशूले औधी प्रभाव पार्नुभएको छ । उहाँको आगमनपश्चात् उहाँले सिकाउनुभएका अनमोल शिक्षाहरूको मदतले अनुगामी पुस्ताहरूले पृथ्वीको धरातलमा आमूल परिवर्तन ल्याइदिए । विश्वको हरेक कुनामा उहाँको प्रभावको सुगन्धलाई सुँघ्न सकिन्छ । इतिहासको धारलाई परिवर्तन गर्न येशूको आगमनले जे जति गरेको छ त्यति अन्य कुनै धार्मिक, सामाजिक वा राजनीतिक अगुवाको आगमनले गरेको छैन । येशूको सन्देशले युरोप, अमेरिका, ब्रिटेन र अङ्ग्रेजी भाषा बोल्ने भूभागहरूलाई मात्र रूपान्तरण गरेको छैन तर अफ्रिकासाथै एसियामा पनि उहाँको प्रभाव बढ्दो छ । ती मानिसहरू जसले येशूबाट प्रशस्तताको जीवनको अनुभव गरे, तिनीहरूले संसारका नीतिशास्त्र, स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, विज्ञान, कानुन, कला, साहित्य, सङ्गीत, सरकार आदिजस्ता मनग्गे क्षेत्रमा रूपान्तरण ल्याइदिए ।

Facebook Comments

Powered by Youth Circle