प्रभु येशू ख्रीष्टबाट सबैले सिक्नुपर्ने ७ ओटा पाठ

जहाँ येशूको उपस्थिति हुँदैन त्यहाँ वास्तविक ख्रिस्टमस हुन सक्दैन किनकि येशू ख्रीष्ट ख्रिस्टमसका केन्द्रिय व्यक्तित्व हुनुहुन्छ । यो उहाँको जन्मको सम्झनामा मनाइने महोत्सव हो । येशू संसारले चिनेको महान्‌तम अगुवा हुनुहुन्छ भन्ने दाबीमा थोरैले मात्र वादविवाद गर्लान् । निस्सन्देह, येशूको जीवनबाट हामी अनगिन्ती पाठ सिक्न सक्छौँ, तर यो सालको ख्रिस्टमस मनाइरहँदा उहाँका निम्नलिखित ७ ओटा शिक्षालाई ख्याल गर्नुहोस् ।

१. परमेश्वर र आफ्नो छिमेकीलाई प्रेम गर्नुहोस्

व्यवस्थामा महान् आज्ञा कुन हो ? येशूले जवाफ दिनुभयो, “तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो सारा हृदयले, र आफ्‍नो सारा प्राणले, र आफ्‍नो सारा समझले प्रेम गर्नू । … तैंले आफ्‍नो छिमेकीलाई आफैलाई जस्‍तै प्रेम गर्नू । सारा व्‍यवस्‍था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्‌” (मत्ती २२:३७-४०) ।

२. महान् हुन चाहनुहुन्छ भने सेवा गर्नुहोस्

येशूले भन्नुभयो, “जो तिमीहरूमा ठूलो हुने इच्‍छा गर्दछ, त्‍यो तिमीहरूको सेवक हुनुपर्छ” (मत्ती २०:२६) । यहाँ पाइन्छ महान् नेतृत्वको रहस्य । नेतृत्व भनेको शासन गर्नु होइन, बरु अरूको सेवा गर्नु हो ।

३. अरूले तपाईंलाई जस्तो व्यवहार गरेको चाहनुहुन्छ, तपाईं पनि त्यस्तै गर्नुहोस्

डाँडाको उपदेशमा येशूले भन्नुभयो, “मानिसहरूले तिमीहरूसँग जस्‍तो व्‍यवहार गरून्‌ भन्‍ने तिमीहरू चाहन्‍छौ, तिमीहरूले पनि तिनीहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, किनभने यही नै व्‍यवस्‍था र अगमवक्ताका शिक्षाको सारांश हो” (मत्ती ७:१२) । येशूको यस शानदार शिक्षालाई स्वर्णीम नियम भनिन्छ ।

४. आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहोस्

येशूले भन्नुभयो, “तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्‌” (मत्ती ५:३७) । तपाईंको वचनले तपाईंको आफ्नै जीवन र अरूको जीवनलाई असर गर्छ । त्यसैले एउटा पुरानो उक्तिलाई ख्याल गरौँ, “एक पटक बोल्नुअगि दुई पटक सोच्नुहोस् ।” साँचो बोल्नुहोस् र आफ्ना प्रतिज्ञाहरू पूरा गर्ने कुरामा भरोसायोग्य बन्नुहोस् ।

५. अरूलाई क्षमा दिनुहोस्

प्रार्थना गर्न सिकाउनुहुँदा येशूले भन्नुभयो, “किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्‍यौ भने तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ । तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन” (मत्ती ६:१४) । क्षमा येशूले सिकाउनुभएको र पालन गर्नुभएको एउटा उत्तम सद्‌गुण हो । क्षमा दिएर अरूलाई मुक्त गर्दा अन्ततः हामीले आफैलाई मुक्त गरेका हुन्छौँ ।

६. मिठो बोलीवचन बोल्नुहोस्

येशूले भन्नुभयो, “असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्‍छ, तर दुष्‍ट मानिसले आफूमा भरिएको दुष्‍टताबाट दुष्‍ट थोक नै निकाल्‍छ” (मत्ती १२:३५) । जिब्रोमा मृत्यु र जीवनको शक्ति हुने भएकोले बुद्धिमानीपूर्वक बोल्नुहोस् ।

७. बोलीबाट नभई कामबाट आफैलाई प्रमाणित गर्नुहोस्

येशूले भन्नुभयो, “त्‍यसै गरी हरेक असल रूखले असल फल फलाउँछ । तर खराब रूखले खराब फल फलाउँछ । असल रूखले खराब फल फलाउन सक्‍दैन, न त खराब रूखले असल फल फलाउन सक्‍तछ” (मत्ती ७:१७-१८) । तपाईं परिणाममुखी संसारमा बाँच्नुभएको छ । त्यसैले आफूलाई वचनमा मात्र सीमित नगरी व्यवहारमा प्रमाणित गरेर देखाउनुहोस् ।

Facebook Comments

Powered by Youth Circle