येशू यस धरतीमा आउनुका ७ ओटा कारण

आजभन्दा दुई हजार वर्षअगाडि येशूको जन्म संयोग थिएन । उहाँ खास उद्देश्यहरू लिएर यस धरतीमा आउनुभयो । उहाँले देह धारण गर्नुका मनग्गे कारणहरू थिए । यहाँ ७ ओटा कारणलाई सङ्क्षिप्त व्याख्यासहित प्रस्तुत गरिएको छ ।

१. मानव-जातिको पापको लागि मर्न (मत्ती २०:२८) 

येशूले स्पष्टत: भन्नुभयो, “मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो” (मत्ती २०:२८) । पापी मानिसद्वारा पापी मानव-जातिको उद्धार असम्भव भएकोले एक जना सिद्ध मानिस यस धरतीमा आउनैपर्थ्यो । येशू अलौकिक रूपमा यस धरतीमा आउनुभयो र उहाँले सिद्ध जीवन जिउनुभयो । मानव-जातिको लागि मर्न उहाँ योग्य व्यक्ति हुनुहुन्थ्यो ।

२. पुरानो करारको व्यवस्था पूरा गर्न (मत्ती ५:१७) 

डाँडाको उपदेशमा येशूले भन्नुभयो, “व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ ।  म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ” (मत्ती ५:१७) । पुनरुत्थान हुनुभएपछि येशूले चेलाहरूलाई बताउनुभयो, “तिमीहरूसँग हुँदा मैले बोलेका कुराहरू यी नै हुन्, अर्थात् मोशाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरा विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ” (लूका २४:४४) ।

३. सत्यको गवाही दिन (यूहन्ना १८:३७)  

प्रभु येशूलाई गिरफ्तार गरी जाँचपडतालको लागि बडाहाकिम पिलातसको सामु उभ्याइयो । येशू नै राजा हुनुहुन्छ त ? भन्ने पिलातसको प्रश्नमा उहाँले जवाफ दिनुभयो, “म राजा हुँ भनी तपाईं नै भन्नुहुन्छ । यसैको निम्ति म जन्मेको हुँ, र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ । प्रत्येक जो सत्यको पक्षमा छ, त्यसले मेरो सोर सुन्छ” (यूहन्ना १८:३७) ।

४. शैतानका कामहरू नष्ट पार्न (१ यूहन्ना ३:८) 

येशूका चेला यूहन्ना लेख्छन्, “… दियाबलसका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो” (१ यूहन्ना ३:८) । दियाबलस शैतानका नाउँहरूमध्ये एउटा हो । उहाँको आगमनले शैतानका कामहरू नष्ट पार्‍यो भन्नुको अर्थ त्यो पूर्णत: निष्क्रिय छ भन्नु होइन । पराजित शत्रुको रूपमा त्यसको असफल प्रयास अझै जारी छ (१ पत्रुस ५:८) ।

. विश्वसनीय प्रधान पुजारी बन्न (हिब्रू २:१७) 

हिब्रूका लेखक येशूको बारेमा लेख्छन्, “यसैकारण हरेक कुरामा उहाँ आफ्नै भाइहरूजस्तै बनाइनुपर्‍यो, र मानिसहरूका पापको प्रायश्चित गर्नलाई परमेश्वरको सेवामा उहाँ कृपालु र विश्वस्त प्रधान पूजाहारी बन्नुभयो” (हिब्रू २:१७) ।

. प्रशस्तताको जीवन दिन (यूहन्ना १०:१०) 

येशू प्रशस्तताको जीवनदाता हुनुहुन्छ जस्तो उहाँले भन्नुभयो, “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ । म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०) । जीवनलाई आशिष्‌पूर्ण र खुसी पार्न चाहिने हरेक तत्त्व येशूले दिनुहुन्छ ।

. हाम्रो निम्ति उदाहरण बन्न (१ पत्रुस २:२१) 

येशूका चेला पत्रुसले आफ्ना पाठकहरूलाई लेखेका छन्, “… ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ” (१ पत्रुस २:२१) । सम्पूर्ण मानव इतिहासमा हाम्रो जीवन यापनको लागि येशूभन्दा उत्तम नमुना अरू को हुन सक्छ ?

Facebook Comments

Powered by Youth Circle