यहूदी धर्मका संस्थापक अब्राहाम १,९०० ख्रिस्टपूर्वतिर मरे । तिनी पुनरुत्थान भए भन्ने कुनै दाबी गरिएको छैन । पाँचौँ शताब्दी ख्रिस्टपूर्वको अन्त्यतिर गौतम बुद्धको मृत्यु भएपछि तिनी फेरि आफ्ना चेलाहरूकहाँ देखा परे भनी पाली धर्मशास्त्र वा यसका टिप्पणीहरूमा कहीँ पनि बताइएको छैन । ६१ वर्षको उमेरमा ख्रिस्टाब्द ६३२ मा मुहम्मदको मृत्यु मदिनामा भयो । तर तिनका अनुयायीहरूले तिनको पुनरुत्थानको दाबी गरेका छैनन् । सम्पूर्ण यहूदी, बौद्ध धर्मावलम्बी र मुसलमानहरू सहमत छन् कि तिनीहरूका संस्थापकहरू पृथ्वीको धुलोबाट कहिल्यै उठेनन् । केवल ख्रीष्टियानहरूले आफ्नो संस्थापकको पुनरुत्थानको दाबी गर्दछन् र यो दाबीको लागि दरिला साक्षीहरू पनि छन् ।
येशूको पुनरुत्थान पृथ्वीमा भएको उहाँको मिसनको शिखर आश्चर्यकर्म थियो । अन्य धार्मिक तथा दार्शनिक अगुवाहरू आए र गए अनि उदाए र पतन भए, तर येशू ख्रीष्टले जस्तै आफ्नो सेवाकार्यलाई निरन्तरता दिन कोही पनि पृथ्वीको धुलोबाट फर्केर आएन । उहाँ पुनरुत्थान हुनुहुनेथियो भनी पुरानो करारमा नै भविष्यवाणी गरिएको थियो, “किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ” (भजनसंग्रह १६:१०) । आफ्नो सेवाकार्यको आरम्भदेखि नै येशूले पनि यसको भविष्यवाणी गर्नुभयो, “येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खडा गर्नेछु ।’ … तर जुन मन्दिरको विषयमा उहाँ बोल्नुभएको थियो, त्यो उहाँको शरीर थियो” (यूहन्ना २:१९,२१) ।
चारवटा सुसमाचारलाई सरसरती पढ्ने मान्छेलाई पनि छर्लङ्ग हुन्छ कि येशू मृतकहरूबाट पुनरुत्थान हुनुहुनेथियो भन्ने सत्यतालाई येशूका चारै जना जीवनीकारले महत्त्वका साथ अभिलिखित गरेका छन् । आफ्नो पुनरुत्थानको विषयमा येशू आफैले बारम्बार भविष्यवाणी गर्नुभयो (मत्ती १२:३८-४०; मर्कूस ८:३१; लूका ९:२२-२७; यूहन्ना २:१८-२२) । येशूको ईश्वरत्वको प्रमाणको रूपमा आदि मण्डलीका प्रचारकहरूले पुनरुत्थानलाई पटक-पटक उल्लेख गरे (प्रेरित २:३२; १३:३०) । निम्न लिखित तीनवटा साक्षीले येशूको पुनरुत्थानलाई एउटा ऐतिहासिक घटनाको रूपमा पुष्टि गर्छन् ।
१. रित्तो चिहान
येशूलाई जुन चिहानमा राखिएको थियो, त्यो हप्ताको पहिलो दिन रित्तो थियो । स्वाभाविक प्रश्न यो हो— शव कहाँ गयो ? उपलब्ध सबै तथ्यलाई विश्लेषण गरेपछि आउने तर्कसङ्गत जवाफ हो— उहाँ पुनरुत्थान हुनुभयो ।
२. पुनरुत्थानपछिका प्रकटिकरणहरू
४० दिनको अवधिमा धेरै मानिसहरूले पुनरुत्थान हुनुभएका येशूलाई देखेका दाबी गरे । के देख्नेहरू भ्रममा परेका थिए ? असम्भव । पुनरुत्थान हुनुभएपछि येशू सुटुक्क स्वर्ग जानुभएन, बरु विभिन्न क्षणमा विभिन्न मानिसहरूकहाँ देखा पर्नुभयो ।
३. चेलाहरूका जीवनमा आएको नाटकीय परिवर्तन
गेतसमनीको बगैँचामा येशूको गिरफ्तार हुँदा सबै चेलाले उहाँलाई छाडेर भागे । तर पाँच हप्तापश्चात् तिनीहरू सिंहजस्ता आँटिला भए र प्रायः सबै जना आफ्नो विश्वासको खातिर सहिद बनी यस धरतीबाट बिदा भए । केले तिनीहरूको जीवनमा नाटकीय परिवर्तन ल्याइदियो ? येशूको पुनरुत्थान ।