हुन त हामी ख्रिस्टमसको मौसममा छौँ जुन उहाँको मृत्युसित नभई जन्मसित जोडिएको छ । तर हामीले येशू अद्वितीय हुनुहुन्छ भन्ने विषयमा हेर्दै आएकाले र उहाँको मृत्यु पनि सारा मानव इतिहासमा अद्वितीय भएकोले यसलाई छुटाउनु मुनासिब हुँदैन ।
उहाँको मृत्यु अद्वितीय छ । उहाँलाई क्रूसमा चढाइएकोले उहाँको मृत्यु अद्वितीय भएको होइन, तर प्यालेस्टाइनमा क्रुसारोहण अज्ञात हुँदा भजनसंग्रह २ मा धेरै पहिले नै उहाँको मृत्युको बारेमा भविष्यवाणी गरिएकोले यो अद्वितीय भएको हो । भजनका लेखकले लेखेका छन्, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ ? मलाई बचाउनबाट तपाईं किन यति टाढा हुनुहुन्छ ? अनि मेरो करुण-क्रन्दनका शब्दहरूबाट त्यति टाढा ?” (भजनसंग्रह २२:१) । उहाँको पापरहित र पवित्र चरित्रको प्रदर्शन गर्दै उहाँले जीवन त्याग गर्नुभएकोले पनि यो अद्वितीय छ ।
उहाँको मृत्युको समयमा घटेका आश्चर्यमय घटनाहरूले पनि यसलाई अद्वितीय बनाउँछ । उहाँको मृत्युको घडीमा अन्धकार छायो; भूकम्प गयो; मन्दिरको पर्दा च्यातियो र चिहानहरू उघारिए । मध्यान्हदेखि दिउँसो तीन बजेसम्म अन्धकार छायो । मर्कूसले व्यक्त गरेका छन्, “बाह्र बजेदेखि तीन बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो” (मर्कूस १५:३३) ।
क्रुसारोहणको समयमा येशूले भोग्नुभएको अति पीडादायी यातना आश्चार्यमय थियो । उहाँलाई गिल्ला गर्नेहरू र उहाँलाई मृत्युदण्ड दिनेहरूप्रति भएको येशूको धारणा आश्चार्यमय छ, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” (लूका २३:३४) । येशू जुन तरिकाले मर्नुभयो त्यो आश्चार्यमय थियो जस्तो उहाँले भन्नुभयो, “कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु” (यूहन्ना १०:१८) । उहाँको प्रस्थानको क्षणमा पनि मृत्युले उहाँमाथि विजय हासिल गर्न सकेन, बरु उहाँले स्वेच्छाले आफ्नो आत्मा त्याग गर्नुभयो, “उहाँले भन्नुभयो, ‘अब सिद्धियो’, र उहाँले शिर निहुराएर आफ्नो आत्मा त्यागिदिनुभयो” (यूहन्ना १९:३०) ।
क्रूसमा टाँगिनुभएका ख्रीष्ट र वरिपरिका घटनाहरूलाई देखेपछि कैयौँ मान्छेलाई क्रूसमा टाँगी मृत्युदण्ड दिँदै आएका रोमी कप्तानले सही निष्कर्ष निकालेका थिए, “साँच्चै, यिनी परमेश्वरका पुत्र रहेछन्” (मत्ती २७:५४) ।