सैयौँ वर्षअगि बोलिएका सैयौँ भविष्यवाणीहरू येशूको जीवनमा पूरा भए

संसारमा धेरै किसिमका धर्महरू छन् । सङ्ख्याको हिसाबले ख्रिस्टियमत संसारकै सबैभन्दा ठुलो धर्म (मार्ग) हो जसलाई येशू ख्रीष्टले स्थापना गर्नुभएको थियो । दोस्रोमा इस्लाम धर्म पर्छ जसको संस्थापक मुहम्मद हुन् । पछिल्लो समयमा धर्म नमान्नेहरू (अज्ञेयवादी, नास्तिकवादीलगायतका समूहहरू) को सङ्ख्या पनि उल्लेखनीय मात्रामा वृद्धि भएको छ र यो तेस्रोमा पर्छ । हिन्दु चौथो ठुलो धर्म हो जसको एकल संस्थापक छैन । पाँचौँमा बुद्ध धर्म पर्छ जसलाई गौतम बुद्धले स्थापना गरे । जोरास्टर  धर्मका संस्थापक जोरास्टर हुन् भने सिख धर्मका गुरु नानक त बहाई धर्मका बहाउल्लाह ।

यीलगायत अन्य सबै धार्मिक संस्थापकहरूको जीवनीलाई अध्ययन गर्दा ख्रिस्टियमतका संस्थापक येशू ख्रीष्टको जीवनका कैयौँ पक्षहरू अद्वितीय देखिन्छन् । अद्वितीय शब्दको अर्थ हुन्छ, “दोस्रो नभएको, तुलनाका लागि अर्को नभएको, बेजोड, अनुपम, अतुलनीय ।” उचाइको दृष्टिकोणबाट सगरमाथा अद्वितीय छ भन्दा सगरमाथाजत्तिकै अग्लो शिखर कुनै छैन भन्ने अर्थ लाग्छ । येशू अद्वितीय हुनुहुन्छ भन्दा यसको अर्थ हुन्छ कि उहाँको जीवनमा यस्ता केही पक्षहरू छन् जसमा उहाँ सबै धार्मिक, सामाजिकसाथै राजनीतिक अगुवाहरूभन्दा अतुलनीय हुनुहुन्छ ।

विश्वका प्रमुख धर्महरूको बिचमा ख्रिस्टियमत अद्वितीय छ र ख्रीष्टको साँचो अद्वितीयता ख्रिस्टियमतको मुख्य आधार हो । येशूको बारेमा भएको सत्यता नयाँ करारका अभिलेखहरूमा आधारित छ । प्राचीन संसारका अभिलेखहरूमध्ये नयाँ करार र विशेष गरी सुसमाचारीय पुस्तकहरू सबैभन्दा विश्वसनीय प्रलेखहरू हुन् । यी दस्तावेजहरूबाट हामी सिक्छौं कि ख्रीष्ट एक अद्वितीय व्यक्तित्व हुनुहुन्छ । येशूको जीवनका विविध अद्वितीय पक्षहरूमध्ये एउटा हो— पूरा भएका भविष्यवाणीहरू ।

ख्रीष्टियानहरूको विश्वासअनुसार आजभन्दा २,००० वर्षअगि बेथलेहेममा जन्मनुभएका येशू नै पुरानो करारले भविष्यवाणी गरेको मसीह हुनुहुन्छ । मसीहको आगमनको सम्बन्धमा बाइबलको पुरानो करारमा मनग्गे भविष्यवाणीहरू अभिलिखित छन् । बाइबलीय भविष्यवाणीहरूको विश्वकोश नामक पुस्तकमा लेखक जे. बार्टोन पाइनेले अपेक्षाकृत यहूदी मसीहसाथै मुक्तिदाताको सम्बन्धमा १९१ ओटा भविष्यवाणीको सूची कोरेका छन् । मसीहको बारेमा भएका प्रस्ट भविष्यवाणीहरू र सङ्केतहरूलाई जोड्ने हो भने पुरानो करारमा ३०० ओटाभन्दा बेसी सन्दर्भ पाइन्छन् भनी बाइबल विद्वान्‌हरूले गणना गरेका छन् । यो प्रस्ट छ कि सबै भविष्यवाणी बेथलेहममा येशूको जन्म हुनुभन्दा सैयौँ वर्षअगि लेखिएका थिए ।

पूरा भएका भविष्यवाणीहरूको सत्यता ख्रिस्टियमतको एउटा अद्वितीय पक्ष हो । आफ्नो गर्भधारणदेखि स्वर्गारोहणसम्म येशूले आश्चार्यले भरिपूर्ण र अलौकिक जीवन जिउनुभयो । ख्रीष्टको जन्मभन्दा शताब्दीऔँ अगि पुरानो करार अस्तित्वमा थियो भनी सबैभन्दा कडा आलोचक पनि सहमत छ । संसारमा मसीहको प्रवेश कहिले (दानिएल ९:२६), कहाँ (मीका ५:२) र कसरी (यशैया ७:१४) हुनेथियो भनी पुरानो करारमा भविष्यवाणी गरिएको थियो । स्त्रीबाट (उत्पत्ति ३:१५) आदमको छोरो शेतको वंश हुँदै (उत्पत्ति ४:२६) नोआको छोरो शेम (उत्पत्ति ९:२६–२७) र अब्राहाम (उत्पत्ति १२:३) को वंशबाट येशूको जन्म हुनेथियो भनी भविष्यवाणी गरियो । पुरानो करारका भविष्यवाणीहरूअनुसार उहाँ यहूदाको कुल (उत्पत्ति ४९:१०) र दाऊदक पुत्र (२ शमूएल ७:१२ उप्रान्त) को रूपमा आउनुभयो । येशू हाम्रो पापको निम्ति मर्नुहुनेथियो (यशैया ५३) र मृतकहरूबाट पुनरुत्थान हुनुहुनेथियो (भजनसंग्रह १६:१०) भनी पुरानो करारमा भविष्यवाणी गरियो ।

गौतम बुद्ध, मुहम्मद, कन्फ्युसियस, कार्लमाक्स वा अन्य धार्मिकसाथै दार्शनिक अगुवाहरूको जन्मभन्दा सैयौँ वर्षअगि तिनीहरूको बारेमा कुनै विशुद्ध भविष्यवाणी गरिएको जानकारी हामीसँग छैन । यस अर्थमा येशू अद्वितीय हुनुहुन्छ । पुनरुत्थानपश्चात् येशू आफैले भन्नुभयो, “तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन्, अर्थात् मोशाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ” (लूका २४:४४) । मानव धरतीमा येशू मात्रै एक यस्तो अनुपम व्यक्तित्व हुनुहुन्छ जसको जीवन, मृत्यु र पुनरुत्थानको विषयमा उहाँको जन्मभन्दा सैयौँ वर्षअगि सैयौँ भविष्यवाणी गरिए र समय आएपछि ती एक-एक गरेर अचुक रूपमा पुरा भए ।

Facebook Comments

Powered by Youth Circle