येशूको जन्ममा पूरा भएका ७ ओटा भविष्यवाणी

ख्रिस्टमस येशूको जन्मको सम्झनामा मनाइने वार्षिक बडादिन हो जुन डिसेम्बर २५ मा मनाइन्छ । संसारका ख्रीष्टियानसाथै गैरख्रिस्टियान दुवै थरीका अरबौँ मानिसद्वारा मनाइने महान्‌तम पर्व हो, ख्रिस्टमस ।

ख्रिस्टमस प्रत्यक्ष रूपमा प्रभु येशू ख्रीष्टसित जोडिएको विश्वव्यापी पर्व भएकोले उहाँ नै यसको केन्द्रिय पात्र हुनुहुन्छ । त्यसैले ख्रिस्टमसको मौसममा मुक्तिदाता येशूको जीवनका विभिन्न पक्षहरूको चर्चा गरिन्छ । यस आलेखमा हामी उहाँको जन्ममा पूरा भएका भविष्यवाणीहरूबारे मनन गर्ने छौँ ।

ख्रीष्टियान धर्मशास्त्र बाइबल येशूको जन्मको वास्तविक मितिबारे मौन रहे तापनि कमसे कम दुईवटा सुसमाचारले येशूको जन्मबारे केही महत्त्वपूर्ण विवरणहरू उपलब्ध गराएका छन् । आजभन्दा लगभग दुई हजार वर्षअगि येशू यस धरतीमा जन्मनुभएको थियो । उहाँको जन्म संयोग थिएन । उहाँको जन्ममा पुरानो करारमा अभिलिखित मसीहसम्बन्धी मनग्गे भविष्यवाणीहरू पूरा भएका छन् । यहाँ हामी उहाँको जन्ममा पूरा भएका ७ ओटा भविष्यवाणीलाई ध्यान दिने छौँ ।

१. उहाँ कन्याबाट जन्मनुहुनेथियो

मसीह कन्याबाट जन्मनुहुनेथियो भनी येशूको जन्मभन्दा ७०० वर्षअगि यशैया अगमवक्ताले भविष्यवाणी गरे, “यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ” (७:१४) । मसीहसम्बन्धी यो असाधारण भविष्यवाणी येशू पवित्र आत्माद्वारा गर्भधारण हुनुभई कन्या मरियमबाट जन्मनुहुँदा पूरा भयो भनी मत्तीले उल्लेख गरेका छन् (मत्ती १:२२–२३) । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/542/)

२. उहाँ अब्राहामको सन्तान हुनुहुनेथियो  

करिब २,००० ख्रिस्टपूर्वतिर परमेश्वरले अब्राहामसित प्रतिज्ञा गर्नुभयो, “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्” (उत्पत्ति २२:१८) । नयाँ करारअनुसार येशू अब्राहामकै सन्तान हुनुहुन्छ, “प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएका थिए । धर्मशास्त्रले ‘सन्तानहरूलाई’ भन्दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्छ । तर धर्मशास्त्रले ‘तिम्रो सन्तानलाई’ भन्छ, यसले एक जना मानिसको मात्र सङ्केत दिन्छ, जो ख्रीष्ट हुनुहुन्छ” (गलाती ३:१६) । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/533/)

. उहाँ याकूबको छोरो हुनुहुनेथियो 

इसहाकका दुई छोरा थिए— एसाव र याकूब । तर एसावबाट नभई याकूबबाट मसीहको आगमन हुनेथियो भनी पुरानो करारले अपेक्षा गर्‍यो, “याकूबबाट एउटा तारा आउनेछ, र इस्राएलबाट एउटा राजदण्ड उदय हुनेछ” (गन्ती २४:१७) । येशूको जन्मभन्दा झन्डै १,३०० वर्षअगि बालामले यो भविष्यवाणी बोलेका थिए ।  इतिहासकार लूकाको अभिलेखअनुसार येशू याकूबको वंशमा नै जन्मनुभयो (लूका ३:२३, ३४) । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/537/)

. उहाँ यहूदाको कुलबाट आउनुहुनेथियो  

यहूदा याकूबका १२ जना छोरामध्ये काहिँला अर्थात् चौथा थिए । बाँकी ११ जनालाई छाडी मसीहले यहूदाको कुलमा जन्म लिनुहुनेथियो, “यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन्” (उत्पत्ति ४९:१०) । नयाँ करारको वंशावलीअनुसार येशू यहूदाकै कुलमा जन्मनुभयो (लूका ३:२३, ३३–३४) । यसरी १,७०० वर्षअगि याकूबले मर्ने बेलामा गरेका भविष्यवाणी येशूको जन्ममा पूरा भयो । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/520/)

. उहाँ यिशैको घरानामा जन्मनुहुनेथियो  

यिशै इस्राएलका महान्‌तम राजा दाऊदका पिता थिए । यशैया ११:१ मा लेखिएको छ, “यिशैको ठुटाबाट एउटा टुसा निस्कनेछ … ।” त्यो टुसा अरू कोही नभएर येशू हुनुहुन्थ्यो (लूका ३:२३, ३२) । येशू यिशैको वंशमा जन्मनुहुँदा उहाँको जन्मभन्दा झन्डै ७०० वर्षअगि यशैयाद्वारा बोलिएको भविष्यवाणी पूरा भयो । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/530/)

. उहाँ दाऊदको वंशमा जन्मनुहुनेथियो

दाऊद पुरानो करारका एक महत्त्वपूर्ण पात्रसाथै संयुक्त इस्राएल राज्यका द्वितीय राजा थिए जसले इस्राएलमाथि ४० (१०१०-९७० ख्रिस्टपूर्व) वर्षसम्म राज्य गरे । मसीहको जन्म तिनकै वंशमा हुनेथियो भनी भविष्यवाणी गरियो, “तेरो घराना र तेरो राज्‍य मेरो सामुन्‍ने  सधैँभरि रहिरहनेछ, र तेरो सिंहासन सदासर्वदाको लागि स्‍थिर हुनेछ” (२ शमूएल ७:१६) । येशू दाऊदकै सन्तान भएर जन्मनुभयो र नयाँ करारमा उहाँलाई बारम्बार “दाऊदका पुत्र” (मत्ती १:१; २१:९; २२:४२–४५) भनिएको छ । येशू दाऊदको वंशमा जन्मनुहुँदा १,००० वर्ष पुरानो भविष्यवाणी पूरा भएको थियो । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/526/)

. उहाँ बेथलेहेममा जन्मनुहुनेथियो  

येशूको जन्मभन्दा झन्डै ७०० वर्ष अगाडि मीका नाम गरेका अगमवक्ताले मसीहको जन्म स्थलको ठोकुवा गरे, “तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै छ” (मीका ५:२) । येशूको जन्म वरिपरिका परिवेशहरूलाई नियाल्दा यहूदाको बेथलेहेममा नै येशूको जन्म भएको यथार्थता (मत्ती २:१) ले एउटा सन्देहवादीलाई छक्क पार्नुपर्छ । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/507/)

यी त येशूको जन्ममा पूरा भएका केवल ७ ओटा भविष्यवाणी हुन् । उहाँको पूरै जीवन अवधिभर ३०० ओटाभन्दा बेसी सन्दर्भ र भविष्यवाणी पूरा भएका छन् भनी बाइबल विद्वान्‌हरूले गणना गरेका छन् । संसारको प्राचीनसाथै आधुनिक अन्य कुनै पनि धार्मिक, राजनीतिकसाथै सामाजिक अगुवाहरूको विषयमा तिनीहरूको जन्मभन्दा सैयौँ वर्षअगि भविष्यवाणी गरिएको र समय आएपछि तिनीहरूको जीवनमा एक–एक गरेर ती पूरा भएको अभिलेख छैन । उहाँको जीवनमा पूरा भएका भविष्यवाणीहरूले उहाँको उद्भव यस पृथ्वीको सिमानाभन्दा पर छ भनेर पुष्टि गर्छन् ।

Facebook Comments

Powered by Youth Circle