ख्रिस्टमसको ताराको विषयमा मत्ती २:१-१२ मा अभिलिखित गरिएको छ । ख्रिस्टमसको तारालाई बेथलेहेमको तारा पनि भनिन्छ जसले ज्योतिषीहरू (“बुद्धिमान् मानिसहरू” भनेर अनुवाद गर्नु बढी मुनासिब हुन्छ कि ?) लाई येशू अर्थात् मसीहको जन्मबारे अवगत गरायो । मत्तीको सुसमाचारअनुसार ती ज्योतिषीहरूले पूर्वमा एउटा तारा देखे जसले तिनीहरूलाई यरूशलेम आउन प्रेरित गर्यो । तिनीहरूले यरूशलेममा यहूदियाका राजा हेरोदसित भेटेपछि ख्रीष्टको जन्म स्थानबारे सोधपुछ गरे । मीकाको भविष्यवाणीमुताबिक मसीहको जन्म बेथलेहेममा हुने भएकोले हेरोदले तिनीहरूलाई त्यहीँ जान निर्देशन दिए । पूर्वमा देखेका ताराले तिनीहरूलाई बालक येशू बस्नुभएको घरसम्मै अगुवाइ गर्यो । बालकलाई दण्डवत् गरी ज्योतिषीहरूले आफूसँग ल्याएका भेटीहरू चढाए अनि राजा हेरोदकहाँ फर्केर नजानू भन्ने ईश्वरीय चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर गए ।
बेथलेहेमको ताराको पहिचानको विषयमा बाइबल विद्वान्हरूले विभिन्न अवधारणाहरू अगाडि सारेका छन् । कसैले त्यो बृहस्पति थियो भनेको छ त कसैले शनि । कसैले मंगल भनेको छ त कसैले सुपरनोभा (अत्यधिक चम्किलो तारा) त कसैले पुछ्रेतारा । तर निम्नलिखित चारवटा कारणले यो कुनै प्राकृतिक आकाशीय पिण्ड थिएन भन्नाका लागि बल पुग्छः
- ज्योतिषीहरूले मात्र यस तारालाई देखे भनी खण्डले अङ्कित गर्दछ (मत्ती २:१) । आकाशीय पिण्डहरूलाई कसैले देख्ने कसैले नदेख्ने हुँदैन ।
- यो तारा पहिले पूर्वमा देखा परेको छ (पद २) । त्यसपछि फेरि यरूशलेममा देखा परी यसले ज्योतिषीहरूलाई बालक भएको ठाउँसम्मै अगुवाइ गरी यो त्यहाँ अडिएको छ (पद ९) । आकाशीय पिण्डहरू सधैँ गतिवान् हुन्छन्, कहिल्यै स्थिर हुँदैनन् ।
- खण्डको वर्णनअनुसार त्यो तारा बालक येशू हुनुभएको घरको केही दूरी मात्र माथि देखिएको प्रस्ट छ (पद ९) जब कि आकाशीय पिण्डहरू पृथ्वीको सतहभन्दा लाखौँ/करोडौँ किलोमिटर पर छन् ।
- ताराले ज्योतिषीहरूलाई यरूशलेमबाट बेथलेहेम लगेको छ (पद ९) । बेथलेहेम यरूशलेमदेखि लगभग पाँच माइल दक्षिणमा पर्छ । तर पृथ्वीको परिक्रमणको कारणले गर्दा आकाशीय पिण्डहरू उत्तरबाट दक्षिणतर्फ नभई पूर्वबाट पश्चिमतर्फ घुम्छन् ।
यी कारणहरूले गर्दा यस अद्भूत दृश्यलाई वैज्ञानिक ढङ्गमा व्याख्या गर्न सकिँदैन । यदि बेथलेहेमको तारा प्राकृतिक तारा वा अन्य कुनै आकाशीय पिण्ड थिएन भने के थियो त ?
आफ्ना मानिसहरूलाई अगुवाइ गर्न परमेश्वरले बेला बेलामा विशेष स्वर्गीय ज्योतिको प्रयोग गर्नुभएको छ । पवित्र वासस्थानको निर्माण भएपछि त्यसलाई परमप्रभुको महिमाले ढाकेको थियो (प्रस्थान ४०:३४-३८) । दिनमा बादलको खाँबो र रातमा आगोको ज्वाला बनेर परमेश्वरले इस्राएलीहरूलाई उजाड–स्थानमा ४० वर्षसम्म अगुवाइ गर्नुभयो (प्रस्थान ४०:३८) । सोलोमनको मन्दिर बादलले भरिएको थियो (१ राजा ८:१०) । दमस्कस नजिकै पावलको वरिपरि ज्योति चम्केको थियो (प्रेरित ९:३) । यस्ता अद्भूत दृश्यहरूलाई परमेश्वरको उपस्थितिको महिमा भनिन्छ । यस्तो विशेष ज्योति ईश्वरीय वैभवको दृश्यवान् प्रदर्शनी हो । परमेश्वरको उपस्थितिको महिमा केही व्यक्तिहरूकहाँ मात्र पनि देखा पर्न सक्छ; यो गायब भएर पुनः देखा पर्न पनि सक्छ र यसले मानिसहरूलाई विशेष ठाउँसम्म पनि अगुवाइ गर्न सक्छ । मत्तीको सुसमाचारमा अभिलिखित ताराका विशेषताहरू परमेश्वरको उपस्थितिको महिमाका विशेषताहरूसित मेल खान्छन् ।
तब यी सबै तथ्यलाई ध्यानमा राख्दा ज्योतिषीहरूले पूर्वमा देखेका ज्योति कुनै प्राकृतिक आकाशीय पिण्ड नभएर परमेश्वरको उपस्थितिको महिमा थियो भनेर निष्कर्ष निकाल्नु मुनासिब हुन्छ कि ? तिनीहरूको बुझाइमा त्यस अद्भूत दृश्यलाई व्याख्या गर्ने उत्कृष्ट शब्द तारा भएकोले तिनीहरूले यसलाई “तारा” भनी उल्लेख गरे यद्यपि खासमा यो “परमेश्वरको उपस्थितिको महिमा” थियो होला । यो दृश्य ताराकै आकारमा देखा परेको थियो कि ? त्यो दृश्यवान् वस्तु कुनै प्राकृतिक आकाशीय पिण्ड नभएर परमेश्वरको आश्चर्यकर्म थियो किनकि ख्रिस्टमस आफै नै परमेश्वरको एउटा महान्तम आश्चर्यकर्म हो ।