बेथलेहेम— जहाँ संसारका मुक्तिदाता जन्मनुभयो

मुक्तिदाता प्रभु येशू बेथलेहेममा जन्मनुभएकोले यो ठाउँ सारा दुनियाँमा मुक्तिदाताको जन्म स्थानको रूपमा प्रसिद्ध छ । बेथलेहेमको अर्थ हुन्छ, “रोटीको घर ।” यरूशलेमदेखि करिब १० किलोमिटर दक्षिण-पश्चिममा पर्ने यो सहरलाई पहिले एप्रात (उत्पत्ति ४८:७) वा एप्राता (मीका ५:२) भनिन्थ्यो । बाइबल धर्मशास्त्रमा पहिलो पटक उत्पत्ति ३५:१६ मा यसको उल्लेख भएको छ, “तिनीहरू फेरि बेथेलबाट हिँडेर एप्रात पुग्न अझ केही बाँकी छँदै राहेललाई सुत्केरी बेथा लाग्यो, र तिनलाई ज्यादै पीडा भयो ।”

इस्राएलका महान्‌तम राजा दाऊद यही सहरमा जन्मेका थिए । अन्त्यमा बेथलेहेमलाई दाऊदको सहर भनेर चिनियो । येशूको जन्मसम्म आइपुग्दा यो एउटा नगण्य गाउँमा परिणत भइसकेको थियो ।

बेथलेहेममा नै मसीह जन्मनुहुनेथियो भनी पुरानो करारका मीका अगमवक्ताले भविष्यवाणी गरे, “तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको शुरू पुरानो समयदेखि, अर्थात् प्राचीन समयदेखि नै छ” (मीका ५:२) । तिनले ख्रिस्टपूर्व आठौँ शताब्दीमा भविष्यवाणी गरे अर्थात् ख्रीष्ट येशूको जन्मभन्दा करिब सात सय वर्षअगि ।

मीकाको भविष्यवाणीले मसीहलाई नै सङ्केत गरेको थियो भनी व्यवस्थाका पण्डितहरूले स्पष्ट रूपमा बुझे (मत्ती २:३-६) । नयाँ करारका पुस्तकहरू मत्ती, लूका र यूहन्नाले बेथलेहेमलाई नै येशू ख्रीष्टको जन्मस्थानको रूपमा उल्लेख गरेका छन् (मत्ती २:१-१२; लूका २:४-२० र यूहन्ना ७:४२) । मत्ती २:१-६ अनुसार मसीहको जन्म बेथलेहेममा हुनु भनेको मीकाको भविष्यवाणी पुरा हुनु हो । इतिहासकार लूका अभिलिखित गर्छन्, “योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको सहरमा गए, … तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो । तिनले आफ्नो जेठो छोरो जन्माइन् …” (लूका २:४-७) ।

विकिपिडियाअनुसार वर्तमान समयमा बेथलेहेमको जनसङ्ख्या लगभग २५,००० रहेको छ । समुद्री सतहदेखि झन्डै २,५५० फिट उचाइमा रहेको यस सहरमा मूलतः ख्रीष्टियान र मुसलमानहरूको बसोबास रहेको छ । यही पर्यटकीय सहर बेथलेहेममा चर्च अफ नेटिभिटी खडा छ जुन सम्भवतः अस्तित्वमा रहेको संसारकै सबैभन्दा पुरानो मण्डली हो । करिब ख्रिस्टाब्द ३३० मा कन्स्टेन्टाइन महान्‌द्वारा निर्मित यही मण्डलीको क्षेत्रमा नै संसारका मुक्तिदाता प्रभु येश ख्रीष्ट जन्मनुभएको थियो भन्ने परम्परागत विश्वास रहिआएको छ ।

Facebook Comments

Powered by Youth Circle