सीएनएनद्वारा प्रसारण हुने ल्यारी किङ्ग लाइभ नामक कार्यक्रम सीएनएनको सबैभन्दा लामो समयसम्म चलेको र सबैभन्दा बेसी हेरिएको कार्यक्रम हो । ख्रिस्टाब्द १९८५–२०१० सम्म चलेको यस कार्यक्रमलाई हरेक रात १० लाखभन्दा बढी दर्शकले हेर्ने गर्थे ।[i] यस कार्यक्रमका सञ्चालक ल्यारी किङ्गलाई एक पटक सोधियो, “सारा इतिहासबाट कुनै एक जना व्यक्तिलाई अन्तर्वार्ताको लागि तपाईंले रोज्न पाउनुभयो भने सबैभन्दा बढी तपाईं कसको चाह गर्नुहुन्छ ?” तिनले उत्तर दिए, “येशू ख्रीष्ट ।” प्रश्नकर्ताले पुनः प्रश्न गर्यो, “तपाईं कुनचाहिँ प्रश्न सोध्न चाहनुहुन्छ ?” किङ्गले उत्तर दिए, “उहाँ वास्तवमै कन्याबाट जन्मनुभएको थियो वा थिएन भनी सोध्न चाहन्छु । मेरो लागि यस प्रश्नको उत्तरले इतिहासलाई परिभाषित गर्छ ।”[ii] निस्सन्देह इतिहासका अत्यधिक महत्त्वपूर्ण र जटिल प्रश्नहरूमध्ये कन्याबाट येशूको जन्म पनि एक हो ।
कन्याबाटको जन्म प्राविधिक अर्थमा कन्याबाटको गर्भधारण हो । मरियमले येशूलाई जन्म दिँदा मात्र उनी कन्या थिइनन्, तर उनले उहाँलाई गर्भधारण गर्दा पनि उनी कन्या नै थिइन् ।
अठारौँ शताब्दीसम्म केही गौण पन्थहरूद्वारा बाहेक यस शिक्षालाई गम्भीर रूपमा चुनौती नदिइएको भए तापनि हिजो आज केही विद्वान्हरूले यस शिक्षालाई आदि मण्डलीले विकास गरेको किँवदन्तीको रूपमा हेर्न थालेका छन् । के एउटा तार्किक दिमागले येशू वास्तवमै कन्याबाट जन्मनुभयो भनी विश्वास गर्न सक्छ ? केहीले दाबी गरेजस्तै कतै यो गँवार र बुद्धूहरूको बिचमा विकास गरिएको चलाखीपूर्ण कथा त होइन ? के विज्ञानले यस विषयमा बोल्न सक्छ ? कन्याबाट येशूको जन्म साँचो हो भनी विश्वास गर्न के हामीसँग दरिला साक्षीहरू छन् त ? छन् । म यहाँ ७ ओटा साक्षी पेस गर्न चाहन्छु ।
१. पुरानो करारको साक्षी
येशू कन्याबाट जन्मनुभन्दा सैयौँ वर्षअगि पुरानो करारमा उहाँको असाधारण गर्भधारणबारे भविष्यवाणी गरिएको थियो । अन्य खण्डहरूमा पनि येशूको अलौकिक जन्मबारे सङ्केत पाइने भए तापनि यशैया ७:१४ मुख्य खण्ड हो जहाँ लेखिएको छ, “यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्या गर्भवती हुनेछ, र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इम्मानुएल राखिनेछ ।” यस पदमा उल्लिखित शब्द ‘कन्या’ अङ्ग्रेजी ‘भर्जिन’ को अनुवाद हो जसलाई हिब्रू भाषामा ‘अल्माह’ भनिन्छ । यो शब्दको अर्थ हुन्छ— विवाहको निम्ति ठिक पारिएकी केटी । बाइबलीय प्रयोगमा यो शब्दले कहिल्यै पनि ‘विवाहित स्त्री’ लाई जनाउँदैनथ्यो; यसले सधैँ ‘अविवाहित स्त्री’ लाई जनाउँथ्यो । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/451/)
२. मत्तीको साक्षी
चारवटा सुसमाचारमध्ये मत्ती र लूकाले येशूको जन्मको बारेमा सबिस्तार वर्णनहरू उपलब्ध गराएका छन् । दुवै लेखकको दृष्टिकोण फरक–फरक भए तापनि एउटा तथ्यलाई व्यक्त गर्न भने तिनीहरूले भुलेका छैनन् । पवित्र आत्माको अलौकिक हस्तक्षेपद्वारा येशू कन्या मरियमको गर्भमा आश्चर्यमय ढङ्गमा गर्भधारण हुनुभयो भनी लेखकद्वयले प्रस्ट पारेका छन् । येशू कन्याबाट जन्मनुभएको थियो भन्ने विवरणलाई प्रस्तुत गर्ने सबैभन्दा अगिल्ला लेखकहरू मत्ती र लूका नै थिए । येशूको गर्भधारण पवित्र आत्माको शक्तिको परिणाम स्वरूप भएको हो भनी मत्तीले प्रस्ट पारेका छन्, “जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ” (मत्ती १:२०) । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/455/)
३. लूकाको साक्षी
“आरम्भदेखि नै सावधानीसाथ सबै कुराको खोजी” (लूका १:३) गरेका लेखक लूकाले आफ्नो विवरणमा येशू पवित्र आत्माको शक्तिद्वारा जन्मनुभयो भनी स्पष्टसँग लेखेका छन्, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ । यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ” (लूका १:३५) । (थप जानकारीको लागिः https://kamaladhikari.com.np/459/)
४. आदि मण्डली पिताहरूको साक्षी
ख्रिस्टाब्द ११० मा एन्टिओखियाका बिशप इग्नेसियसले लेखे, “हाम्रा परमेश्वर येशू … पवित्र आत्माद्वारा … मरियमको कोखमा गर्भधारण हुनुभयो ।”[iii] स्मरण रहोस्, इग्नेसियस येशूका चेला प्रेरित यूहन्नाका विद्यार्थी थिए । इग्नेसियसले यो जानकारी आफ्ना गुरुबाट पाएका थिए । अर्का लेखक अरिस्तिदेसले ख्रिस्टाब्द १२५ मा कन्याबाटको जन्मको बारेमा यसरी लेखेका छन्, “उहाँ आफै सर्वोच्च परमेश्वरका पुत्र हुनुहुन्छ जो पवित्र आत्माद्वारा देखिनुभयो; स्वर्गबाट ओर्लनुभयो अनि हिब्रू कन्याबाट जन्मेर देह धारण गर्नुभयो । … शरीरअनुसार उहाँ हिब्रू कन्या मरियमबाट जन्मनुभयो ।”[iv] प्रसिद्ध प्राचीन रक्षाशास्त्री जस्टिन मार्टरले येशूको आश्चर्यपूर्ण जन्मको अवधारणाबारे ख्रिस्टाब्द १५० मा प्रस्ट रूपमा बोले, “पिता परमेश्वरको एकलौटे पुत्र हाम्रा शिक्षक येशू ख्रीष्ट सम्भोगको परिणाम स्वरूप जन्मनुभएन । … परमेश्वरको शक्ति कन्यामाथि ओर्ली उनीमाथि छाया पारियो अनि उनी कन्या छँदै गर्भवती भइन् । … किनभने कन्या भए तापनि परमेश्वरको शक्तिद्वारा उनी गर्भवती भइन् । … परमेश्वरको इच्छाअनुसार उहाँका पुत्र येशू ख्रीष्ट कन्या मरियमबाट जन्मनुभएको छ ।”[v] (थप जानकारीको लागिः https://kamaladhikari.com.np/462/)
५. आदि यहूदी साक्षी
कन्याबाटको जन्मको सम्बन्धमा नकारात्मक तर्कहरू पनि छन् । यस्तो अवधारणा मूलतः यहूदीहरूले रचेका हुन् । यस तर्कलाई कुनै पनि हालतमा नकारात्मक रूपमा नबुझ्न यस सिकारु स्रोतालाई विनम्र अनुरोध गर्दछ । यो तर्कलाई यहाँ उल्लेख गर्नुको उद्देश्य यति मात्र हो कि मण्डलीको प्रारम्भिक दिनहरूमा नै येशूको जन्मको प्रकृतिबारे बाहिरी विवादको उदय भैसकेको थियो र त्यस्तो विवादको आरम्भ हुनुको कारण मण्डलीले उहाँको आश्चर्यपूर्ण जन्मको बारेमा सिकाउँदै आएको थियो भनी बुझाउन खोज्नु हो ।
पानथेरा नाम गरेको सिपाहीसँग मरियम व्यभिचारमा फसेकी थिइन् र परिणाम स्वरूप येशूको जन्म भएको थियो भनी येशूको जन्मलाई लौकिक आँखाले बुझ्ने प्रयास गरेका थिए यहूदीहरूले । येशूलाई तिनीहरूले व्यभिचारमा जन्मेको छोरोको रूपमा चित्रण गर्न थाले । यहूदीहरूका रचनाहरूमा यस शिक्षालाई सिकाइएको छ । तर संसारमा यस्तो असाधारण प्रभाव पार्नुहुने व्यक्ति यसरी जन्मनुभएको थियो भनी कल्पना गर्नु तर्कसङ्गत हुन्छ र ? कुनचाहिँ जन्म उहाँको जीवनी, चरित्र, प्रभावसँग मेल खान्छ— अवैध जन्म वा अलौकिक जन्म ? ख्रिस्टाब्द ७० अगि नै ख्रीष्टको जन्मबारे भएको तथाकथित अवैध कथाले उहाँको आश्चर्यपूर्ण जन्मलाई पुष्टि गर्छ । येशूको मृत्यु भएको ४० वर्ष पनि बित्न नपाउँदै आदि मण्डलीले उहाँको अलौकिक जन्मलाई सिकाउँदै आएको थियो भनी यस नकारात्मक तर्कले प्रमाणित गर्छ । बिसौ“ शताब्दीका विख्यात बाइबल विद्वान् रेमोन्ड ई. ब्राउनले बताएका छन् कि पान्थेराको कथा येशूको जन्मको विषयमा भएको काल्पनिक व्याख्या हो जसमा थोरै मात्र ऐतिहासिक साक्षी समावेश छ ।[vi] (थप जानकारीको लागिः https://kamaladhikari.com.np/471/)
६. कुरआनको साक्षी
येशू (अरबीमा इसा) मरियमका पुत्र हुनुहुन्थ्यो र उहाँ कुनै पनि मानवीय पिताको संलग्नताविना नै जन्मनुभयो भनी मुस्लिमहरू विश्वास गर्छन् । “पवित्र छोरा” (सूरह १९:१९) बारे घोषणा गर्न एउटा स्वर्गदूत मरियमकहाँ देखा परे भनी कुरआनमा लेखिएको छ । यो खबर सुनेर तिनी छक्क परिन् अनि सोधिन्, “मैले छोरो कसरी पाउन सक्छु र जबकि मलाई न कुनै पुरुषले छोएको छ न म व्यभिचारी नै हुँ” (सूरह १९:२०) । येशू कन्याबाट जन्मनुभयो भन्ने सम्बन्धमा कुरआनको भाषा निकै प्रस्ट छ र सूरह ४:१५६ मा थप समर्थन पाइन्छ । मरियम कन्या छँदा नै परमेश्वरको प्रत्यक्ष हस्तक्षेपद्वारा येशूको गर्भधारण भयो भनी सूरह २१:९१ ले पनि बताउँछ । कुरआनमा येशूलाई पटक–पटक मरियमका पुत्र भनिएको छ । साधारणतया छोरोको नाउँ बुबासँग मात्र जोडिन्थ्यो, आमासँग होइन । तर किन येशूलाई मरियमका पुत्र भनियो त ? उत्तर प्रस्ट छ कि उहाँको कुनै मानवीय बुबा थिएन । इस्लामिक टिप्पणीकार लेख्छन्, “इस्लाम धर्ममा येशूलाई कन्या मरियमको पुत्रको रूपमा हेरिन्छ जो परमेश्वरको सृजनात्मक वचनद्वारा जन्मनुभयो ।”[vii] (थप जानकारीको लागिः https://kamaladhikari.com.np/477/)
७. परमेश्वरको शक्तिको साक्षी
कन्याबाट येशूको जन्मको विरुद्धमा प्रायः अगाडि सारिएको तर्क हो— यो जीवशास्त्रीय दृष्टिकोणबाट असम्भव छ । त्यस बेलाका मानिसहरूको अज्ञानताको कारणले मात्र यसलाई स्वीकार गरिएको थियो भनी यसका आलोचकहरू दाबी गर्छन् । आश्चर्यकर्महरू असम्भव छन् भन्ने अवधारणा प्रायः प्रकृतिवादी दृष्टिकोणबाट आउँछ । दृढ प्रकृतिवादले अलौकिकताको कुनै पनि सङ्केतलाई पूर्णतः खारेज गर्छ । तिनीहरूको बुझाइमा केवल शून्यता र परमाणु अस्तित्वमा छन् । यदि प्रकृतिवादीहरू सही छन् भने कन्याबाटको जन्मलगायत कुनै पनि आश्चर्यकर्म असम्भव हुन्छ । तर के तिनीहरू सही छन् त ? प्रकृतिवादको खण्डन गर्नु मेरो आशय नभएकोले यहाँ यति मात्र भन्नु पर्याप्त हुन्छ कि वैयक्तिक सृष्टिकर्ता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्नाका लागि अधिक साक्षीहरू उपलब्ध छन् । सारा विश्वलाई शून्यताबाट सृष्टि गर्न सक्नुहुने परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ भने उहाँको लागि एउटा कन्याको कोखमा येशूको गर्भधारण गराउनु मामुली कुरो होइन र ? चिरपरिचत बाइबल ईश्वरशास्त्रीसाथै दार्शनिक विलियम लेन क्रेगले उचित निष्कर्ष निकालेका छन्, “मेरो आफ्नै विषयमा भन्नुपर्दा, मलाई विश्वासमा आउनको लागि कन्याबाटको जन्म एउटा मुख्य अवरोध भएको थियो । यस्तो कुरो म विश्वास गर्न सक्दिनथेँ । तर जब मैले परमेश्वरले सारा विश्वको सृष्टि गर्नुभयो भन्ने तथ्यमाथि मनन गर्न थालेँ तब एउटी स्त्रीलाई गर्भवती बनाउन उहाँको निम्ति कठिन कुरो थिएन । जब एउटा गैरख्रिस्टियानले परमेश्वर को हुनुहुन्छ भनी बुझ्दछ तब आश्चर्यकर्महरूको समस्या उसको निम्ति समस्या हुन छोड्दछ ।”[viii] (थप जानकारीको लागिः https://kamaladhikari.com.np/480/)
यसरी यी विभिन्न साक्षीहरूलाई नियाल्दा हामी न्यायसङ्गत रूपमा भन्न सक्छौँ कि कन्याबाट येशूको जन्मको बारेमा भएको शिक्षा विकसित किँवदन्ती वा गैरख्रिस्टियान समूदायबाट सापट लिइएको कुनै कपोलकल्पित कथा नभएर एउटा ऐतिहासिक सत्यता थियो । येशूको मिसनको लागि मानव–जातिको इतिहासमा यस्तो प्रवेश अपरिहार्य थियो । सृष्टिवादी वैज्ञानिक हेन्री मोरिसको विवेकशील भनाइसँगै हामी यसलाई निष्कर्षमा ल्याउँछौ“, “कन्याबाटको जन्मलाई बाइबलमा प्रस्ट रूपमा सिकाइएको कारणले गर्दा मात्रै यो साँचो भएको होइन तर येशू ख्रीष्टको चरित्रसाथै मिसन अनि पतित संसारको निम्ति उद्धारबारे भएको परमेश्वरको महान् योजनासित पनि यो तादात्म्य भएकोले यो साँचो भएको हो । … यस्तो आश्चर्यकर्म असम्भव छ भनी बताउनु परमेश्वरको अस्तित्वलाई इन्कार गर्नु हो वा उहाँले आफ्नो सृष्टिमाथि नियन्त्रण गर्न सक्नुहुन्छ भन्ने कुरोलाई इन्कार गर्नु हो ।”[ix]
सन्दर्भ सामग्रीहरूः
[i] http://en.wikipedia.org/wiki/Larry_king_live
[ii] Just Thinking , RZIM, Winter 1998
[iii] Ignatius, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p. 303.
[iv] Aristides, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p. 304.
[v] Justin Martyr, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p. 304.
[vi] http://en.wikipedia.org/wiki/Virgin_birth_of_Jesus
[vii] Quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p.306
[viii] William Lane Craig, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p. 662.
[ix] Henry Morris, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict, p. 306.